समाज

आकाशे पुल र जेब्रा क्रसिङ प्रयोगमा जोड

कविराज कार्की

काठमाडाैं - महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा यात्रुलाई जेब्राक्रसिङ र आकाशे पुलबाट मात्र बाटो काट्न आग्रह गरेको छ। महाशाखाले केही दिनदेखि पैदलयात्रुलाई लक्षित गरी सडकको सुरक्षित प्रयोगका लागि सचेतना अभियान चलाइरहेको छ।

पुस २८ देखि सुरु भएको सचेतना अभियानमा दुई हजार नौ सय ६३ यात्रुलाई सम्झाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। महाशाखाका एसएसपी भीमप्रसाद ढकालले उपत्यकाका सडकमा सवारी दुर्घटना कम नभएसम्म अभियान जारी राख्ने बताए। पैदलयात्रुले आकाशे पुल र जेब्रा क्रसिङ प्रयोग गरे दुर्घटना घट्ने र यात्रा सफल हुने उनले बताए।

ट्राफिक प्रहरीले पैदलयात्री रमेश विकलाई मंगलबार रत्नपार्कस्थित सडक पार गर्ने क्रममा ट्राफिक प्रहरीले केहीबेर नियन्त्रणमा लिएर आकाशे पुल र जेब्रा क्रसिङ प्रयोगबारे सचेत गराए। ट्राफिक प्रहरीबाट छुटेसँगै विकले सडक प्रयोगसम्बन्धी सिकेका कुरालाई आफूले इमानदार भई व्यवहारमा उतार्ने र परिवारजन तथा छिमेकीलाई पनि सिकाउने प्रतिबद्धता व्यक्त गरे। आकाशे पुलबाट सडक पार गर्दा सुरक्षित हुने र ट्राफिक प्रहरीको सचेतना अभियानले लाभ पुग्ने बताए। आकाशे पुल तथा जेब्रा क्रसिङको दूरी टाढा भए पनि सुरक्षका लागि ५÷१० मिनेट हिँड्न ग्राह्रो मान्न नहुने महसुस भएको प्रतिक्रिया उनले दिए।

पैदलयात्रुहरूलाई सुरक्षित यात्रा गराउन बाटो काट्दा होसियारी अपनाउनुपर्ने ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब निरीक्षक गोविन्द बस्नेतले बताए। ‘पैदलयात्रुका हितलाई ध्यानमा राख्दै सचेतना अभियानमा निरन्तर लागिरहेका छौं,’ उनले भने, ‘सचेतना अभियान प्रभावकारी बनेको पाइएको छ।’

सडक विभागले पैदलयात्रुकै सुरक्षाका लागि ठाउँठाउँमा आकाशे पुल तथा जेब्रा क्रसिङ राखिएको बस्नेतले जानकारी दिए। ‘जेब्राक्रसिङ आएपछि दायाँबायाँ सडकमा मानिस जम्मा भएपछि मात्र बाटो काट्न तयार हुनुपर्छ,’ उनले भने, ‘गाडी रोकिएपछि मात्र गन्तव्यतर्फ लाग्नुपर्छ।’ जेब्रा क्रसिङ हुँदाहुँदै असावधानीका कारण राजधानीमा केही पैदलयात्रुले ज्यानसमेत गुमाउनुपरेको महाशाखाले जनाएको छ।

प्रकाशित: ९ माघ २०७६ ०१:३१ बिहीबार

आकाशे_पुल जेब्रा_क्रसिङ ट्राफिक_प्रहरी