समाज

घरेलु हतियारसहित एक युवक पक्राउ

बरामद भरुवा बन्दुक तथा घरेलु हतियारसँगै पक्राउ परेका युवक ।

डोल्पा- डोल्पामा घरेलु हतियारसहित एक जना युवक पक्राउ परेका छन्। ठूलीभेरी नगरपालिका–४ तिप्ला घर भएका २८ वर्षिय खड्कबहादुर रोकायालाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो।

वडा एरियामा हुन सक्ने विविध अपराधिक घटना तथा शान्ति सुरक्षा र वस्तुस्थिती बुझ्न प्रहरी सहायक निरीक्षक इन्द्रनाथ योगी र सशस्त्र प्रहरी बल नेपाल ४६ नं गुल्म दुनैका सहायक प्रहरी निरीक्षक हेमन्त लिम्बुको नेतृत्वमा गएको संयुक्त सुरक्षा गस्ती टोलीले ठूलीभेरीनगरपालिका २ मा पर्ने तिप्ला वनजङ्गलमा हिडिरहेको अवस्थामा भरुवा बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक नारायण रन्जितकारले नागरिकलाई बताए।

भरुवा बन्दुकसहित घरेलु चक्कु थान १, कालो रंगको बारुद जस्तो पदार्थ अन्दाजी ४८ ग्राम, पासो थान १, केफ थान ९, सिसाका छर्रा १९ थान समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। अबैद्य हतियारसहित पक्राउ गरिएका रोकायालाई हातहतियार तथा खरखजाना कसुर मुद्दामा जिल्ला अदालत दुनैबाट म्याद थप गरि अनुसन्धान जारि रहेको पनि जिप्रका डोल्पाले जनाएको छ।

पक्राउ गरिएका रोकायालाई मंगलबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको थियो।
 

 

प्रकाशित: २८ माघ २०७६ १२:४५ मंगलबार

घरेलु_हतियार पक्राउ