समाज

जसलाई आफ्नै सन्तानको नाम थाहा छैन

भानसिंह र मनसरीका परिवार । तस्बिर: दिनेश/नागरिक

रोल्पा- सुनछहरी गाउँपालिका-६ फगामका ३८ वर्षिय भानसिंह परियारलाई आफ्ना सबै छोरा छोरीको नाम थाहा छैन। भानसिंह जस्तै उनकि श्रीमती मनसरीले पनि सबै सन्तानको नाम सम्झेकि छैनन्। दुबैले छोराछोरीलाई घरमा बोलाउने ‐काले, भुन्टी, दाउरी, डल्ले...) नामले मात्रै चिन्छन्। १३ जीबित र १ मृतक सन्तानका बाबुआमा उनीहरु आज पनि फरक संसारमा छन्। गर्भनिरोधका साधन र परिवार नियोजनका बारेमा गतिलो सूचना नपाएका धेरै नेपालीहरु कष्टकर जीवन जीउन बिवश छन्।

२६ वर्ष अगाडीबाट बच्चा जन्माउन सुरु गरेकि मनसरीले आफ्नो ४४ वर्षको उमेरमा १६ पटक गर्भधारण गरिन्। १४ जना बच्चा जन्माएकी उनकोे एउटा बच्चाको केहि समय अगाडी मृत्यु भएको थियो। दुई पटक ७ महिनामा गर्भपतन भएको उनी बताउँछिन्। भानसिंह र मनसरासंग अहिले ७ छोरा र ६ छोरी छन्। वर्षेनी सुत्केरी हुन थालेपछि यो परिवारलाई खाना र छानाको समस्याले हैरान बनाएको छ।

बच्चा कति जन्माउने, कसरी हेरचाह गर्ने वा परिवारको संरचनाका बारेमा यी दम्पतीले जीवनमा कहिल्यै सल्लाह गरेनन्। सुरुमा जन्मीएका १ छोरी र २ छोराले बिहे गरेर मजदुरीका लागि पोखरा, बाग्लुङतिर गएका छन्। एउटा १३ वर्षिय छोरो भर्खरै मजदुरीका लागि उपत्यकातिर ईट्टाभट्टा गएको छ। खेल्ने उमेरमा मजदुरी गर्न बाध्य परियार दम्पतीका सन्तानलाई चाँडबाँडमा समेत पेटभरी मिठो मसिनो खानाको अभाव रहन्छ।

भानसिंह र मनसरीका कति सन्तानले विद्यालयको अनुहार नै नदेखेर हुर्किए भने कतिले विद्यालय देखे पनि पढ्न भने पाएनन्। हिजोआज घरमा भएका छोराछोरी पनि कोही मन लाग्दा स्कुल जान्छन् भने मन नलाग्दा जादैनन्। ७ जना छोराछोरीसहित फगाम स्वास्थ्य चौकी पुगेका परियार दम्पतीलाई गर्भ निरोधको साधन प्रयोग गराउन वडा अध्यक्षले समेत दवाब दिएपछि ८ महिनाअगाडी मनसरीले ५ वर्षसम्म काम गर्ने अस्थायी साधन ईम्प्लान्ट प्रयोग गरेकि छिन्।

सुरुमा मनसरीलाई श्रीमानले परिवार नियोजनको साधन प्रयोग गर्न नदिएका कारण बर्गेल्ती बच्चा जन्माउनुको बिकल्प भएन। ‘पहिले त थाहै थिएन। थाहा पाएपछि श्रीमानले मान्नु भएन।’ मनसरीले भनिन् ‘पोहर लुकेर एकपटक ३ महिने सुई लगाएको थाहा पाएपछि उहाँले सुई लगाएको ठाउँमा चिथोरेर घाउँ बनाईदिनु भएको थियो।’ छिमेकिका अनुसार सुई लगाएको थाहा पाएपछि भानसिंहले श्रीमतीलाई शारीरिक यातनासमेत दिएका थिए।

घरमा सिलाई कटाई गरेर जीवन गुजारा गरिरहेका परियार दम्पतीका सन्तानले न समयमा खोप लगाए नत विद्यालय गए। आमाले वर्षेनी बच्चा जन्माउन थालेपछि कुनै पनि बच्चाले आमाको दुधसमेत प्रयाप्त खान पाएनन्। मानव जीवन मात्र पाएका १३ बच्चाहरुले आधारभुत सुबिधासमेत नपाएर हुर्किरहेका छन्। ‘मेरा बुवाका दुई श्रीमतीबाट १६ सन्तान थिए। तिमध्ये १५ जना मरे।’ भानसिंहले भने ‘सबै भन्दा कान्छो म मात्र जीउँदो छु। त्यसैले सके जती बच्चा पाउने हो।’

माओवादी द्धन्द्धमा ३ वर्ष जति भूमिगत भएका भानसिंहले लडाकु कार्यकर्ताको कपडा सिलाउने काम गरेको बताए। शान्ति स्थापनापछि केही समय क्यान्टोन्मेन्ट बसे पनि फर्किएर घर आएका थिए। श्रीमतीको काम बच्चा जन्माउने र घर धन्दा गर्ने हो भन्ने मानसिकता बोकेका उनी अझै पनि बच्चा जन्माउने पक्षमा छन्। उनी भन्छन् ‘अझै बच्चा पाउने मन थियो सबैले गाली गरेर श्रीमतीको पाखुरामा औषधि राखिदिएका छन्।’

‘मेरी स्टोप’ले समय/समयमा आयोजना गर्ने परिवार नियोजन शिबिरमा पुगेका कर्मचारीले मनसरीका बारेमा थाहा पाएपछि दम्पतीलाई बोलाएर काउन्सीलिङ गरेका थिए। जति गर्दा पनि भानसिंहले नमानेपछि वडा अध्यक्षलाई गुहार माग्नु परेको थियो। ‘मनसरीको शारीरिक अवस्था साह्रै कमजोर थियो। हामिले धेरै भन्यौ तर उहाँका श्रीमानले मान्नु भएन।’ मेरी स्टोपकि पशुपती खड्काले भनिन् ‘स्वास्थ्य चौकी प्रमुख, सिस्टर र हामी सबैले सम्झायौ। केही सिप नलागेपछि वडा अध्यक्षलाई गुहार माग्यौ। उहाँले दबाव दिएपछि बल्ल ईम्प्लान्ट राख्न मान्नु भएको हो।’

स्वास्थ्यकर्मीबाट मनसरीको शारीरिक अवस्था कमजोर रहेको र श्रीमानले परिवार नियोजनका साधन प्रयोग गर्न नमानेको जानकारी पाएपछि वडा अध्यक्ष आफैले भानसिंहलाई सम्झाएका थिए। ‘उहाँले मान्नु भएको थिएन। धेरै दबावपछि मात्र श्रीमतीलाई साधन प्रयोग गर्न दिनु भएको हो।’ वडा अध्यक्ष अमरजीत पुनले भने ‘वडाबाट पाउने सेवासुबिधा रोकिदिन्छौ भनेपछि मात्र तयार हुनु भयो।’

त्यसो त फगाम मै ६ छोरीकि एउटी महिलाका श्रीमानले छोरा नपाएपछि अर्कि बिहे गर्छु भनेका कारण लुकेर ईम्प्लान्ट लगाएर घर गएकि छिन्। ‘लुकेर आउनु भएको रैछ। ६ वटि छोरी भएका कारण श्रीमानले छोराका लागि दबाव दिएको भन्नुहुन्थ्यो।’ मेरी स्टोपकि गिता डागिले भनिन् ‘परिवार नियोजनको साधन प्रयोग गरेमा अर्कि श्रीमती ल्याउने धम्की दिएका छन् रे।’ स्वास्थ्यकर्मीका अनुसार श्रीमानले गर्भनिरोधका साधन प्रयोग गर्न नदिएपछि लुकेर आउनेको संख्या पनि प्रशस्तै छ।

वर्षौदेखि जनस्वास्थ्यका नाममा प्रचारप्रसार र जनमुखि जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेको भन्दै करोडौ रुपैयाँ खर्चेको जिल्ला स्वास्थ्य कार्यालयले गरेका कार्यक्रमहरु परिणाममुखि नभएको यो घटनाले देखाउँछ। भानसिंह र मनसरी जस्ता पात्र रोल्पाका गाउँवस्तीमा प्रशस्त भेटिन्छन्। अब घरछेउँमा आएको भनिएको स्थानीय सरकारले बिपन्न र चेतनास्तर उठ्न नसकेका परिवार लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ।
 

 

प्रकाशित: १४ फाल्गुन २०७६ ०८:१९ बुधबार

सन्तान नाम