समाज

वडाध्यक्षकाे संलग्नतामा नक्कली नागरिकता

काठमाडौं – वडाध्यक्ष र प्रहरीको मिलेमतोमा झुटा विवरण पेस गरी नागरिकता बनाउन खोजेको पाइएको छ। टोखा नगरपालिका–३ का वडाध्यक्ष सिंहराज श्रेष्ठले ठेगाना नखुलेकी एक युवतीको जन्मदर्ता बनाई, नक्कली आमाबुबा खडा गरी मिलेमतोमा वडाको सिफारिस बनाएर जिल्ला प्रशासन कार्यालयमा पठाएपछि छानबिन गर्दा कागजात नक्कली ठहरिएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार सिफारिसमा युवतीको नाम उर्मिला गुरुङ भनेर खुलाइएको छ। तर उनलाई नेपाली भाषा बोल्न नआएपछि जिप्रकाले शंका लागेर प्रहरी रिपोर्ट र सर्जिमिन विवरण मागेको थियो। प्रहरी रिपोर्टमा पनि युवतीको ठेगाना खुल्न नसकेको पाइएको छ। वडाध्यक्ष श्रेष्ठले माघ २० गते युवतीको जन्मदर्ता बनाइदिएका थिए। उनकै रोहवरमा बाबुआमासमेत नक्कली कायम गरिएको हो। बुबा रेशमलाल गुरुङ र आमा कल्पना गुरुङ भनेर कागजातमा उल्लेख छ। प्रहरी रिपोर्ट र युवतीको भाषा हेर्दा शंका लागेको सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले बताए। उनका अनुसार युवतीको ठेगामा तनहुँ आबुखैरेनी गाउँपालिका–१ भनी विवरणमा लेखिएको छ। अनुसन्धान गर्दा युवतीको घर भारतमा हुन सक्ने अनुमान छ।

‘जिल्ला प्रशासन कार्यालयले पुलिस रिपोर्ट सर्जिमिनको लागि पत्र पठाएको थियो, स्थलगत सर्जिमिनपछि नक्कली कागजात र पात्र खडा गरेको देखियो,’ उनले भने। उनका अनुसार कागजात बनाउँदा टोखाका इन्द्रकमली गुरुङ, रूपक गुरुङ, शोभा गुरुङ, देवबहादुर गुरुङ, मधुविलास अधिकारी, वडा सदस्य मुकुन्दराज कँुवरलगायत साक्षी बसेका थिए। त्यस्तै, महानगरीय प्रहरी वृत्त महाराजगन्जमा कार्यरत दुई प्रहरीसमेतको मिलोमतो देखिएको छ। जिल्ला प्रहरीले उनीहरूमाथि कारबाही थालेको प्रशासकीय अधिकृत खड्गबहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार उर्मिला, कल्पना, रेशमलाललगायतलाई प्रहरी परिसर टेकुमा कारबाहीका लागि पठाइएको छ।

प्रकाशित: २३ माघ २०७६ ०२:०४ बिहीबार

नक्कली_नागरिकता