समाज

लोकसेवा दिन आएका परीक्षार्थीको मृत्यु

धनकुटा- ताप्लेजुङ जिल्लाको मैयाखोला गाउँपालिका–४ घर भएका वर्ष २२ का सविन शेर्पाको लोकसेवाको परीक्षा दिन धनकुटा आउने क्रममा शनिबार बिहान हृदयघातका कारण मृत्यु भएको छ।

उनको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा शनिबार बिहान १० बजे मृत्यु भएको हो। शेर्पा लोकसेवाले लिने नासु तहको परीक्षा दिन शुक्रबार काठमाडौंबाट धनकुटा आएका थिए। मृतक शेर्पा शुक्रबार अपराह्न ३ बजे धनकुटाको आयुषा होटलमा आएर बास बसेका थिए। उनीसँगै जुम्ला कनकासुन्दरी गाउँपालिका वडा नं.२ घर भएका पेश्कलविक्रम रावत, सुर्खेत बराहताल गाउँपालिका वडा नं.७ घर भएका किरण घर्ती मगर  पर्सा जिल्ला बहुदरभाइ गाउँपालिका वडा नं.५ घर भएका सरोजकुमार साह होटलमा सँगै बास बसेका थिए।

मृतक शेर्पा शनिबार बिहान ९ बजे लोकसेवाको परीक्षा दिन निस्कने क्रममा एक्कासि बिरामी भएको उनीसँगै होटलमा बसेका पर्साका सरोजकुमार साहले बताए। परीक्षा दिन जानका लागि कपडा लगाउने क्रममा शेर्पा लडेपछि आफूहरूले हतार–हतार समाएर जिल्ला अस्पताल धनकुटाको आकस्मिक कक्षमा पुर्याएर उपचार गरेको साहले बताए। साहसँग भने मृतक शेर्पाको यसअघि लोकसेवाले लिएको परीक्षा दिन इलाममा जाने क्रममा चिनजान भएको बताइएको छ। मृतक शेर्पाको शव जिल्ला अस्पताल धनकुटामा राखिएको छ। मृतकका दाजु मिङमा शेर्पाले सविन मुटुरोगी भएको र मुटुको भल्भको शल्यक्रिया गर्ने तयारी हुँदा–हुँदै घटना भएको बताएका छन्।

प्रकाशित: २५ फाल्गुन २०७६ ०७:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App