समाज

१२ दिनदेखि बेपत्ता युवक मृत भेटिए

बाजुरा- १२ दिनदेखि बेपत्ता युवक मृत भेटिएका छन्। बडीमालिका नगरपालिका–८ मा पर्ने चल्यासैनका डाँडाको लेकमा खप्तड छेडेदह गाउँपालिका–१ काँडा घर भएका अन्दाजी ४५ वर्षीय गोरे विक मृत भेटिएका हुन्। विक १२ दिनदेखि बेपत्ता रहेको प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिएका छन्। उनको शव १३ औं दिनमा भेटिएको हो।

मानसिक सन्तुलन गुमाएका विक बडिमालिका ८ को लेकमा मृत भेटिएका थिए। उनी १२ दिनदेखि परिवारको सम्पर्क बाहिर थिए। लेकमा हिउँको चिसोका कारण मृत्यु भएको आशंका गरिएको छ।

उनको शव हुम्लाबाट जडीबुडी संकलन गर्न आएका संकलनहरुले लेकमा भेटाएपछि प्रहरीलाई खबर गरेका थिए। मंगलबार बिहान प्रहरीको टोलीले शवको उद्दार गरेको हो। शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ।

प्रहरीका अनुसार घटनास्थलमा शवको पहिचान हुन नसकेर जिल्ला अस्पतालमा ल्याई आफन्तको सोधपुछपछि सनाखत गरिएको प्रहरीले बताएको छ। चार घण्टाको पैदल दुरीमा पर्ने चल्याडाँडाको लेकमा हिउँमै विकको शव भेटिएको प्रहरीले बताएको छ।

करिब १८०० फिटको उचाइमा सो डाँडा रहेको छ। प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाको टोली घटनास्थल पुगेर शव जिल्ला अस्पताल ल्याएको हो। मृतकको पोष्टमार्टमपछि आफन्तलाई बुझाउने प्रहरीले बताएको छ।

प्रकाशित: २८ माघ २०७६ १२:५४ मंगलबार

बेपत्ता_युवक मृत