समाज

शान्ति सुरक्षामा कमी आउन दिन्न : एसपी सिग्देल

सिन्धुलीमा पहिलो पटक महिला प्रहरी प्रमुखको रुपमा सरुवा भई आएकी जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी रञ्जु सिंग्देल ।

सिन्धुली- सिन्धुलीमा पहिलो पटक महिला प्रहरी प्रमुख सरुवा भएर आएकी छन्। प्रहरी प्रधान कार्यालयले एसपी रन्जु सिग्देललाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुखको जिम्मेवारीमा सिन्धुलीमा सरुवा गरेसँगै सिन्धुलीमा पहिलो पटक महिला प्रहरी प्रमुख आएकी हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख चक्रबहादुर सिंहको सरुवा भएसँगै जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुखको जिम्मेवारी सम्हाल्न थालेकी छन्। सिन्धुली जिल्लामा पहिलो पटक महिला प्रहरी प्रमुख भएर आएको पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष टिकाजङ थापाले बताए। जिल्लाको शान्ति सुरक्षामा कुनै कमी आउने छैन, सरुवा भएर सिन्धुली आएको झन्डै एक महिनापछिको सञ्चारकर्मीहरुसँगको भेटमा एसपी सिंग्देलले भनिन्, 'जिल्लाको प्रमुख समस्यालाई पहिचान गरि सरोकारवालाहरुसँगको छलफल र समन्वयमा काम गर्छु।' उनले कसैको दबाव र प्रभावमा प्रहरी नपर्ने भन्दै पीडितलाई न्याय दिलाउन आफू लागि पर्ने बताइन्।

एसपी सिग्देलले प्रहरीले यातायात व्यवसायीसँग पैसा असुल्ने गरेको चर्चा रहेको स्विकार गर्दै यसको संस्कार नै बस्ला भन्ने डर भएको भन्दै ‘प्रमाणसहित कारबाही गरेर देखाउने प्रतिबद्धता गरिन्। एउटा बोरामा एउटा आलु कुहियो भने बोराको सबै आलु गन्हाउने बताउदै एउटा प्रहरीले गल्ती गर्दा संगठनकै बद्नाम हुने धारणा राखिन्। ‘व्यक्तिगत स्वभावले सम्बन्ध फरक हुन भएन’, सञ्चारकर्मीहरुसँग कुरा गर्दै एसपी सिग्देलले भनिन्, ‘प्रहरी र पत्रकारबीच पेशागत सम्बन्ध कायम राख्न सधै प्रतिबद्ध छु।’

कार्यक्रममा  पत्रकारहरुले प्रहरी प्रशासन प्रेसरमा नभई न्यायमा चल्नु पर्ने सुझाव राखेका थिए। सिन्धुली जिल्ला राजमार्गनै राजमार्ग भएको जिल्ला भएकाले शान्ति सुरक्षा र सीमा सुरक्षामा प्रहरी संवेदनशिल हुनुपर्ने पत्रकारहरुको धारणा थियो। न्यायका लागि जनताले नेतालाई अगाडी बढाउनु पर्ने समस्या रहेको भन्दै प्रहरीले जनताको मन जित्नुपर्ने पत्रकारहरुको भनाई थियो। जिल्लामा गाँजा खेती, लागुऔषधको सेवन, महिला हिंसा जस्ता समस्याहरु बढ्दो क्रममा रहेको र यसलाई न्यूनिकरण गर्नका लागि प्रहरी लागि पर्ने एसपी सिंग्देलको भनाई छ।

 

प्रकाशित: ८ माघ २०७६ १०:३६ बुधबार

महिला_प्रहरी_प्रमुख शान्ति_सुरक्षा