समाज

‘मिटरब्याजी’ आरोपी यादव पुनः सिआईवीको नियन्त्रणमा

पक्राउ परेका रामबाबु राय यादव (तस्बिर : रामबाबु राय यादवको फेसबुक वालबाट)

सर्लाही- सर्लाही जिल्ला अदालतको आदेश अनुसार धरौटी राखेर छुटेका ‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादवलाई पुनः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले पक्राउ गरेको छ।

सीआईवी काठमाडौंले आईतबार विशेष अदालतबाट १० दिन थूनामा राख्ने म्याद लिएर यादवविरुद्ध सम्पत्ति शुद्धिकरण ऐन अन्तर्गत अनुसन्धान अगाडी बढाएको छ। सीआईवीका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले यादवविरुद्ध सम्पत्ति शुद्धिकरण ऐन अन्तर्गत अनुसन्धान प्रकृया अगाडी बढाईएको जानकारी दिए।

‘यादवलाई नियन्त्रणमा लिएर सम्पत्ति शुद्धिकरण ऐन अन्तर्गत अनुसन्धान अगाडी बढाएका छौं’, पाण्डेले आईतबार नागरिकसँग भने, ‘यादवलाई थुनामै राखेर अनुसन्धान गर्नका लागि आजै विशेष अदालतबाट १० दिनको म्याद पाएका छौं।’

सर्लाहीकै बरहथवा नगरपालिकास्थित गंगापुर निवासी यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले पक्राउ गरी ठगी तथा आपराधिक विश्वासघात अभियोगमा जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो। गत सोमबार जिल्ला न्यायाधिश हरिप्रसाद कोइरालाले यादवलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए। आदेश अनुसार तत्काल धरौटी बुझाउन नसकेपछि उनलाई सुनसरीको झुम्का कारागारमा राखिएको थियो।

तोकिए बमोजिमको जमिन धरौटी राखेर छुटेका यादवलाई जिल्ला अदालतमा तारेख लिन गएको बेला गत शुक्रबार जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले पुनः पक्राउ गरेको हो। सम्पत्ति शुद्धिकरण ऐन अन्तर्गत अनुसन्धान गर्नका लागि यादवलाई पक्राउ गरी पठाउन सीआईवीको पत्र आएकाले उनलाई पुनः पक्राउ गरी काठमाडौं पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए।

मिटरब्याजी आरोपी यादवले ऋण दिँदा ५ गुणा बढीको कागज बनाउने गरेको, ऋण तिरीसक्दा पनि तमसुक फिर्ता नगरेको, ऋण लिँदा राजिनामा गरिदिएको जग्गा आफूखुशी बिक्री गरेको ऋणपीडितहरुले गुनासो गर्दै आएका छन्। पीडितहरुको एक समूह काठमाडौं नै पुगेर सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरु, गृहमन्त्री, प्रहरीका वरिष्ठ सुरक्षा अधिकृतहरु समक्ष गुनासो गरेपछि प्रहरीले गत पुस २३ गते यादवलाई पक्राउ गरी ठगी तथा अपराधिक विश्वासघात सम्बन्धि मुद्धा अदालतमा दर्ता गरेको थियो।

यस्तै पीडितहरुले सर्लाहीमै अर्का ‘मिटरब्याजी’ आरोपी त्रिभुवननगर निवासी सञ्जय साह रौनियारलाई पनि पक्राउ गरी कारबाही गर्न माग गरिरहेका छन्। यता पक्राउ परेका यादव एवं उनका परिवारजनले भने कानून विपरित कसैसँग ब्याज नलिएको र लिएको ऋण पचाउनका लागि अनेक आरोप लगाएर जवरजस्त फसाईएको गुनासो गर्दै आएका छन्।

यसअघि जिल्लामै अर्का ‘मिटरब्याजी’ आरोपी श्याम परदेशी भन्ने श्यामकृष्ण साह भने केही महिनाअघि पक्राउ परी अदालतको आदेश अनुसार पूर्पक्षका लागि कारागारमा रहेका छन्। परदेशीलाई जिल्ला न्यायाधिश कृष्णराम कोइरालाको एकल ईजलासले पूर्पक्षका लागि थूनामा पठाउने आदेश दिएको थियो। परदेशीले उच्च अदालतमा गरेको पुनरावेदनमा समेत जिल्ला अदालतकै आदेशलाई निरन्तरता दिएको प्रहरीले जनाएको छ। उस्तै प्रकृतिको मुद्धामा जिल्ला अदालतका अर्का न्यायाधिश हरिप्रसाद कोइरालाले भने अभियुक्त यादवलाई धरौटीमा छाड्न आदेश दिएका छन्। एउटै अदालतबाट उस्तै मुद्धामा दुईथरी आदेश आएको छ।

 

प्रकाशित: ४ फाल्गुन २०७६ १३:०५ आइतबार

‘मिटरब्याजी सिआईवी