समाज

कोरोनाबारे गम्भीर बन्न सर्वोच्चमा रिट

काठमाडौं – विश्वभर कोरोना भाइरस फैलिएको बेला त्रिभुवन विमानस्थलबाट नेपाल आउनेलाई कुनै स्वास्थ्य सतर्कता अपनाउन नसकेको भन्दै सर्वोच्च अदालतमा आइतबार रिट निवेदन दर्ता भएको छ। संक्रमण फैलिएका देश चीन, जापान, दक्षिण कोरियाजस्ता मुलुकबाट हुने सीधा उडानमा केही समय रोक लगाउन पनि रिटमा माग गरिएको छ।

अधिवक्ता पूर्ण राजवंशीले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण, त्यसबाट फैलिनसक्ने महामारी विपत् जोखिम न्यूनीकरणका निम्ति आवश्यक व्यवस्थापन गर्न माग गर्दै रिट निवेदन दर्ता गरेको सर्वोच्च स्रोतले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिने विदेशीबाट कोरोना भाइरसको संक्रमण नेपाल भित्रिन नपाउने व्यवस्था गर्न रिट निवेदकको माग छ। विमानस्थलमा स्वास्थ्य जाँच प्रभावकारी बनाउन दक्ष जनशक्ति र उपकरणसहित व्यवस्था गरी कुनै पनि स्थितिमा संक्रमण भित्रिन र फैलिन नपाउने गरी उच्च सतर्कता अपनाउन माग गरिएको छ।

चीनसँग सीमा जोडिएका विभिन्न नाकाबाट भित्रिनेको कडाइपूर्वक स्वास्थ्य जाँच आवश्यक भएकाले उपकरण र जनशक्तिसहित हरेक नाकामा तत्काल हेल्थ डेस्कको व्यवस्था गर्न गराउन रिट निवेदकले माग गरेका छन्।

प्रकाशित: १९ फाल्गुन २०७६ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App