समाज

भक्तपुरमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

भक्तपुर- ‘म हुँ, म गर्छु’ भन्ने मूल नाराका साथ भक्तपुरमा मंगलबार जनचेतनामूलक कार्यक्रम गरिएको छ। भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा विश्व क्यान्सर दिवसको अवसरमा अस्पताल प्रांगणमा कार्यक्रम गरिएको हो।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं नगरपालिकाबाट गठित भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले नगरपालिकाले सञ्चालन गरिरहेको घरदैलो नर्सिङ सेवाको स्वास्थ्य प्रतिवेदन अनुरुप भक्तपुरमा नसर्ने रोगको जोखिम बढिरहेको बताए।

भक्तपुर क्यानसर अस्पतालका मेडिकल डाइरेक्टर ऋषिकेशनारायण श्रेष्ठले क्यान्सर रोगको जोखिम कम गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालनको आवश्यकता औंल्याए। सरकारले विपन्न तथा गरिबलाई दिँदै आएको आर्थिक सहयोगको साटो निःशुल्क क्यान्सर उपचार सेवा प्रदान गर्नुपर्नेमा उनले जोड दिए।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतम, भक्तपुर क्यान्सर अस्पतालका डा. रोशन प्रजापति, डा. मुना कार्कीले पनि क्यान्सरका विविध पक्षबारे सचेत पारे। कार्यक्रममा अस्पतालका नर्स तथा चिकित्सकहरुले जनचेतनामूलक नृत्य, नाटक, गीतलगायतका सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरेका थिए।

 

प्रकाशित: २१ माघ २०७६ १०:३२ मंगलबार

विश्व_क्यान्सर_दिवस कार्यक्रम