समाज

नेपालगन्जको चप्पल उद्योगमा भिषण आगलागी

नेपालगन्ज- नेपालगन्जको खजुरा रोडमा रहेको चप्पल उद्योगमा भिषण आगलागी भएको छ। जय सियाराम मेनिफ्याक्चरिङ इण्डष्ट्रीज प्रा.लि. मा मंगलबार मध्यराती करिव १ बजेतिर आगलागी भएको हो। आगलागीबाट ठूलो क्षति भएपनि एकिन विवरण संकलन नभएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

आगलागी भएको स्थान जिप्रकाबाट करिव ५ सय मिटर दुरिमा रहेको छ। आगलागी भएको खबर पाउने बित्तिकै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा तथा बाँके र बर्दियाका ६ वटा दमकल परिचालित भएका थिए।

रातभर आगलागी नियन्त्रण बाहिर रहेपनि बिहान अबेर मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीरबहादुर ओलीले बताए। स्थानीय ब्यवसायी अमरजित सिंह सरदारको नाममा रहेको उक्त उद्योगमा आगलागीको कारण भने पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ। जानकी गाउँपालिका वडा नम्बर ३ मा पर्ने उक्त उद्योगले प्लाष्टिकबाट निर्मित जुत्ता, चप्पल उत्पादन गर्दै आएको छ।

प्रकाशित: २८ फाल्गुन २०७६ ०७:०० बुधबार

नेपालगन्ज आगलागी