समाज

चट्याङ लागेर याम्फुदिनमा एक जना घाइते, एक घरमा आगलागी

ताप्लेजुङ- गएराति परेको चट्याङ लागेर ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ८ याम्फुदिनमा एक महिला घाइते भएकी छन्।

आफ्नै घरमा बसिरहेको बेला परेको चट्याङ लागेर याम्फुदिनको कात्तिके डाँडा बस्ने स्थानीय रिता शेर्पा घाइते भएकी हुन्। शरिरका बिभिन्न भाग डढेका कारण स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई याम्फुदिनबाट ताप्लेजुङ सदरमुकाम ल्याईदै गरेकाे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काले बताए।

यस्तै चट्याङले याम्फुदिनकै सोम माबोको घरमा आगलागी भएको छ। चट्याङका कारण माबोको घरमा एक्कासी आगो उठेको थियो। आगलागीबाट करिब ५ लाख मूल्य बराबरको क्षति भएको समेत जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रकाशित: २० चैत्र २०७६ ०९:४६ बिहीबार

चट्याङ घाइते आगलागी