समाज

द्वन्द्वपछि जागेको बुर्तिबाङ

द्वन्द्वपछि जागेको बाग्लुङको बुर्तिबाङको एक भाग। तस्बिरः गिरिराज/नागरिक

पाँचथर – बाग्लुङको डोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङमा द्वन्द्वको समयमा ५०/६० घर भएको सम्झना गर्छन्, स्थानीय। उनीहरूका अनुसार त्यो बेला घरहरू एकदमै कम थिए, व्यापार–व्यवसाय खासै थिएन। भएका घरहरूमा पनि एकदमै कम मान्छे बस्थे।

तर बुर्तिबाङ पहिलेको जस्तो गाउँ रहेन, सहर बनेको छ। नेपालमा शान्ति–प्रक्रिया अघि बढेपछि सहर पसेकाहरू गाउँ फर्किए। गाउँगाउँबाट बसाइ सरेर बुर्तिबाङ आउनेको संख्या बढ्यो। गाउँमा सडक आइपुग्यो, सरकारले नयाँ सहरका रूपमा बुर्तिबाङलाई विकास गर्ने घोषणा ग-यो।

अहिले ठूलाठूला घर, बैंक, वित्तीय संस्था, सुविधा–सम्पन्न होटलमात्र बनेका छैनन् घर बन्ने र सहरीकरण हुने क्रम पनि तीव्र छ। अहिले बुर्तिबाङमा हजारभन्दा धेरै घर बनिसकेका देखिन्छन्। अग्लाअग्ला थपिँदै, परम्परागत घर विस्थापित हुँदै गएका छन्। सहरी सुविधाहरू एकपछि अर्को जोडिँदै छन्। बाग्लुङ सदरमुकामदेखि ९० किलोमिटर पर मध्यपहाडी लोकमार्गको छोएको यो बजार शान्ति–प्रक्रियापछि जागेको हो। द्वन्द्वमा थातथलो छोडेकाहरू पुनः फर्किए, अन्य गाउँबाटसमेत बसाइ सरेर मान्छेहरू थपिए।

द्वन्द्वको समयमा वैदेशिक रोजगारीमा रहेका झगबहादुर शाहीले फर्किएपछि जग्गा किनेर होटल खोले। ‘शान्ति प्रक्रियापछि गाउँमै बस्ने रहर लाग्यो। कमाएको पैसा लगानी गरेर होटल खोलेको हुँ। जग्गा र होटलका लागि डेढ करोडको लगानी गरें’ स्काई होटलका सञ्चालक रहेका शाहीले भने, ‘चहलपहल यहीं छ। सरकारी काम पनि यहीं हुने हुँदा निकै सजिलो भएको छ।’

दरम खोलाको काखमा रहेको यो ग्रामीण बजार शान्ति प्रक्रियापछि सहरमा परिणत भएको हो। स्थानीयका अनुसार २०६५ पछि यहाँ सहरीकरण सुरु भयो। पक्की घरहरू बनाउने क्रम तीव्र हुनुका साथै सुविधाहरू थपिने क्रम अझै जारी छ। शान्ति–प्रक्रिया सुरु भएपछि बुर्तिवाङ विकसित भएको मेयर देवकमुार नेपाली बताउँछन्। ‘द्वन्द्वका समयमा यहाँका अधिकतर बासिन्दा बाहिर थिए। शान्ति–प्रक्रिया सुरु भएसँगै सहरमा ह्वात्तै परिवर्तन आयो। यी नयाँ किसिमका घर, होटल, बैंक तथा अन्य विकासका कामहरू पछिल्लो १० वर्षमा भएका हुन,’ उनले भने, ‘नगरपालिकामा जनप्रतिनिधि भएपछि थप सुविधा विस्तारका लागि काम गरिरहेका छौं।’

जग्गाको भाउ बढेर थामिनसक्नु भएको छ। स्थानीयका अनुसार बाटोले छोएको क्षेत्रमा एउटा घरेडी ८० लाखदेखि एक करोड रुपैयाँसम्म पर्छ। सरकारले मध्यपहाडी लोकमार्गले छोएका १० नगरपालिकालाई नयाँ सहर बनाउने घोषणा गरेसँगै यहाँ चहलपलह बढ्यो।

अचेल आधारभूत सरकारी कामकाज यहीं हुन थालेको छ। नागरिकता, पासपोर्ट लागि सदरमुकाम पुग्नुपर्दैन। नापी, मालपोतजस्ता कार्यालय गाउँमै छन्। ढोरपाटन नगरपालिकाका साथै निशिखोला, दामनखोला, बढिगाउँ गाउँपालिकाको व्यापारिक केन्द्रका रूपमा रहेकाले पनि बुर्तिबाङमा निकै चहलपहल देखिन्छ। व्यापारिक केन्द्रको हिसाबले बुर्तिबाङमा तीव्र सहरीकरण भएको उद्योग वाणिज्य संघ बुर्तिबाङका महासचिव राम सुवेदी बताउँछन्। द्वन्द्वपछि बुर्तिवाङको मुहर फेरिएको उनको भनाइ छ। नयाँ सहरको हल्लाले पनि सहर छिटो विकास भएको सुवेदी बताउँछन्। उनकाअनुसार बुर्तिबाङमा आठवटा बैंक भित्रिइसकेका छन्।

ठूला सहरमा पाइने प्रायः उपभोग्य सामग्रीहरू यहीं पाइन्छ। सडक विस्तारले थप सहयोग गरेको सुवेदीले सुनाए। स्नातकसम्म पढाइ हुने निशिभुजी जनता क्याम्पस सञ्चालनमा रहेको छ। गाउँबाट सहर आउने क्रम बढिरहेको छ। नयाँनयाँ निर्माणका कामहरू भइरहेका छन्। खानेपानी, बिजुलीको काम भइरहेको मेयर नेपालीले बताए। पाँच किलोमिटर टाढाको मुहानबाट अढाई करोड रुपैयाँ बजेट खर्चिएर खानेपानी आयोजनाको काम भइरहेको उनले बताए। अस्पताल स्तरोन्नति गर्ने विषयमा भने सुनुवाइ नभएको उनको गुनासो सुनाए। नयाँ सहर बनाउने भनिए पनि उक्त आयोजनाअन्तर्गतको काम भने चित्तबुझ्दो नभएको नेपालीले बताए।

बाग्लुङदेखि यहाँ आउने सडकका केही भागमा कालोपत्रे भएको छैन। कालोपत्रे हुने हो भने थप सजिलो हुने स्थानीयको भनाइ छ। यहीको बाटो भएर ढोरपाटन राष्ट्रिय निकुञ्जमा पर्यटक लैजाने रहरमा छन्, बुर्तिबाङबासी। खाद्यान्न, लत्ताकपडामात्र हैन अन्य आधुनिक प्रविधिका सामग्री पनि यहीं पाइने भएकाले सहज भएको शाही बताउँछन्। सुविधा–सम्पन्न होटल तथा मार्टहरू खुल्ने क्रम बढिरहेको छ। नयाँ घर बनाउने होडबाजी नै चलेको छ।

प्रकाशित: २२ माघ २०७६ ०१:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App