समाज

पत्रकारलाई धम्की दिएकोप्रति महासंघको ध्यानाकर्षण

पत्रकारलाई धम्की दिएकोप्रति पत्रकार महासंघले जारी गरेको विज्ञाप्ति। तस्बिर ः नागरिक

खोटाङ – खोटाङमा समाचारको विषयलाई लिएर कांग्रेस नेताले पत्रकारलाई धम्की दिएकोप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम स्वास्थ्यचौकीको क्वारेन्टाइनमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको आंशका गरिएका व्यक्तीलाई राख्नेक्रममा कांग्रेस जिल्ला सभापति नरेशकुमार श्रेष्ठले अवरोध गरेको समाचार लेखेको विषयमा पत्रकार उत्तम चौंलागाईलाई धम्की दिएकोप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

पत्रकार महासंघका सचिव रहेका चौंलागाईलाई सभापति श्रेष्ठले ‘भेटघाटमा राम्रै चिनजान हुन्छ’, ‘पैसामा बिकेर समाचार लेखेको’, ‘यसले ज्यान पनि जान सक्छ’ भन्नेजस्ता शव्द प्रयोग गरेर धम्क्याएको भन्दै महासंघले सोमबार विज्ञाप्तिमार्फत विरोध जनाएको हो।

महासंघका अध्यक्ष दमन राईले जारी गरेको विज्ञाप्तीमा समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए खण्डन गर्ने वा त्यसको कानुनी उपचार खोज्ने वैधानिक विधि र पद्धति हुँदाहुँदै पनि पत्रकारलाई धम्क्याउनु निन्दनीय भएको उल्लेख छ। महासंघले संविधानले ग्यारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्दै निर्वाध र स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने वातावरण बनाउन सरकार तथा सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ। विज्ञाप्तिमा पत्रकार चौलागाईँको सुरक्षाका लागि प्रशासन तथा सुरक्षा निकायसँग माग गरिएको छ।

संक्रमणको आशंका गरिएका व्यक्तीलाई बस्तीभन्दा टाढा क्वारेन्टाइन बनाएर राख्नका लागि स्थानीयको माग आएको भन्दै सभापति श्रेष्ठले असहयोग गरेको भन्दै हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले दिएको जानकारीका आधारमा आईतबार पत्रकार चौंलागाईले एक अनलाइनमा ‘क्वारेन्टाइनमा मानिस राख्न कांग्रेस सभापतिको अवरोध’ शीर्षकमा समाचार लेखेका थिए।

दवावकाबीचमा पनि स्वास्थ्यचौकीकै क्वारेन्टीनमा शंकास्पद व्यक्तीलाई राखेको नगरपालिकाले जनाएको छ। भारतबाट घर आउनेक्रममा उदयपुरको कटारी अस्पतालको आइसोलेसनमा राखिएको अवस्थामा चैत १४ गते भागेका उदयपुर ताप्ली गाउँपालिकाका नेपाली थरका एक व्यक्ती दुर्छिमको हैदेमा आफन्तको घरमा बसिरहेको अवस्थामा फेला परेपछि उनी सहित उनको सम्पर्कमा रहिसकेका आठ जनालाई क्वारेन्टीनमा लगेर राख्नेक्रममा कांग्रेस सभापति र मेयरबीचमा विवाद भएको हो। मेयर राई कांग्रेसबाटै निर्वाचित भएका हुन्। उनीहरुको विवादले कांग्रेसको जिल्ला तहमा उग्र रुप लिएको छ।

प्रकाशित: २५ चैत्र २०७६ १४:१० मंगलबार

पत्रकार धम्की