समाज

अज्ञात अवस्था सम्झेर भतभती पोल्छ मन

संघीय ब्युराे

दिनेश सुवेदी
रोल्पा – कांग्रेस भएकै कारण २०५३ साल कात्तिक ३० गते थवाङ गाउँपालिका–५ मिरुलका मनबहादुर रोका मगरलाई माओवादीले गोली हानेर हत्या गरे। मनबहादुरकी वृद्ध पत्नी खोस्टीले आज पनि त्यो दिन भुल्न सकेकी छैनन्। उक्त दिन घरमा सँगै रहेका ज्वाइँ विष्णु रोकामगर पनि सोही घटनामा मारिए भने कान्छो छोरा हितबहादुरलाई पनि धारिलो हतियारले छियाछिया पारेर छोडियो। अर्को दिन बिहानै आएको हेलिकप्टरले उद्धार गरी छिटै उपचार पाएका कारण हितबहादुर चाहिँ बाँचे।

पति र ज्वाइँको हत्या भएको पीडा मनमा राखेर बाँचिरहेकी खोस्टीलाई पाँच वर्षपछि फेरि अर्को पीडा थपियो। २०५८ साल असारमा जेठो छोरा धनबहादुरलाई माओवादीले प्युठानको भिङग्री जलुकेबाट अपहरण गरी लगेपछि जिउँदो त फर्काएनन् नै शवसमेत दिएनन्। रेडियो नेपाल सुर्खेतमा मगरखाम भाषाका सहवाचक धनबहादुरले समाचार उत्पादन र वाचन गर्थे। काम विषेशले रोल्पाको लिवाङ आएका उनी कार्यक्षेत्रमा फर्कंदै गर्दा अपहरण परेका थिए।

पति र ज्वाइँको मृत शरीर देखेकी उनको मन छोराको अज्ञात अवस्था सम्झेर आज पनि भतभती पोल्छ। परिवारमा परेको यस्तो बज्रपातले विक्षिप्त बनेकी खोस्टी गाउँमा बस्न मन नलागेपछि कान्छो छोरासँग बस्न दाङ सरिन्। आफू दाङ झरे पनि उनलाई पहाड गाउँमा घर सम्हालेर बसेकी बुहारी र दुःखजेलो गरी पढ्दै गरेका नातिनातिनाको पिरलोले सताउने गर्छ। तथापि पति, ज्वाइँ र छोराको सम्झनाले हुरुक्क बनाउने भएकाले उनलाई पहाड घर जान मन लाग्दैन।

२०५९ साल असोज ६ गते बारीमा हलो जोत्दै गरेका ४९ वर्षीय पति सुकमन कामीलाई प्रहरीले छिमेकी गाविस सेरमको घुस्वाङमा लगी गोली हानेर मारेको सुनेकी ६१ वर्षीया लालमता कामीले पतिको शव भने पाइनन्। यता पति मारिएको पीडा ताजै थियो, उता त्यही फागुनमा प्युठान मजदुरी गर्न हिँडेको २० वर्षीय छोरा नरबहादुर विकलाई पनि सुरक्षाकर्मीले बेपत्ता बनाए। ६ महिनाको अन्तरालमा पतिको हत्या अनि छोरा बेपत्ता भएपछि लालमता विक्षिप्त बनिन्। उनी आज पनि छोरा घर आउने प्रतिक्षामा छिन्।

खाेस्टी राेका

पतिको शव नदेखे पनि छोरा आउने आशामा धेरै बसिन् उनी। तर अब आउँदैनन् कि जस्तो लाग्न थालेको छ। लालमतालाई त्यो १० बर्से सशस्त्र–द्वन्द्वले दिएको पीडाभन्दा अरू केही थाहा छैन। परिवर्तनको अनुभूति न उनले गरिन्, न उनका गाउँमा कसैले अनुभव गरे। छोरासँगै प्युठान मजदुरी गर्ने कसैले छोरा बेपत्ता बनाएको खबर पठाएपछि जानकारी पाएकी लालमताले न छोरा खोज्न सकिन्, न त कसैले खोजिदियो। ‘हाम्रा लागि कसले के गथ्र्यो र ? ठूला, धनी भएका भए पो काम हुन्थ्यो। न हाम्ले मान्छे चिन्या छम्, न त हाम्रो कोही छ,’ हाल कान्छा छोरा–बुहारीसँगै बसेकी बाहिरी गाममा बसेकी लालमता कामीले भनिन्।

मेघमाली बुढा

२०५८ साल चैतमा पतिलाई माओवादीले घरछेउमा हत्या गरेको एक वर्षभित्र सेनाले छोरा बेपत्ता बनाएपछि विक्षिप्त बनेकी रोल्पा नगरपालिका–६ कोटगाउँकी ६२ वर्षीया मेघमाली बुढालाई सरकार छ छैन केही थाहा छैन। पतिको विभत्स शव देखेकी उनलाई छोरोको अज्ञात अवस्थाले सताइरहन्छ। उनी आज पनि छोरो आउने आसमा छिन्। ‘आसैआसमा यत्तिका वर्ष बिते। अब त काल पर्खने हो। आफ्नो दुःख आफैंसँग छ। कसैले छोराका बारेमा भन्दिए हुन्थ्यो।’

खोस्टी, लालमता र मेघमालीजस्ता सयौं रोल्पालीहरू आज पनि आफन्त मारिनु र बेपत्ता पारिनुको कारणबाट बेखबर छन्। मारिनुको कारण अनि बेपत्ताको अवस्था अनभिज्ञ भएपछि उनीहरू दिनरात तनावमा रहने गर्छन्। सरकारी तथ्यांकअनुसार नौ सय ६९ मृतक र ३३ जना बेपत्ता रहेको रोल्पाका प्रायः कुनै पनि परिवारलाई आफन्त मारिनु वा बेपत्ता पारिनुको कारण थाहा छैन। १० वर्षे सशस्त्र–द्वन्द्वका बेला पीडित भएका रोल्पाका तीन हजार ३८ पीडितले दर्ता गराएका उजुरी यतिबेला अन्योलमा छन्। सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सत्य अन्वेषणका लागि गत साल उजुरी आह्वान गरेको तीन महिनामा उल्लेखित संख्यामा उजुरी परेको हो। स्थानीय शान्ति समिति रोल्पाका अनुसार बेपत्ता व्यक्तिका परिवार एक सय १६ जनाले उजुरी दिएका थिए। उनीहरूले बेपत्ता आफन्तको खोजबिनका लागि भन्दै उजुरी दिएका हुन्।

लालमाता कामी

शान्ति प्रक्रियाको ६ महिनाभित्र सक्ने भनिएको न्याय र परिपुरणका विषयमा नेतृत्व चुकेपछि पीडितहरूले झनै पीडित बनेको महसुस गरिरहेका छन्। सत्यनिरूपण तथा मेलमिलाप आयोगले र बेपत्ता परिवारको छानबिन आयोगले काम समयमा टुंग्याउन नसक्दा वास्तविक पीडित सकसमा परेका हुन्। घरगाउँमा पीडा भुलेर सँगै बसेका दुवैतर्फका पीडितहरूले फेरि सशस्त्र–द्वन्द्वको घाउ नबल्झियोस् भन्ने चाहना राखेका छन्। ‘सबै भुलेर मिलेर बसेका छौं। मार्ने र मराउने पनि चिनेका छौं तर पुराना दिन नदोहोरियोस् भनेर चुप छौं,’ एक द्वन्द्वपीडितले भने, ‘सरकारले गठन गरेका दुई आयोगले जति सक्यो छिटो काम सकोस्, द्वन्द्वपीडितलाई त्यसले थोरै भए पनि सन्त्वना दिनेछ।’

बाटो कुर्दाकुर्दै प्यारालाइसिस
नगेन्द्र उपाध्याय

सुर्खेत – ‘मम्मी ! मलाई भेट गर्न किन आउनुहुन्न। तत्कालै हजुरले भेट गर्न आउनुभएन भने मेरो मुख पनि हेर्न पाउनुहुने छैन। म बाघको पञ्जामा छु। सायद त्यो बाघले खेलाइ–खेलाई कतिखेर खान्छ थाहा छैन।’

सशस्त्र–द्वन्द्वका क्रममा २०६० साउन २३ गते पक्राउ परेकी वीरेन्द्रनगरकी दीपा वलीले तत्कालीन शाही नेपाली सेनाको छिन्चुस्थित ब्यारेकबाट दीपाले असोज ९ गते लेखेको यो चिठ्ठी परिवारले कात्तिक १२ गते प्राप्त ग-यो। आठ कक्षा पढ्दै गरेकी दीपा तत्कालीन विद्रोही नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र–द्वन्द्वमा सहभागी हुँदा १४ वर्षकी मात्रै थिइन्।
‘सेनाको कब्जामा रहेकी छोरीलाई छुटाउन हरसम्भव प्रयास ग-यौं,’ चार वर्षअघि नागरिककर्मीसँग आमा सुशीलाले भनेकी थिइन्, ‘अहिलेसम्म छोरीको लास र सासको टुंगो लागेको छैन।’ सुशीलाले छोरीको खोजीमा दशकभन्दा बढी संघर्ष गरिन्। आफूजस्तै द्वन्द्वपीडितलाई न्याय दिलाउन भएका आन्दोलनमा स्थानीय तहदेखि संघीय राजधानी काठमाडौंसम्म पुगिन्।

सुशीला वली

तिनै सुशीला तीन वर्षदेखि प्यारालाइसिसले थलिएकी छन्। सेनाले बेपत्ता बनाएकी छोरीको कसैले कुरा ग¥यो कि उनका आँखाबाट आँसुका धारा बग्न सुरु हुन्छन्। परिवारका लागि अन्तिम सन्देश बनेको यही चिठ्ठी र फोटो हेरेर सुशीला आँसु बगाउँछिन्।

बेपत्ता छोरीको खोजीकै क्रममा दीपाका बुबाको हृदयघातका कारण मृत्यु भयो। छोरी बेपत्ता हुँदाको पीडासँगै सुशीलालाई पति वियोगको पीडा पनि थपियो। प्यारालाइसिसले थलिएकी सुशीलाको साथमा कान्छी छोरी राजकुमारीको मात्रै साथ छ। ‘आमा अहिले पनि दिदी आउने आसमै हुनुहुन्छ,’ राजकुमारीले भनिन्, ‘दैनिक फोटो र चिठ्ठी हेर्नुहुन्छ, आँसु बगाउनुहुन्छ।’

यो द्वन्द्वपीडित परिवारको पुख्र्यौली घर सुर्खेतको वीरेन्द्रनगर हो। प्यारालाइसिस हुनुअघि उनी न्यायका लागि द्वन्द्वपीडित समाज सुर्खेतकी अध्यक्ष थिइन्। ‘विभिन्न कार्यक्रममा पीडितको न्यायका लागि आवाज उठाउनुहुन्थ्यो,’ राजकुमारीले भनिन्, ‘अहिले हाम्रो पीडा बुझिदिने कोही छैन।’ राजकुमारीका अनुसार सुशीलाले प्यारालाइसिसको औषधि नखाएको साता पुग्यो। सहयोगीले दिएको खाद्यान्न र केही पैसाले बिहान–बेलुकाको छाक टार्नुपर्ने बाध्यता छ। आमाको स्याहार गर्नुपरेका कारण उनी काम गर्न कतै जान पाउँदिनन्। बेपत्ता छोरीको नाममा सरकारले दिएको पैसा सुशीलाको उपचारमै सकियो।

जनताको मुक्तिका लागि भन्दै १४ बर्से बालककालमै युद्धमा होमिएकी दीपाको अहिलेसम्म केही खबर छैन। आमाको उपचारका लागि सरकारी निकाय र सरोकारवाला संस्थामा धाउँदा–धाउँदा हैरान भएको उल्लेख गर्दै राजकुमारीले भनिन्, ‘राज्यले दिदीको कुनै टुंगो दिन नसके पनि आमाको जीवन सहज बनाउन केही राहत दिए हुन्थ्यो।’

युग बित्यो, फर्केन छोरा
पुष्पराज जोशी

कैलाली – आउँदो फागुन २७ गते १८ वर्ष पुग्छ, कैलारी गाउँपालिका–८, दुधियाका विनोद चौधरी उर्फ ‘यात्री’ बेपत्ता भएको। तत्कालीन माओवादीका कार्यकर्ता रहेका विनोदलाई शाही सेनाले कैलालीको रामशिखरझाला जुरपानीबाट पक्रेर तेघरी ब्यारेक लगेका थिए। तेघरी ब्यारेकबाटै बेपत्ता भएका उनी अहिलेसम्म घरपरिवारको सम्पर्कमा छैनन्। एक न एक दिन छोरा अवश्यै फर्केर आउँछ भन्ने लागिरहने गरेको बताउँदै ६९ वर्षीय बुबा भागुनदत्त डगौरा थारूले भने, ‘छोरा आउने बाटो कुरेर बसेका छौं।’

छोरालाई सेनाले समातेर लगेदेखि चौधरी परिवारको आँखा ओभाएका छैनन्। आमा पार्वती चौधरीले भनिन्, ‘छोराको बाटो हेर्दैमा युग बितिसक्यो। आउँछ कि आउँदैन केही थाहा छैन।’ सेनाले तेघरी ब्यारेकमा तीन महिना राखेर त्यसपछि काठमाडौं पठाएको बताए पनि विनोदको अत्तोपत्तो केही लाग्न नसकेको बुबा भागुनदत्तले बताए।

२०४८ सालमा एसएलसी पास गरेलगतै शिक्षक सेवामा पास भएर शिक्षण पेसामा क्रियाशील थिए विनोद। शिक्षणसँगै उनी भूमिगत रूपमा राजनीतिक कार्यक्रममा सहभागी हुन थाले। २०५२ सालमा माओवादीको ‘जनयुद्ध’ सुरु भएसँगै विनोदले पनि संगठन बलियो बनाउन गाउँगाउँमा युवा एकीकृत गरी राजनीतिक चेतना फैलाउन थाले। पछि शिक्षण पेसाबाट राजीनामा नदिइकनै उनी सक्रिय राजनीतिमा लागे।

पार्वती र भागुनदत्त चौधरी

२०५५ साउन ३० गते पहिलो पटक गिरफ्तारमा परेका उनलाई सुरुमा तत्कालीन सरकारले माओवादी भनेर थुनामा राखे पनि पछि चोरी–डाँका मुद्दा लगाएर कैलाली कारागारमा थुन्यो। थुप्रै यातना पाएका उनी २०५७ चैत ५ गते कैलाली जिल्ला अदालतबाट रिहा भए। रिहाइपश्चात् विनोद माओवादी पार्टीमा पुनः भूमिगत भए। २०५८ सालमा माओवादी पार्टीले जिल्ला जिल्लामा जनसरकार घोषणा गरे। विनोद कैलाली जिल्लाको जनसरकार प्रमुख भए। उनलाई पुनः २०५८ फागुन २७ गते सेनाले पक्राउ गरेको र तीन महिना तेघरी ब्यारेकमा राखेर बेपत्ता पारिएको बुबा भागुनदत्त बताउँछन्।

सरकारले द्वन्द्व प्रभावितहरूको नाममा करोडौं खर्च गरे पनि खासै उपलब्धि हुन नसकेको भागुनदत्त बताउँछन्। ‘राहतस्वरूप एक वर्ष तरकारी खेतीका लागि ४५ हजार रूपैयाँ, अर्को वर्ष दुईवटा बाख्रा बाँड्नुबाहेक अन्य सहयोग गर्न सकेको छैन,’ उनले भने, ‘हामीलाई राहत र पैसा दिनुभन्दा हाम्रो छोराको सास नभए लास दिनुपर्छ।’

छोराको पीडाले रुँदारुँदा आँखा कमजोर भइसकेको बताउँदै आमा पार्वतीले भनिन्, ‘मेरो छोरासँगै राजनीति गरेकाहरू अहिले पदमा छन् तर पदमा भएकाहरूले पनि उसको खोजीका लागि गम्भीर भएका छैनन्।’ छोराकै सहकर्मी पछि मन्त्रीसमेत भए। तिनैमध्येका एक गौरीशंकर चौधरीलाई बेपत्ता छोरोको खोजी गरिदिन पटकपटक भनेको उल्लेख गर्दै उनले भनिन्, ‘हुन्छ खोजौला भनेर मन्त्रीले पनि भन्छन्, तर अहिलेसम्म केही पत्तो लाग्न सकेको छैन।’

२०५१ सालमा विनोदको विवाह कृष्णी चौधरीसँग भएको थियो। विवाहपछि उनी पतिसँग धेरै समय बस्न पाइनन्। पति बेपत्ता भएदेखि उनको मन शान्त हुन सकेको छैन। ‘उहाँ बेपत्ता भएको १८ वर्ष भो। उहाँको खोजीमा थुप्रै ठाउँ भौतारिएँ तर अहिलेसम्म केही पत्तो लाग्न सकेको छैन,’ कृष्णीले भनिन्, ‘अझै कुनै दिन अचानक आउनुहुन्छ कि जस्तो लाग्छ। मान्छेहरूले सहिद भनेर सम्बोधन गर्दा भित्र कताकता पीडा हुन्छ।’

आमा भनेर बोलाउँदै कहिले आउला !
देवेन्द्र बस्नेत

दाङ – ६० वर्ष पुग्नै लागेको बुढ्यौली शरीर, घरमा सहारा कोही छैन। देउखुरी गोबरडिहास्थित पुरानो घरकी एक्लो सदस्य खड्गकुमारी खत्रीलाई बुढेसकालको सहारा छोरो टुप्लुक्क आउँछ कि भन्ने आस लागिरहन्छ।

छोराको खोजीका लागि विभिन्न निकायसँग अनुनय–विनय गर्न थालेको वर्षौं बित्यो। ‘कहिलेकाहीं कतै भड्किएको होला, आफ्नो गरिखाँदै होला, अचानक घर सम्झेर आउँछ होला जस्तो लाग्छ,’ उनले भनिन्, ‘फेरि सोच्छु, जिउँदै भएको भए १८ वर्षसम्म आमा भनेर सम्झँदै कसो नआउँदो हो।’

यसरी आधा आशा, आधा निराशाका बीच आमाको मन, घरबाहिर राति कोही हिँडेको आवाजले आफ्नै छोरा आयो कि भन्ने आस बढ्छ र आँखा खुलिहाल्छ। ‘राति बाहिर केही खस्रयाक्क ग¥यो भने पनि छोरा आयो कि भन्ने लाग्छ,’ उनले भनिन्।

खड्गकुमारी खत्री

खड्गकुमारीका छोरा नन्दबहादुर काठमाडौंमा कक्षा १२ मा पढ्दै थिए। उच्चशिक्षाका लागि काठमाडौंमै सकिनसकी छोरा पढाउन थालेकी आमालाई लागेको थियो, ‘छोराले राम्रोसँग पढेपछि बुढेसकालको सहारा बन्नेछ।’ नन्दबहादुर एकाएक बिरामी परे। काठमाडौंमा उपचार गराउँदै उनलाई क्षयरोग लागेको पुष्टि भयो। त्यसपछि बिरामी अवस्थामा घर फर्केर नन्दबहादुर भारतको लखनउमा टिबीको राम्रो उपचार हुन्छ, त्यतै जान्छु भन्दै आमासँग बिदा मागेर हिँडेका थिए। त्यसपछि उनी अहिलेसम्म घर फर्केका छैनन्। लामो समयसम्म छोरा घरमा नआएपछि खड्गकुमारीको मन आत्तियो। ‘उपचार गर्न लखनउ जान्छु भन्दै गएको थियो,’ उनले भनिन्, ‘त्यसपछि फर्केर घर आउन पाएन। धेरै पछि थाहा भयो उसलाई त पुलिसले समातेको रहेछ।’

आमा खड्गकुमारीका अनुसार नन्दबहादुर भारतबाट गाउँ फर्किसकेका थिए। बाटोमै उनी तत्कालीन माओवादीको दबाबमा परे। राम्रो अक्षर लेख्न सक्ने क्षमता भएका नन्दबहादुरलाई माओवादी कार्यकर्ताले ‘ब्यानर लेखन’ का लागि आफ्नो समूहमा जबरजस्ती सामेल गराए। ‘घर जान पाउन्नस्, हामीसँगै हिँड् भनेर बाटोबाटै हिँडाएका रहेछन्,’ प्रहरी नियन्त्रणमा आइसकेपछि छोरासँगको संवाद सुनाउँदै खड्गकुमारीले भनिन्, ‘म जबरजस्ती माओवादीको जालमा परेको हुँ आमा भनेर धेरै रोएको थियो।’

माओवादीको दबाबमा परेपछि उनको समूहमा सामेल भएका नन्दबहादुर माओवादीको नारा लेख्ने काम गर्थे। २०५८ फागुन १० गते छिमेकी गाउँको ब्यानरमा नारा लेखिरहेका बेला प्रहरी आइपुग्यो। उनी रंगेहात फेला परे। ‘माओवादीले ब्यानर लेख् भनेर एउटा घरमा छोडिदिएका रहेछन्,’ उनले भनिन्, ‘त्यही बेला पुलिस आएर लगेछ।’

पक्राउ परेको दुई महिनापछि मात्रै खड्गकुमारीलाई नन्दबहादुरलाई तुलसीपुर प्रहरी चौकीमा पु-याइएको थाहा भो। खड्गकुमारी त्यहाँ पुगिन्। दुईपटकसम्म छोरासँग भेट भयो पनि। तर तेस्रो पटक नन्दबहादुर त्यो प्रहरी चौकीमा थिएनन्। आफूहरूले रिहा गरिसकेको भनेर प्रहरीले जवाफ दिए। ‘तेस्रो पटक भेट्न गएँ, छोरा थिएन,’ उनले भनिन्, ‘पुलिसका हाकिमले हामीले तिम्रो छोरा छाडिदिइसकिम् थाहा छैन भनेर जवाफ दिए।’

तर प्रहरीले रिहा गरिसकेको भनिएका नन्दबहादुर अहिलेसम्म कहींकतै फेला परेका छैनन्। ‘रिहा गरिसकेको भनेर मारिदिएका पो हुन् कि,’ खड्गकुमारीले भनिन्, ‘अहिलेसम्म त के जिउँदो होला र भन्ने पनि लाग्छ।’

छेरा बेपत्ता हुनुको पीडा त छँदै छ, त्यसमा पनि छोरालाई गुमनाम पार्नेहरूलाई हदैसम्मको कारबाही होस् भन्ने खड्गकुमारीको मनमा छ। न्याय माग गर्दै विभिन्न न्यायिक निकाय दौडधुपमा वर्षौं बिताएकी खड्गकुमारीमा बेपत्ता छानबिन आयोग निर्माणपछि न्याय मिल्ने आशा जागेको थियो। आयोगको आह्वान अनुसार उनले उजुरी पनि हालिन्। ‘सरकारले आयोग बनाएपछि छोरा बेपत्ता पारिदिनेहरूलाई कडा कारबाही हुने भयो भनेर मन खुसी भएको थियो। तर उजुरी हालेको पनि धेरै वर्ष भइसक्यो। कसलाई कारबाही भयो त ? केही पत्तो छैन,’ उनले भनिन्, ‘दुखी–पीडितलाई हेर्ने कोही हुन्न, सबै यस्तै हुन्।’

प्रकाशित: २ फाल्गुन २०७६ ०२:१३ शुक्रबार

जनयुद्व_दिवस बेपत्ता परिवार आर्तनाद