समाज

उदयपुरका तीन स्थानीय तहमा १५ शैयाका अस्पताल बन्ने

उदयपुर- सबै स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउने घोषित नीति अनुसार उदयपुरका ३ स्थानीय तहमा अस्पताल बन्ने भएको छ। जिल्लाका एक नगरपालिका र २ गाउँपालिकामा १५÷१५ शैयाका अस्पताल बनाउने गरी चालु वर्षमै काम थाल्ने निर्णय भएको हो।

स्वास्थ्य मन्त्रालयले सूचीकृत गरे अनुसार जिल्लाका बेलका नगरपालिका तथा लिमचुङबुङ र ताप्ली गाउँपालिकामा अस्पताल बन्ने जानकारी भएको छ। बेलका पूर्वी भेगमा रहेको जिल्लाको कान्छो नगरपालिका हो भने लिमचुङबुङ र ताप्ली स्थानीय तहमध्येका सबैभन्दा टाढा र बिकटका गाउँपालिका हुन्।

मन्त्रालयले स्थानीय स्वास्थ्य चौकीलाई नै अस्पालमा स्तरोन्नति गर्ने निर्णय गरेको लिमचुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले बताए। उनका अनुसार गाउँपालिका केन्द्र रहेको वडा नं. ३ को बाराहास्थित इलाका स्वास्थ्य चौकीलाई नै १५ शैयाको अस्पतालमा स्तरोन्नति गरिने मन्त्रालयले तोकेरै पत्राचार गरेको छ।

ताप्लीको पनि गाउँपालिका केन्द्र रुपाटारस्थित इलाका स्वास्थ्य चौकी र बेलकाको नगर केन्द्र रामपुरस्थित इलाका स्वास्थ्य चौकीलाई नै अस्पतालमा स्तरोन्नति गर्ने निर्णय मन्त्रालयले गरेको छ। यी स्थानीय तहमा अस्पताल बनेपछि उदयपुरका ८ मध्ये उदयपुरगढी र रौतामाई गाउँपालिकाबाहेकका जनताले अस्पतालको सेवा पाउनेछन्। उदयपुरगढी र रौतामाई गाउँपालिकामा इलाका स्वास्थ्य चौकीबाटै जनताले सेवा लिइरहेका छन्।

सदरमुकाम त्रियुगा नगरपालिकाको गाईघाटमा ५० शैयाको जिल्ला अस्पताल छ भने कटारी नगरपालिकामा २५ शैयाको कटारी अस्पताल सञ्चालित छ। चौदण्डीगढी नगरपालिकाको बेलटारमा सञ्चालित १५ शैयाको प्राथमिक स्वास्थ्य केन्द्रलाई गत वर्षदेखि एमबिबिएस मेडिकल अधिकृतको दरबन्दीसहित अस्पतालबाट हुने उपचार सेवा दिन सुरु गरिएको छ।

सरकारले प्रदेश १ का बिभिन्न जिल्लामा गरी २८ वटा स्थानीय तहमा अस्पताल निर्माणका लागि सूचीकरण गरेको छ। अस्पताल बनाउन के कति बजेट विनियोजन गरिएको छ भन्ने विषय भने नखुलिसकेको बताइएको छ।

 

प्रकाशित: २१ फाल्गुन २०७६ ०७:४२ बुधबार

उदयपुर स्थानीय_तह अस्पताल