समाज

चिकित्सक संघको अध्यक्षमा डा. कार्की

काठमाडौं – नेपाल चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्की निर्वाचित भएका छन्। संघको २८ औं कार्यकारिणी समितिका लागि भएको निर्वाचनमा लोकतान्त्रिक समूहबाट उम्मेदवार रहेका डा. कार्की चार हजार एक सय ४१ मत ल्याएर विजयी भएका हुन्। यसभन्दा अघि कार्यकारिणी समितिका महासचिवसमेत रहेका उनले समावेशी पेशागत समूहका उम्मेदवार डा. पुष्पमणी खरालको भन्दा दुई हजार एक सय ३२ मत बढी ल्याएको निर्वाचन समितिले जनाएको छ।

६ हजार एक सय ५७ मत खसेकोमा प्रतिद्वन्दी डा. पुष्पमणी खरालले एक हजार ९ सय ७९ मत मात्रै प्राप्त गरेका थिए। १३ सदस्यीय समितिका लागि भएको निर्वाचनमा एक सदस्यमाबाहेक अन्य सबै पदमा कार्की नेतृत्वको लोकतान्त्रिक समूहका उम्मेदवार विजयी भएको प्रमुख निर्वाचन अधिकृत डा. बाबुराम मरासिनीले जानकारी दिए।

लोकतान्त्रिक समूहबाट संघको वरिष्ठ उपाध्यक्षमा डा. शिवप्रसाद श्रेष्ठ, उपाध्यक्ष डा. अनिलबिक्रम कार्की, महासचिव डा. बद्री रिजाल, सहसचिवमा डा. निरजकुमार सिंह, कोषाध्यक्ष डा. प्रकाश बुढाथोकी र सहकोषाध्यक्ष डा. विश्वराज दवाडीले निर्वाचित भएका छन्। सदस्यहरूमा डा. रितेश थापा र डा. सञ्जीव तिवारी, डा. विपेश आचार्य, डा. नन्दकुमारी गुरुङ र डा. प्रमोद जोशी निर्वाचित भएका हुन्। समावेशी पेशागत समूहका उम्मेदवार लिजन महर्जन विजयी पनि सदस्यमा निर्वाचित भएको मुख्य निर्वाचिन अधिकृत मरासिनीले जानकारी दिए।

नवनिर्वाचित अध्यक्ष डा. काकीले नेपाल मेडिकल काउन्सिलले सञ्चालन गर्दै आएको सिपिडी कार्यक्रम पुनः चिकित्सक संघमा नै फर्काउने प्रतिवद्धता व्यक्त गरेका छन्। संघका पूर्वअध्यक्ष केदारनरसिंह केशीले सिपिडी कार्यक्रम संघले नै सञ्चालन गर्नुपर्ने धारणा राखे लगत्तै उनले उक्त कार्यक्रम संघमा फिर्ता ल्याउने प्रतिवद्धता व्यक्त गरेका हुन्।

निर्वाचित भएसँगै आफूमाथि खुसी र जिम्मेवारी एक साथ थपिएकाले पेशागत सुरक्षा र वृत्ति विकास आफ्नो प्राथमिकता रहने उनको भनाइ थियो। अब आफू कुनै पनि प्यानल वा जातविशेषको मात्रै नभई सम्पूर्ण चिकित्सकको नेतृत्व भएको बताए। डा. कार्कीले जात, गुट र प्यानल सबै छोडेर पेशागत हकहितमा काम गर्ने स्पष्ट पारे।

कार्यक्रममा पूर्वअध्यक्षहरू चोपलाल भुषाल, आनन्दप्रसाद श्रेष्ठगायतले चिकित्सा पेशालाई म-यादित र सुरक्षित बनाउनका लागि नयाँ कार्यसमितिले भूमिका खेल्नुपर्ने सुझाव दिएका छन्। सबैको भावनालाई समेटेर काम गर्न नयाँ नेतृच्वलाई उनीहरूको सुझाव थियो। आगामी फागुन १५ गते पोखरामा हुने चिकित्सक सम्मेलनबाट नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरिने भएको छ।

प्रकाशित: २९ माघ २०७६ ०३:१५ बुधबार

चिकित्सक_संघ डा._लोचन_कार्की निर्वाचित