समाज

नागरिकता विधेयक संशोधन गर्न माग

काठमाडौं - निलहिरा समाजले संसदमा विचाराधिन नागरिकता विधेयक संशोधन गर्न माग गरेको छ। तेस्रो लिंगीले नागरिकता लिन अनिवार्य लिंग परिवर्तन गर्नुपर्ने प्रावधानमा आपत्ति जनाउँदै विधेयक सच्याउन माग गरेको हो।

राजधानीमा पत्रकारहरुसँग कुरा गर्दै निलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङले लिंग परिवर्तन गर्नुपर्ने कानुन आफूहरुलाई मान्य नहुने बताइन्। संविधानले पहिचानका आधारमा नागरिकता उपलब्ध गराउनुपर्ने भनेता पनि नागरिकता विधेयकमा लिंग परिवर्तन गर्नुपर्ने, मेडिकल सिफारिस उपलब्ध गराउनुपर्ने  प्रावधान राखिएकोमा आफूहरुको आपत्ति रहेको उनले बताइन्। ‘संसदीय समितिको छलफलमा पनि सहभागी भएर विरोध जनायौं। तर, हाम्रो आवाज सुनिएन’, उनले भनिन्, ‘हामीलाई संविधानले दिएको अधिकारअनुसार नागरिकता दिनुपर्छ।’

पुरुष र महिलाले नागरिकता लिँदा लिंग परिवर्तन गर्नुनपर्ने तर आफूहरुले मात्रै किन गर्ने भन्दै उनले राज्यबाटै विभेद भएको गुनासो समेत गरिन। ‘नेपालमा लिंग परिवर्तन गर्ने कानुनी प्रावधान नै छैन। प्राविधिक दक्ष जनशक्ति पनि छैन। सबै तेस्रो लिंगीहरु विदेशमा गएर महँगो खर्च गर्नसक्ने आर्थिक हैसियत पनि राख्दैनन्। साथै सबै तेस्रो लिंगी साथीहरु लिंग परिवर्तन पनि चाहँदैनन्’, उनले भनिन्, ‘विवादित कानुन संशोधन गर्नुपर्छ।’

कार्यक्रममा तेस्रो लिंगीहरुले निलहिरा समाजमार्फत पाएको सशक्तीकरण र आफ्नो संघर्षको कथा सुनाएका थिए। उनीहरुले नेपालको कानुनले नै आफूहरुमाथि हिंसा गरिरहेको भन्दै तेस्रोलिंगी मैत्री कानुन बनाउनुपर्ने माग गरेका थिए। त्यसैगरी तेस्रो लिंगी विवाह र धर्मसन्तान जस्ता विषयलाई मान्यता दिनुपर्ने उनीहरुको माग थियो।

प्रकाशित: ६ फाल्गुन २०७६ ०७:२६ मंगलबार

निलहिरा_समाज तेस्राे_लिंगी नागरिकता_विधेयक