समाज

हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी निगरानी केन्द्रमा

नाग्म हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी । तस्बिरः नागरिक

जुम्ला- जुम्ला कालिकोटको सिमाना नाग्मघाटस्थित हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीलाई निगरानी केन्द्रमा राखिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले घरभाडामा लिएर स्वास्थ्यकर्मीलाई निगरानीमा राखेको हो। हेल्थ डेस्कमा एक साता बसेका सबै स्वास्थ्यकर्मीलाई निगरानीमा राखिएको कर्णाली प्रतिष्ठानले जानकारी दिएको छ।

नाग्मा हेल्थ डेक्समा खटिएका स्वास्थ्यर्मीहरुले लकडाउनकै समयमा ३ हजार २ सय ६१  जना मानिसहरुको कोरोना भाइरसको संक्रमण स्क्रिनिङ गरेका थिए। जसमा पुरुष २ हजार ५ सय ९६ र महिला ६ सय ६५ जनाले स्क्रिनिङ गराएका हुन्। भारतबाट आएका ३७ जना, अन्य देशबाट आएका १३ जना, चीनबाट आएका ६ जना र भारतीय नागरिक ५ जनाको स्क्रिनिङ गरिएको थियो।

जुम्ला भित्रिने व्यक्तिहरुको स्वास्थ्य परीक्षण गर्दा स्वास्थ्यकर्मीहरुसंग स्वास्थ्य सुरक्षाका समग्रीहरु नहुँदा जोखिम मोलेर स्वास्थ्य परीक्षणमा खटिएकाले १४ दिनमा क्वारेन्टाइनमा राखिएको हो। जोखिमकाबीच पनि आफूहरुलाई दिइएको जिम्मेवारी पूरा गरेर फर्केको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी एवं नाग्मा हेल्थ डेक्समा खटिएका नन्दराज उपाध्यायले बताए।   

जुम्लामा लकडाउनको सुरुदेखि नै जिल्ला भित्रिने यात्रुहरुको स्वास्थ्य स्क्रिनिङ गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डा.कपिल हुमागाईको नेतृत्वमा डा.विशाल पोखरेल, निशान्त लामा, नन्दराज उपाध्याय र विशाल खड्काको टोली खटिएको थियो। यात्रुहरुको स्क्रिनिङका साथै परामर्श सेवा समेत दिएको डा.कपिल हुमगाईले बताए। विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा बस्न सुझाव दिएको उनले बताए।

 

 

प्रकाशित: १६ चैत्र २०७६ ०७:३६ आइतबार

हेल्थ_डेस्क स्वास्थ्यकर्मी काेभिड_१९