समाज

खोटाङकाे जन्तेढुङ्गा गाउँपालिका गुनासोरहित बन्दै

खोटाङ - खोटाङकाे जन्तेढुङ्गा गाउँपालिकाका स्थानीयवासी एवं सरोकारवालाले गाउँपालिकाले योजना छनोट गर्दा दिगो विकासमा जोड दिनुपर्ने सुझाव दिएका छन्। गाउँपालिकाले शनिबार चिसापानीमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले दिगो विकासले मात्र जनताको जीवनस्तर माथि उठ्ने औल्याए। 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सदस्य वीरवल किराँतीले आगामी दिनमा योजना छनोट गर्दा जनताको आधारभूत विषयवस्तुलाई आधार मान्नुपर्नेमा जोड दिए। नेपाली काँग्रेस गाउँपालिका उपसभापति प्रीतिराज भट्टराईले आगामी दिनमा दीर्घकालीन योजना छनोट गर्न सुझाव दिँदै यस्ता योजनाले मात्र जनताको जीवनस्तर माथि उठ्ने बताए ।

चिसापानीस्थित हाटडाँडामा भएको सो कार्यक्रममा समाजवादी पार्टी नेपालका प्रदेशसभा सदस्य देवेन्द्र श्रेष्ठले देशमा सङ्घीयता लागू भएपछि बजेट अधिक मात्रामा आए पनि दिगो विकास हुन नसकेको आरोप लगाए। स्थानीय शिक्षक सीताराम कार्कीले गाउँपालिकाको लगानी उपयुक्त ठाउँमा नभएको जिकिर गरे। छ वडा रहेको उक्त गाउँपालिकाका सबै वडाध्यक्ष तथा गाउँपालिका प्रमुखले गत साउनदेखि पुस मसान्तभित्र आफूले गरेको प्रगति विवरण पेश गरेका थिए। गाउँपालिकामा आएको रु २८ करोड ८४ लाख ८६ हजार बजेटमध्ये ३३ दशमलव ६६ प्रतिशत खर्च भएको र आगामी आर्थिक वर्षको मसान्तसम्म खर्च गरिसक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईंले जानकारी दिए।

गाउँपालिका प्रमुख शङ्करबहादुर राईले आगामी दिनमा सबैको समस्या समाधान गर्दै गुनासोरहित गाउँपालिका बनाउनेतर्फ आफूहरु गम्भीर रहेको बताए। “गाउँपालिकामा दरबन्दीअनुसार कर्मचारी छैनन्” उनले भने, “कर्मचारी अभाव भए पनि जनताको काम र विकास निर्माणमा असर पु-याएका छैनौँ। आगामी दिनमा सबै समस्या समाधान गर्नेगरी गाउँपालिकाको तर्फबाट योजना निर्माण गरिरहेका छौँ।”

सो अवसरमा वडा नं ५ घोरेडाँडास्थित पृथ्वी आधारभूत विद्यालयलाई गाउँपालिकाभित्र सञ्चालित ३६ विद्यालयमध्ये सबैभन्दा उत्कृष्ट रहेको जनाउँदै प्रोत्साहनस्वरुप नगद रु पाँच हजार १११ सहित कदरपत्रले सम्मान गरिएको थियो।

प्रकाशित: १९ माघ २०७६ ०६:०८ आइतबार

जन्तेढुङ्गा_गाउँपालिका सरोकारवाला