समाज

बेपत्ता युवक सुनकोसीमा मृत फेला

खोटाङ– खोटाङको जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानका २१ वर्षीय आशिष राई मृत फेला परेका छन्। गत फागुन ९ गते शिवरात्रिको दिन साथीहरुसँगै बराहपोखरी गाउँपालिका–५ पौवासेराको बंशिलाघाटमा रहेको झोलुंगे पुलतर्फ घुमफिर गर्न हिँडेका राई हप्ता दिनपछि मृत फेला परेका हुन्। 

बेपत्ता भएका राईको शव बुधबार जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानकाकै कुटिटारस्थित सुनकोसी नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए।

राईको शव नदीको किनारमा पानीमै डुबेको अवस्थामा भेटिएको थियो। लडेर, पानीमा डुबेर वा अन्य कारणले मृत्यु भएको भन्ने यकिन हुन बाँकी रहेको डिएसपी गौतमले बताए। पोष्टमार्टमपछि राईको मृत्युको कारण खुल्ने बताइएको छ।

पोष्टमार्टमका लागि शव प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको छ। घटनाको कानुनी प्रकृया पूरा गर्न तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाटै अनुसन्धान अधिकृतसहितको टोली खटाइएको थियो।

प्रकाशित: १५ फाल्गुन २०७६ १०:५१ बिहीबार

बेपत्ता_युवक मृत_फेला