समाज

नौ महिनापछि ताला खुल्यो

काठमाडाैँ - जिल्ला खेलकूद विकास समितिका पदाधिकारीबीचको असमझदारीले कार्यालयमा लागेको ताला नौ महिनापछि खुलेको छ। समितिका उपाध्यक्ष धीरेन्द्र बर्मा र कोषाध्यक्ष राजेशकुमार चौधरीले कार्यालय प्रमुख दिनेश भुजेलसहित कर्मचारी, विभिन्न खेलकूद सङ्घका पदाधिकारी र खेलाडीको उपस्थितिमा हिजो साँझ ताला खोलेका हुँन्।

ताला खुलेपछि आजबाट कार्यालय सञ्चालनमा आएको कार्यालय प्रमुख भुजेलले बताए। अध्यक्षमा अमर खवासको मनोनयनसँगै अध्यक्ष वा कोषाध्यक्षमध्ये कसको नाममा खाता सञ्चालन गर्ने विषयमा समितिमा विवाद भएपछि उपाध्यक्ष बर्माको नेतृत्वमा कोषाध्यक्ष चौधरीसहित सदस्यले गत जेठ ७ गते कार्यालय प्रमुख भुजेलको कार्यकक्षमा तालाबन्दी गरेका थिए।   अध्यक्ष खवास र कार्यालय प्रमुख भुजेलबाहेक अन्य सबै पदाधिकारी, सदस्य, कोषाध्यक्ष चौधरीको नाममा खाता खोल्नुपर्ने पक्षमा छन्।

ताला खोलेलगत्तै कोषाध्यक्ष चौधरीले एक विज्ञप्ति जारी गरी आफूहरुले राख्दै आएको तीन बुँदे माग सात दिनभित्र सम्बोधन नभए थप सशक्त कार्यक्रम गर्ने चेतावनी दिएका छन्। अध्यक्ष खवासबाहेक समितिका अन्य पदाधिकारीले आर्थिक वर्ष २०७२/७३ देखिको आयव्ययको हिसाब, कोषाध्यक्षको नाममा खाता सञ्चालन र कार्यालय प्रमुखको सरुवाको माग राख्दै आएका छन्।

अध्यक्ष खवासले आफ्नो नाममा खाता सञ्चालन नभए आर्थिक कारोवारको जिम्मेवारी लिन नसक्ने र कार्यादेश दिन नसक्ने बताउँदै आएका छन्। समितिमा सचिवसमेत रहने कार्यालय प्रमुख भुजेलले अध्यक्षको कार्यादेशबिना आर्थिक कारोवार गर्न नसकिने भन्दै कोषाध्यक्षको नाममा खाता खोल्न असमर्थता जनाउँदै आएका हुँन्। खेलकूद नियमावलीमा कार्यालय प्रमुख र अध्यक्ष वा कोषाध्यक्षको हस्ताक्षरमा खाता सञ्चालन हुने प्रावधान छ।

कार्यालय प्रमुख भुजेलले आफू दुई वर्षअघि प्रमुख भएर आएकाले त्यसअघिको लेखा परीक्षण भइसकेको हिसाबबारे चार वर्षदेखि समितिमा रहनुभएका पदाधिकारी नै जिम्मेवार हुनुपर्ने बताए। समितिका पदाधिकारीले कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको केही दिनपछि कर्मचारीले समेत समितिको कोठामा ताला लगाएका थिए। तालाबन्दीका कारण विगत नौ महिनादेखि खेलकूद गतिविधि पूर्ण प्रभावित बनेको छ। रासस

प्रकाशित: २ फाल्गुन २०७६ ०६:५९ शुक्रबार

खेलकूद_विकास कार्यालय ताला