समाज

कृषि पेशालाई मर्यादित बनाउन माग

प्रङ्गारिक मिसन कार्यक्रम तथा अभिमुखीकरण गोष्ठी । तस्बिर : नागरिक

जुम्ला- जुम्लाका किसानले कृषि पेसालाई मर्यादित बनाउन माग गरेका छन्। अहिले कृषि क्षेत्र पढेलेखेका भनिएकाहरुबाटै अपमानित हुने गरेको भन्दै किसानलाई सम्मान गर्न र कृषि पेशालाई मर्यादित बनाउन माग गरेका हुन्। वरिष्ठ किसान रामकृष्ण बुढ्थापा कृषि क्षेत्रको विकासको लागि किसानमैत्री क्रियाकलाप ल्याउन जरुरी रहेको बताउँछन्। उनले भने,‘ जसका लागि शिक्षित वर्गलाई अनुशासित र लगनशिल बनाउनुपर्छ। यो निती राज्यले लेओस।’

जिल्ला कृषि विकास कार्यालय जुम्लाले आयोजना गरेको प्रङ्गारिक मिसन कार्यक्रम तथा अभिमुखीकरण गोष्ठीमा उनीहरुले राज्यले करोडौंको बजेट तालिम र गोष्ठीमा खर्च हुने गरेको भन्दै त्यो लक्षित वर्गसम्म पुग्न नसकेको बताएका हुन्। स्थानीय किसान बुढ्थापाले भने,‘प्रतिफल शुन्य छ। तालिमका लागी तालिम गरेर बजेट खर्च गर्दा कृषि क्षेत्रमा कुनै प्रगति हुदैन। यसका लागि इच्छा शक्तिको आवश्यकता पर्छ।’

सबैलाइ कृषि कर्ममा जोड्न कृषि कार्यक्रम सरकारले ल्याउदा प्रभावकारी बन्ला। सरकाले जति बजेट कृषिमा लगाएपनि कृषि पेसालाई मर्यादिन बनाउन नसकेको आरोप किसानको छ। पढेलेखेका युवा जति रोजगारीको खोजीमा विदेश पलायन हुनेक्रम बढ्दो छ। खेतीपातीमा बुढापाका मात्रै  संलग्न हुन्छन्। उनीहरुलाई परम्परागत खेति प्रणाली बाहेक अन्य कुनै जानकारी हुँदैन। उनले थपे,‘जबसम्म राज्यले किसानलाई उच्च सम्मान गर्दैन, तबसम्म युवायूवती खाडीमुलुक जान रोकिने छैनन्। अहिले शिक्षित भनिएका हजारौँ युवायूवती खाडीमुलुकमा छन्।’

गुठिचौर गाउँपालिकाका कृषि शाखामा कार्यरत रत्नप्र्रसाद पाण्डे जुम्ला हरेक कृषि उत्पादनको भण्डार भएको बताउँछन्। उनले भने,‘जुम्लामा वर्षेनी स्याउको क्षेत्रफल बढ्दै गइरहेको छ। सिमी आलु बेचेर किसान मनग्गे कमाउँछन्। तर राज्यले किसानलाई दिने अनुदार वास्तविक किसानसम्म पुगेको छैन। पहुँचवालाकै पोल्टामा कृषिका कार्यक्रम पुग्छन्।’

जुम्लाको अर्गानिक स्याउको माग नेपालको आन्तरिक बजारमा बढ्दै गइरहेको छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा स्याउ खेति तर्फ किसानलाई आर्कषण गर्न विभिन्न कार्यक्रम अघि सारेको बताउँछन्। उनले भने,‘यो वर्ष मात्रै स्याउको क्षेत्रफल दुई सय हेक्टर वृद्धि भएको छ। सिमि, आलु, फापर, कोदोलगायतको अर्गानिक तरकारी खेतिमासमेत किसानलाई उत्साहित बनाउने कार्य भइराहेको छ।’

हिमा गाउँपालिकाका कार्यकारी अधिकृत टोपबहादुर बुढा यहाँका कृषि उत्पादन आम्दानीको मुख्य स्रोत भएपनि किसानले सम्मानजनक आफ्नो उत्पादनको बजारीकरण गर्न सक्ने वातावरण बन्न नसकेको बताउँछन्। उनले भने,‘कृषिका क्षेत्रमा काम गर्ने निकायले कार्यक्रमका लागि कार्यक्रम गर्नु भन्दा पनि सबैसंग समन्वय गरी कार्यन्वयनमा ल्याउन जरुरी छ।’ जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की  सरकारले कुनै पनि श्रम गर्ने किसानलाई प्रमाणत्र पत्र उपलब्ध गराउनु पर्नेमा जोड दिन्छन्।

उनले भने,‘किसानलाई अनुदानमुखि भन्दा पनि कृषि क्षेत्रलाई मर्यादित बनाउन जरुरी छ। किसानलाई मेहनत गर्ने खालको वातावरण सिर्जना गर्नुपर्छ। प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे स्थानीय तह केन्द्रित कृषि शाखाहरुले कृषिका क्षेत्रमा देखिने खालको कार्यक्रम गर्नुपर्ने बताइन्। एकै कार्यक्रम धेरै ठाउँ गरेर ठूलो रकम खर्च गर्नु भन्दा एकअर्काबीच समन्वय र सहकार्य गरेमा  कार्यक्रम नजितामुखी बताइन्।

वर्षायाममा हिलो र हिउँदेयामको हिमपातका कारण किसानले उत्पादन गरेका वस्तु बजारसम्म ल्याउन सकिने अवस्था हुँदैन। उनले भनिन्,‘किसानको आम्दानी बढाउन यातायातको सेवा प्रत्येक वस्तीसम्म जोड्नु आवश्यक छ।   
 

प्रकाशित: ६ फाल्गुन २०७६ ०७:४५ मंगलबार

कृषि_पेशा माग