समाज

आमाबुबाले १२ वर्षपछि पाए माया मारिसकेको छोरा

भैरहवा- अभिभावकले माया मारीसकेको छोरा रुपन्देहीबाट १२ वर्षपछि फेला परेका छन्। १२ वर्षअघि रोजगारीको शिलशिलामा भारतबाट हराएको छोरा सन्तोस सुनार प्रहरी र विभिन्न संघ-सस्थाको सहयोगमा परिवारले जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट बुझेका हुन्।

बाँकेको राप्ती सोनारी गाउँपालिका—४ बैजापुर बस्ने अमरबहादुर सुनार र लक्ष्मी सुनार परिवारले १२ वर्षअघि भारतको लुधियाना ट्रेनबाट छोरा हराएका थिए। २०६४ सालमा सुनार परिवार रोजगारीको शिलशिलामा भारतको लुधियाना जादै गर्दा ७ वर्षिय सन्तोसकुमार सुनार रेलमा छुट्न गई हराएपछि परिवारले आफ्नो क्षमताअनुसार भारतको विभिन्न शहर र रेलवे स्टेशनमा खोजे पनि भेटाएका थिएनन्।

हराएको ७ वर्षिय बालक सन्तोस सुनारसहित विजय तामाङ, राजेश कुमार र सुमित कुमार भारतको लखनउस्थित बालगृहमा बस्दै आएका थिए, ती बालकलाई नेपाली राजदूतावाससहित नेपाली मित्र मञ्च र मानव कल्याण मित्र मञ्चको सक्रियतामा २०७५ सालमा जिल्ला प्रहरी कार्यालय रुपन्देही महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा ल्याइएको थियो।

रुपन्देहीको तिलोत्तमा–१५ कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रममा बस्दै आएका ४ बालकमध्ये ३ बालकले यस अघिनै अभिभावकसँग मिलन भएकोले पुर्नमिलन भए पनि सन्तोस सुनारको परिवार नभेटिएकाले अनाथ आश्रममा बस्दै आएका थिए।

आश्रम कै संरक्षणमा रहेका सुनार हाल १९ वर्षका भएका छन् उनले कक्षा ८ सम्म अध्ययन गरेका छन्। आश्रमले बालकको संरक्षण गर्दै अभिभावकका लागि सोधपुछ र खोजीलाई निरन्तरता दिँदै सुनारका बुबाआमाले दिएको खुट्टामा पोलेको टाटे र टाउँकोमा घाउको दाग जस्तो प्रमाणले अन्तत परिवारसामु पुर्नमिलन गराएको छ।

पुर्नमिलनका लागि जन्मदर्ता, नाता प्रमाणित र स्थानीय तहको सिपारिस र संरक्षक कृष्णप्रसाद ज्ञवालीले स्थलगत अध्ययन गरी प्रमाणित गर्दै अभिाभावकलाई तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे, रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापा र संरक्षक नेपाल अविनाश अनाथ आश्रमका कृष्ण प्रसाद ज्ञवालीले पुर्नमिलन गराएका छन्। बालकलाई माला र टिका लगाई अभिभावकलाई जिम्मा लागइएको छ। सन्तोसका बुबाआमा रोजगारको शिलशिलामा भारतको लुधियानामा सेक्युरिटी गार्डको रुपमा कार्यरत छन्।

२०७३ साल यता अहिलेसम्म २४ जना बालबालिकाको पुर्नमिलन गराइसकेका छौ, हामीले अझै २१ बालबालिकाको संरक्षण गरीरहेका छौ संरक्षक ज्ञवालीले भने।


 

प्रकाशित: ७ माघ २०७६ ११:०३ मंगलबार

भारत छोरा अभिभावक