संघीय ब्युराे
तत्कालीन नेकपा माओवादी २०५२ फागुन १ गते सुरु गरिएको सशस्त्र–द्वन्द्व शान्ति–प्रक्रिया हुँदै सकिएको १३ वर्ष पुगेको छ। २०६३ मंसिर ५ गते सरकार र विद्रोही माओवादी पक्षले शान्ति सम्झौता गरेर युद्ध अन्त्य भएको घोषणा गरेका थिए। तर त्यो युद्धले बनाएका अनेकन घाउका खाटाहरू निको नभई, अझै उस्तै छन्। युद्धमा मृत्यु हुने र हत्या गरिएका अधिकतर व्यक्तिका परिवारले आजसम्म मरे–बाँचेको केही अबर पाएका छैनन्। युद्धको चेपुवामा परेर आफन्त गुमाएका परिवारमा लागेको चोट र घाउको खाटा अझै निरन्तर चहर्याइरहेछ सशस्त्र–द्वन्द्वको घाउरहेकै छ।
गोली बोकेर हिँड्छन् पूर्वलडाकु
लोकेन्द्र खनाल,काठमाडौं
फागुन १ गते बिहानको राति तत्कालीन नेकपा माओवादीले रुकुमको आठबीसकोटमा रहेको राडी प्रहरी चौकीमा आक्रमण ग-यो। सोही रात माओवादी कार्यकर्ताले सिन्धुलीको गढी प्रहरी चौकी, रोल्पाको होलेरी प्रहरी चौकी र गोर्खाको कृषि विकास बैंकमा पनि आक्रमण गरेका थिए। यसरी सशस्त्र–द्वन्द्वको सुरुवात भएको थियो। वर्गविहीन समाज निर्माण गर्ने भन्दै राडी प्रहरी चौकी आक्रमणमा जीतमान पुनमगर (मार्सल) सहित २८ जना लडाकु सहभागी थिए।
पहिलो दिनबाटै जनयुद्वमा सहभागी जीतमानका अनुसार त्यो समयमा उनीहरूसँग दुई थान भरुवा बन्दुक, बञ्चरो र खुकुरी हतियारका रूपमा भएको जीतमान सम्झन्छन्। १० वर्षसम्म आफू निरन्तर रूपमा पार्टीको निर्देशनअनुसार लडाइँको अग्रपंक्तिमा सहभागी भए पनि अहिले भने गोली बोकेर ‘पछिल्लो पंक्ति’ मा हिँड्न बाध्य भएको उनको गुनासो छ।
तत्कालीन जनमुक्ति सेनाको ब्रिगेड कमान्डर भएका जीतमानको दायाँ पाखुरामा अहिले पनि तीनवटा गोली रहेका छन्। २०५९ सालमा रुकुमको खारामा गरिएको दोस्रो आक्रमणका क्रममा घाइते भएका उनले खर्च अभावमा अहिलेसम्म निकाल्न सकेका छैनन्। ‘समाज परिवर्तन गर्ने भन्दै युद्वमा सहभागी हुने क्रममा खारा घटनामा तीनवटा गोली लाग्यो,’ जीतमानले भने, ‘अहिलेसम्म पनि त्यही गोली बोकेर हिँड्दै छु, २० वर्ष भो निकाल्न सकेको छुइनँ।’
रोल्पाका सुरेश बुढा पनि सशस्त्र–द्वन्द्वमा होमिएका थिए। सुरेशको त्यो सपना युद्वकै क्रममा अधुरो भयो। लडाइँको क्रममा उनी बायाँ खुट्टामा गोली लागेर घाइते भए। २०५५ चैत ७ गते म्याग्दीको बेनी बेसक्याम्पमा भएको लडाइँमा आफूलाई गोली लागेको उनी बताउँछन्। उनले पनि खुट्टामा लागेको गोली अहिलेसम्म निकाल्न सकेका छैनन्। गोली निकाल्न विभिन्न अस्पताल पुगेका उनी आर्थिक अभावले अझैसम्म खुट्टामै बोकी हिँड्न बाध्य भएको दुखेसो सुनाउँछन्।
जीतमान र सुरेशजस्तै रुकुमपूर्वका सिस्ने गाउँपालिका–८ लम्पाकोटका डम्मरबहादुर बुढाको अवस्था पनि उस्तै छ। युद्वको समयमा लडाइँमा सहभागी हुँदा लागेका १० वटा गोलीको छर्रा अहिले पनि शरीरमै रहेको उनले बताए। उनले पनि आर्थिक अवस्थाका कारण अहिलेसम्म गोली निकाल्न सकेका छैनन्। ‘शरीरमा गोलीको छर्रा रहेको प्रस्टै देखिन्छ, ननिकाले क्यान्सर हुनसक्ने डाक्टरले बताएका छन्,’ डम्बरबहादुरले भने, ‘गोली निकाल्न पैसा छैन, हामीलाई सहयोग गर्ने कोही छैन।’ नेताहरूले युद्वको समयमा गरेका प्रतिवद्धता अहिले बिर्सिएका कारण आफूहरूको यो अवस्था भएको पूर्वलडाकुहरू बताउँछन्। नेताहरूले युद्वको समयमा बाँडेका सपना अहिले भुल्दै गएकाले आफूहरूको यो हबिगत भएको उनीहरूको गुनासो छ।
डेढ दशकदेखि छोराको बाटो हेर्दै
भीम चापागाईं,इलाम
फाकफोकथुम गाउँपालिका ठिंगेपुरका ८१ वर्षीय ज्ञानबहादुर निरौला र ७६ वर्षीया देवकादेवी घरमा दम्पतीमात्रै बस्छन्। सात छोरा, दुई छोरीका धनी यी वृद्ध दम्पती बुढेसकालमा कुनै छोरा–छोरीसँग मनमुटाव भएर ‘एक्लै’ बस्नुपरेको होइन। गाउँ–ठाउँमा सामान्यतः अरू छोरा छुट्टिए पनि कान्छो छोरो बाबु–आमासँग बस्ने चलन भएकाले आफ्नो कान्छो छोरो आउने दिन पर्खिएका–पर्खियै छन् उनीहरू।
तर दिन, महिना, वर्ष र दशक बितेर डेढ दशक उकालो लाग्यो। अहँ, बेपत्ता कान्छो छोरो घर फर्किएको छैन। न उसले घर आएर ‘बा–आमालाई कस्तो छ ?’ भनेर सोध्यो, न ऊ आफू कुन हालतमा छ भन्ने खबर नै पठायो। कान्छो छोरो फर्किने आसमा वृद्ध दम्पती अरू सन्तानसँग बस्न चाहेनन्। साँझ–बिहान उनीहरूका आँखाअघि त्यही छोरोको बिम्ब आउँछ तर अगाडि आइपुगेको जवान छोरो आँखा झिम्क्याउनेबित्तिकै गायब भइदिन्छ। तैपनि आस मरेको छैन, २६ वर्षको लाउँलाउँ–खाउँखाउँ उमेरको छोरो एक दिन अवश्य फर्किन्छ भन्ने। यो दम्पत्तीको कान्छा छोरा गोकुल निरौला परिवारको सम्पर्कमा नरहेको १६ वर्ष भयो। गोकुललाई खोज्न निरौला परिवारले केसम्म गरेन, तर सबै प्रयास निराशामा बदलिए। गोकुलका माइला दाजु टठबहादुर भन्छन्, ‘गर्नेजति गरिसकियो, भन्ने ठाउँजति सबै भनिसकियो, भाइको कतै छायासम्म पाउन सकिएन।’
राज्यले सशस्त्र–द्वन्द्वका बेला बेपत्ता भएका परिवारलाई राहतका रूपमा बाँडेको १० लाख रूपैयाँ निरौला परिवारले पनि नपाएको होइन। तर बेपत्ता छोराकै मायाले परिवारलाई त्यो पैसा खर्च गर्न हात लाग्दैन। ‘त्यो पैसो त कान्छा छोराको जिउजस्तो लाग्छ, चुँडाउन खोजे उसलाई दुख्छ, रगत आउँछ कि जस्तो हुन्छ,’ वृद्धा देवकादेवीले गहभरि आँसु पार्दै भनिन्। कान्छो छोरो फर्किएपछि उसैलाई त्यो रकम जिम्मा दिने सपना छ ज्ञानबहादुर र देवकादेवीको। हरेक वर्ष दसैं आउँछ, तिहार आउँछ, घरमा शुभकार्य हुन्छ ज्ञानबहादुर र देवकादेवीका आँखाअघि आइदिन्छन् कान्छा छोरा। गला अवरुद्ध गर्दै ज्ञानबहादुर भन्छन्, ‘बरु कोही म-यो भने उसको सम्झना हराउँथ्यो होला, बेपत्ता मान्छेचाहिँ कुनबेला टुप्लुक्क आइपुग्छजस्तो लागिरहन्छ।
गोकुल २०५१ सालतिर पढ्ने सिलसिलामा काठमाडौं पसेका थिए। त्रिचन्द्र कलेजमा पढ्दा–पढ्दै गोकुलले स्कुल पढाउने जागिरसमेत पाएपछि परिवारलाई आर्थिक रूपमा केही सहज भएको थियो। तर नेकपा संयुक्त माक्र्सवादीको कार्यकर्ता रहेका गोकुलले अकस्मात तत्कालीन विद्रोही माओवादीमा प्रवेश गरे। ती दिनमा सरकार–माओवादी भिडन्त, पक्राउ, हत्याका समाचार ‘सामान्य’ बनेका थिए। तर सामान्य भनिए पनि २०६३ जेठ १३ गते शुक्रबार एउटा पत्रिकामा छापिएको समाचारले निरौला परिवारलाई यस्तो पीडा दियो कि अहिलेसम्म यो परिवार त्यसकै सेरोफेरोमा रुमल्लिरहेको छ। निरौला परिवारमा बज्रपात हुनेगरी छापिएको त्यो समाचारअनुसार तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरेका ४९ व्यक्तिमध्ये अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सदस्य गोकुल निरौलाको नाम ३१ नम्बरमा थियो।
२०६० साल असार ५ मा माइली भाउजूको काजकिरियापछि घरबाट काठमाडौं फर्केका गोकुललाई बाबु–आमाले देखेको अन्तिम दिन त्यही हो। भूमिगत रहेका गोकुललाई तत्कालीन नेपाली सेनाको भैरवनाथ गणले काठमाडौंबाटै पक्राउ गरेको नरबहादुरले बताए। ‘२०६० सालमा पक्राउ गरेर भाइलाई भैरवनाथ गणमा राखिएको सुने पनि परिवारले भेट्न, देख्न पाएनन्,’ नरबहादुर भन्छन्, ‘बरु हिरासतमा ठिकै थियो, भाइ जिउँदै छ भन्नेमा ढुक्क थियो तर उसलाई बेपत्ता पारिएको खबरले चाहिँ ज्यादै पीडा भएको छ।’
गोकुललाई काठमाडौंको खसीबजारबाट सेनाले पक्राउ गरेको भन्नेसम्म सुने पनि कहाँबाट, कसरी पक्राउ गरियो थियो भन्ने चाहिँ परिवारलाई अहिलेसम्म थाहा छैन। ‘सबै दाजु–भाइ र परिवारले आफ्नो बलबुताले भ्याएसम्म भाइको खोजी गरिरहेका छौं,’ टठबहादुर भन्छन्, ‘बेपत्ताकै नाममा आयोग बन्दा न्याय पाइएला कि भन्ने थियो तर अब आयोगको पनि विश्वासमात्र गरिदिनुपर्ने भएको छ।’
अन्योल र दुःखसँगसँगै
दिनेश सुवेदी, रोल्पा
२०५८ साल असारमा पति धनबहादुर रोका बेपत्ता परिँदा ३० वर्षकी थिइन्, थवाङ गाउँपालिका–५ मिरुलकी दिलकुमारी रोका। जेठी छोरी पवित्रा साढे तीन वर्षकी, छोरा वसन्त दुई वर्षको अनि कान्छो रामचन्द्र जन्मिएको १६ दिनमात्र भएको थियो।
रोल्पा सदरमुकाम लिबाङदेखि २६ कोस टाढा मिरुलकी दिलकुमारी पति बेपत्ता भएको १९ वर्ष पुग्दासम्म पनि अन्योलमा छिन्। कसोकसो आउँछन् कि भन्ने आशा पलाए पनि मनको कुनाले आउँदैनन् भन्ने दबाब बढी दिन थालेको छ अचेल।
धनहादुरलाई २०५८ साल असारमा तत्कालीन माओवादीले प्युठानको भिङग्री जलुकेबाट अपहरण गरी लगेपछि जिउदो त फर्काएनन नै लास समेत दिएनन्। धनबहादुर २०५८ सालमा काम विशेषले रोल्पा सदरमुकाम लिबाङ आएका बेला कार्यक्षेत्रमा फर्कदै गर्दा अपहरण परेका थिए। रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र सुर्खेतमा कार्यरत धनबहादुर खाममगर भाषाका समाचार उत्पादक तथा वाचक थिए। पति बेपत्ता भएपछि उनी फर्किने आसैआसमा १९ वर्ष बिताएकी दिलकुमारीलाई पति बेपत्ता पारिनुको कारण थाहा छैन। वर्षौ पति आउने प्रतिक्षामा बसेकी दिलकुमारीको जीवन यतिखेर एकतमासको बनेको छ।
त्यसो त धनबहादुरका बुबा मनबहादुर रोकालाई पनि माओवादीले २०५३ साल कात्तिक ३० गते आफ्नै घरमा गोली हानेर हत्या गरेका थिए। ‘हाम्रो भर्खर बिहे भएको थियो। माइती मान्न पल्लो गाउँ गएका थियौं। माओवादी घरमा आएछन्। ससुरालाई गोली हानेर मारेछन्। अनि उहाँ (धनबहादुर) भन्नठानेर उहाँको फुपाजुलाई पनि मारेछन्। देवरलाई पनि खुकुरीले छियाछिया पारेका थिए। सासू चाहिँ काम्लोले ढाकिएर कसरीकसरी बच्नुभएछ।’ पतिलाई पहिले नै माओवादीले मार्न खोजेको दिलकुमारी सुनाउछिन्।
अर्को दिन आएको हेलिकप्टरले देवरलाई उपचारका लागि नेपालगन्ज पु-याएपछि बल्लबल्ल बाँचे। त्यसपछि विस्थापित भएका धनबहादुरको परिवार प्रहरी चौकी भएको क्षेत्र वरपर डेरा गरी बस्न थाले। ‘त्यो दुर्दान्त दृश्य देखेर सासू रातभरि चिच्चाउनुभएछ। भोलिपल्ट हामी आउँदा देवरलाई हेलिकोप्टरबाट लगिसकेका थिए। पहिला माओवादीले जलाइदिएको घर फेरि छिमेकीको सहयोगमा ससुराले जसोतसो बनाउनुभएको थियो। त्यही घरमा ससुरालाई मारिसकेपछि टुटुमा (चौकी रहेको गाउँ) बस्न थाल्यौं,’ दिलकुमारीले स्मरण गरिन्। ‘चौकीनजिक बस्थ्यौं। उहाँ लुक्दै काम गर्नुहुन्थ्यो,’ विगतको स्मरण गर्दै दिलकुमारीले भनिन्, ‘कहिले राति लुकेर आउनुहुन्थ्यो। कति दिन त भोकभोकै लुक्नुभयो।’
पछि सशस्त्र–द्वन्द्व चर्किने क्रममा टुटुस्थित प्रहरी चौकी उठेपछि धनबहादुर सुर्खेततिर लागे। दिलकुमारी पनि सासु र छोराछोरी बोकेर माइत पुगिन्। ‘२ जनाको ज्यान मार्ने घरमा बस्नै सकिनँ। अलि वर्षपछि घर बेचेर माइतीको जग्गामा ओत लाग्ने छाप्रो बनाएँ। त्यही पैसा छोराछोरीका लागि खर्च गरेँ। आफ्नो भन्ने त अलिकति जग्गा छ। त्यसैमा दाइभाइको सहयोगमा मकै रोप्छुु। पुगेको खान्छु। छिमेकीको काम गर्छु। भांगोको धागो कात्छु। बेच्छु।’
अहिले सासू दाङमा बिजुलीको वाइरिङ गर्दै जीविका चलाइरहेको कान्छो छोरासँग छिन्। धनबहादुरकी जेठी छोरी पवित्रा दाङमा डिप्लोमा पढ्दैछिन्। उनलाई बाबाको याद धमिलोधमिलो आउँछ। ‘सपना जस्तो कस्तो कसो धमिलो याद आउँछ।’ उनीसँग कल्पनाको यादमात्र छ। एल्बममा धनबहादुरले रेडियोमा काम गर्दा खिचेर धुलाएको एउटा फोटो छ। त्योबाहेक बाबाको याद आउने केही छैन पवित्रासँग। बाबाको सम्झनाभन्दा पनि आमाको दुःख सम्झिएर भक्कानिँदै उनले भनिन् ‘सानोतिनो काम पाए त दुई–चार रूपैयाँ हुन्थ्यो। आमालाई भुल्ने बाटो नि हुन्थ्यो।’
प्रकाशित: १ फाल्गुन २०७६ ०२:१७ बिहीबार