समाज

सवारी दुर्घटनामा एकको मृत्यु

परासी- पश्चिम नवलपरासीको सुनवल नगरपालिका–३ मा आज भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनवलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय कार अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो।

मृत्यु हुनेमा कारमा सवार बारा जिल्लाको दक्षिण झिटक्या गाउँपालिका–२ का ५५ वर्षीय रियाजुल मिया रहेका छन्। उनको बुटवलस्थित जेनस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

घाइते सात जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने कार प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रनाउ थापाले बताए। रासस

प्रकाशित: ३ फाल्गुन २०७६ १३:०६ शनिबार

दुर्घटना मृत्यु