समाज

उदयपुरमा फागुन १ देखि दादुराविरुद्ध खोप अभियान

खोपबारे जानकारी दिँदै स्वास्थ्यकर्मी । तस्बिरः महेश्वर

उदयपुर- संक्रामक रोग दादुरा/रुवेलाविरुद्ध उदयपुरमा दुई चरणमा खोप अभियान चलाइने भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले पत्रकार सम्मेलनको आयोजना गरी आउदो फागुनमा दुई चरणमा खोप लगाउन अभियान चलाउने जानकारी दिएको हो।

जिल्ला जनस्वास्थ्य अधिकृत मोहनप्रसाद सुबेदीले जिल्लामा दादुरा र रुबेला रोग नियन्त्रण गर्ने उद्देश्यले खोप अभियान चलाउन लागिएको पत्रकार सम्मेलनमा बताए। उनले आउदो फागुन १ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने अभियान जिल्लाका ४ नगर र ४ गाउँपालिका सबैमा दुई चरणमा सञ्चालन गर्ने बताए।

उदयपुरमा ४ सय ९० वटा खोप केन्द्रमा सञ्चालन गरिने अभियानअन्तरगत ९ महिनादेखि ५ वर्षसम्म उमेर समूहका ३३ हजार ५ सय ७८ जना बालबालिकालाई खोप लगाउने कार्यक्रम जनस्वास्थ्य कार्यालयले बनाएको सुबेदीले बताए। खोप अभियान सञ्चालन गर्न ५ सय ३१ जना स्वास्थ्यकर्मी खटाइने छ भने ९ सय ६७ जना स्वयमसेविका परिचालन गरिने पनि अधिकृत सुबेदीले बताए।

अभियान सफल पार्न सुझाव लिन स्वास्थ्य कार्यालयले जिल्लामा क्रियासिल स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया आयोजना गरेको भन्दै सुबेदीले खोप अभियान सफल पार्न आग्रह गरेका छन्। पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार फागुन १ देखि ६ गतेसम्म कटारी नगरपालिका तथा उदयपुगढी र ताप्ली गाउँपालिकामा खोप लगाउने अभियान चलाइने छ। त्यस्तै १५ देखि २० गतेसम्म त्रियुगा, चौदण्दीगढी र बेलाका नगरपालिका तथा रौतामाई र लिमचुङबुङ गाउँपालिकामा खोप लगाइने छ।

कुनै पनि बालबालिकालाई खोप लगाउन नछुटोस् भनेर स्थानीयतहका प्रमुख, उपप्रमुखदेखि वडाध्यक्ष हुँदै सदस्यसम्मका जनप्रतिनिधिसँग समन्वय र सहकार्य गरिने स्वास्थ्य कार्यालयले जनाएको छ। एकजना मात्र बालबालिका खोप लिन छुटे पनि ठूलो घाटा हुने भएकाले कोही नछुटून् भनेर कार्डको व्यवस्था गरिएको छ। खोप लगाउन प्रयोग गरिने कार्डको अन्य महत्वपूर्ण काममा पनि प्रयोग हुने कार्यालयका खोप सुपरभाईजर चिरन्जिवी नेपालले बताए।

उनका अनुसार हाल २ वर्षभित्र बालबालिकालाई दिइदै आएको खोप ११ वटा रोगविरुद्धको मात्रै हो। आउँदो वैशाखदेखि भने झाडापखालाको पनि थपेर १२ वटा रोगविरुद्ध पनि खोप लगाउने व्यवस्था राज्य मिलाएको सुपरभाईजर नेपालले बताएका छन्।

पोलियोका बिरामी फेला
पत्रकार सम्मेलनमा पोलियोका बिरामी अझै भेटिएको जानकारी दिइयो। उयदपुरमा  पनि पोलियोका २ जना बिरामी फेला परेको जानकारी दिइयो। सुपरभाईजर नेपालका अनुसार १ नं. प्रदेशमा ५ सय ३१ जनामा पोलियोको संक्रमण देखिएको छ। तर, उदयपुरमा भने २ जना मात्रै पोलियो रोगी फेला परेका छन्।

सरकारले सबै रोगविरुद्ध बालबालिकालाई खोप दिने व्यवस्था गरेको भए पनि कतिपयले लापरबाही गर्दै खोप नदिँदा बालबालिकाहरुमा रोगको संक्रमण हुने खतरा रहेको प्रति कार्यक्रममा सचेत गराइएको थियो। रोगबाट बच्न अभिभावकहरुले आफ्ना नानीहरुलाई समयमै सबै खोप दिन पत्रकारमार्फत स्वास्थ्य कार्यालयले आग्रहसमेत गरेको छ।

 

प्रकाशित: २५ माघ २०७६ ०९:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App