समाज

पोखरी मासेर स्थानीय सरकारको भवन !

तिलोत्तमा ११ मा रहेको सार्वजनिक पोखरीमा वडा भवन बनाउन डोजर लगाइदै। तस्विर : रेखा

बुटवल- प्रदेश र केही स्थानीय  सरकारहरुले समेत एक गाँउ एक पोखरीको अवधारणा अनुरुप कृतीम पोखरी निर्माण गरीरहेका  बेला रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भएको पोखरी मासेर भौतिक संरचना बनाउँदै छ। सार्वजनिक तालतलैया तथा पोखरी संरक्षणको दायित्व स्थानीय सरकारको हो। तर तिलोत्तमाले नमुना काम देखाउने लहडमा वडा नं ११ को सार्वजनिक पोखरी माथि पिल्लर उठाएर वडा कार्यालय बनाउन लागेको हो।

तिलोत्तमा ११ स्थिती मन्द्रहानी गाँउको बिच भागमा रहेको पोखरी १७ कठ्ठा क्षेत्रफलमा फैलीएको छ। स्थानीय ७३ बर्षे झलक शर्माका अनुसार तीन दशक अघिसम्म यो पोखरी अहिले भन्दा दोब्बर ठूलो थियो। बढ्दो बस्तिसँगै पोखरी अतिक्रमणमा पर्यो। झण्डै २ बिगाहमा फैलिएको पोखरी १६/१७ कठ्ठामा खुम्चियो। त्यही सागुरीएको पोखरीमा स्थानीय सरकारले  पोखरी माथि भवन बनाउँदै छ। यसअघि स्थानीय र तत्कालिन गाविसको सक्रियतामा संरक्षण गरीएको पोखरी अतिक्रमण नगर्न पटक पटक आग्रह गरीएपनि वडाध्यक्ष र नगरप्रमुखले स्थानीयको मागलाई वेवास्ता गरेको वडाबासी नबिनराज आर्चायले बताए। पोखरी वरपरका नेकपाका केही नेता कार्यकर्ताकै लगावमा वडा कार्यालय बनाउन लागेको दावी स्थानीयले गरेका छन्।

वडाध्यक्ष मुक्तिनारायण चौधरीले पनि घुमाउरो भाषामा वडा कार्यालय पोखरीमै बनाउनु बाध्यता भएको सुनाए। ‘मेरो योजना पोखरीलाई सिगारेर पर्यटकीय क्षेत्र बनाउने थियो। तर पछि पोखरी माथि नमुना भवन बनाउँ भन्ने प्रस्ताव आएपछि स्वीकारेको हुँ’ चौधरीले भने। पोखरीदेखि करिब ५० मिटर दुरीको सार्वजनिक जग्गामा भवन बनाउन आफुले प्रस्ताव गरेपनि इन्जिनीयरले जग्गा उपयुक्त नभएको बहाना बनाएपछि पोखरीलाई विकल्पका रुपमा सारीएको चौधरीको भनाइ छ। ‘मैले प्रस्ताव गरेको जग्गामा स्वास्थ्य चौकीको भवन बन्दैछ। ‘जग्गाको चौडाइ नपुगे दुई तले बनाम, पार्कीङ शौचालयकालागि अगाडि प्रसस्त जग्गा छ भन्दा पनि इन्जिनीयरले मान्दै मानेन’वडाध्यक्ष चौधरीले भने।

नगरपालिकाका योजना प्रमुख इन्जिनीयर प्रदिप वनले भने जनप्रतिनिधिको निर्देशन बिना आफुले कुनैपनि काम गर्न नसक्ने बताए। ‘इन्जिनीयरिङ्गको पाटोबाट बस्तुस्थिती बारे यर्थात जानकारी गराउने हो। मुख्य निर्णय नगरप्रमुख तथा जनप्रतिनिधिहरुकै हो’ बनले भने। वडाध्यक्षले प्रस्ताव गरेको जग्गामा दुवै तर्फ कुलो परेकाले सकेसम्म अन्यत्र बनाउन उपयुक्त हुने सल्लाह मात्रै दिएको उनले बताए।

नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले यसलाई नमुना भवनको रुपमा अर्थ्याए। ‘नेपालकै पहिलो नमुना भवन बनाउँदै छौ। माथि सेवा भवन,तल पोखरी हुने छ। जहाँ बोटिङ, चिल्ड्रेन र्पाक,फुल बिरुवा सहितको हरियाली बनाउने योजना छ’ नगरप्रमुख घिमिरेले भने। उनका अनुसार गत बर्ष पोखरी संरक्षणकालागि ५० लाख खर्च गरेर रिटेनिङ वाल लगाइयो। यसपाली १ करोड २५ लाख खर्च गरेर पाँच कोठे सेवा भवन बन्नेछ। भवनमा पुग्न १५ फुटको पुल बन्ने छ। शौचालयको सेफ्टी ट्याङ्की पोखरीकै डिलमा बनाइने इन्जिनीयर बनले बताए। पोखरी माथि बनाइने भवनले पोखरीलाई कुनै असर नगर्नै बरु पर्यटर्कीय अकर्षण बढने नगरप्रमुखको दावी छ।

तर स्थानीयले भने वडा भवनमा काम लिएर आउनेहरुको भिड हेर्न कोही पनि पर्यटक नआउने बताउँछन्। ‘पर्यटक तान्न सान्त, प्राकृतिक र रमणीय स्थल चाहिन्छ। वडा कार्यालयको भिडभाड हेर्न आन्तरिक पर्यटक आउँछन भनेर प्रचार गर्नु बेकार हो’ नविनराज आर्चायले भने। अर्का स्थानीय तेजबहादुर कुँवरले वडामा प्रसस्त सरकारी जग्गा हुँदाहँदै नमुना बन्ने लहडमा पोखरीमै आँखा गाडेको आरोप लगाए। ‘हामीले धेरै पटक वडाध्यक्षलाई भन्यौं। अनुरोध गर्यौ तर सुनुवाइनै हुँदैन’  कुँवरले भने। दिर्घकालिन रुपमा यो योजना उपयुक्त नभएको उनको दावी छ। पोखरीको बिचमा वडा भवनको साटो मन्दिर या आकर्षक संरचना बनाएर ग्रामीण पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु पर्नेमा उनले जोड दिए।  नगरप्रमुख घिमिरेले भने कसैले बिरोध गर्दैमा केही फरक नपर्ने प्रतिक्रिया दिए।

यो  पोखरी नजिकै मायादेवि र प्रजापतीका मुर्ती सहितको मन्दिर तथा बुद्धकालिन कुवा पनि रहेकाले त्यससगै जोडेर ग्रामीण पर्यटन विकासको योजना बनाउन आग्रह गर्दागर्दै नगरपालिकाले आफना केही नेता कार्यकर्ताको स्वार्थमा बाधिएर पोखरी माथि वडा कार्यालय बनाउन थालेको गुनासो स्थानीयले गरेका हुन।

 

प्रकाशित: १६ माघ २०७६ ०६:१४ बिहीबार

पोखरी स्थानीय_सरकार भवन