समाज

घरधनीसँग आधा महिनाको पैसा छुट दिन आग्रह

इटहरी- इटहरी उपमहानगरपालिकाले कोरोनाले समस्या परेका बेला इटहरी क्षेत्रमा घर भाडामा बस्नेलाई आधा महिनाको भाडा छुट दिन घरधनीसँग आग्रह गरेको छ। शनिबार बिहान बसेको नगर कार्यपालिका बैठकले नगरपालिकाभित्रका घरधनीलाई घरवहालमा छुट दिन आग्रह गर्ने निर्णय गरेको हो।

पूर्वी पहाडी जिल्ला भोजपुर, खोटाङ, तेह्रथुम, धनकुटा लगायतका स्थानसँगै तराईंका थुप्रै ग्रामीण भेगबाट इटहरी क्षेत्रमा घरभाडा लिएर बसोबास गर्नेको संख्या बग्रेल्ती छ। पूर्वको इटहरी बसाइँ सर्नेको मुख्य गन्तब्य बन्दै आएकाले गर्दा पनि घरभाडा लिएर बस्नेको संख्या बढेको हो। यहाँ व्यापार–व्यवसाय गर्नेको संख्या पनि ठूलो छ। केही सीमितले मात्र आफ्नै घरमा व्यापार–व्यवसाय गर्छन्।

उद्योग वाणिज्य संघ इटहरीले कोरोना भाइरसले गर्दा व्यापार व्यवसाय ठप्प हुँदा राज्य तर्फबाट बैक ब्याज घटाउन, विभिन्न करसम्बन्धि सहुलियत दिन, विद्युत महसुल सहज परिस्थिती नहुन्जेलका लागि मिनाहा गर्न तथा घरभाडा सम्बन्धि आवश्यक सहुलियत प्रदान गर्ने कार्यमा यथाशक्य कदम चाल्न आग्रह गरेको थियो।

‘यस्तो विषय परिस्थितीका बेला सवै घरधनीसँग आधा महिनाको भाडा छुट गर्न आग्रह गरिएएको छ,’ उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण चापागाईंले भने, ‘यसमा सवैले घर भाडा छुट दिने आशा छ।’ व्यवसायीको हकमा सरकारले बैकको सवा ब्याज असुली चैत मसान्तसम्म स्थगित गरि सकेको छ। कोरोनाबाट प्रभावित व्यवसायीका लागि गरेको त्यस्तो निर्णय गरेको हो।

कार्यपालिका बैठकले इटहरीका २० वटाका जनप्रतिनिधिको एक महिनाको सेवा सुविधा र कर्मचारीको एक हप्ताको तलब आपतकालिन राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ। कोषको रकम इटहरी क्षेत्रका विपन्न परिवारलाई दैनिक उपभोग्य वस्तुको वितरणमा खर्च गरिने जानकारी दिइयो। न्यून आय भएका परिवारको लगत संकलन गरि प्रत्येक वडा वडामा गएर राहत वितरण गरिने कार्यपालिका सदस्य तथा वडा नं. २० का वडाअध्यक्ष मणीराज श्रेष्ठले जनाए।

यसैबीच, इटहरीबासीका लागि दैनिक उपभोग्य वस्तु अभाव हुन नदिन शनिबारदेखि त्यसलाई घरघरैमा लगेर व्यवस्थापन गर्न थालिएको छ। इटहरी उपमहानगरपालिकाको पहलमा गोरखा डिपार्टमेन्ट स्टोरले दैनिक उपभोग्य वस्तु पुर्‍याउन थालिएको हो। यसका लागि अग्रीम सामान माग गरेपछि तोकिएको वडाका विभिन्न स्थानमा पुर्‍याउने गरिन्छ।

प्रकाशित: १५ चैत्र २०७६ १०:१४ शनिबार

काेभिड_१९ काेराेना घरधनी