समाज

रहेनन् विश्वकै होचा खगेन्द्र

पोखराको फेवासिटी अस्पतालमा उपचाररत खगेन्द्र थापामगर। फाइल फोटोः नागरिक।

पोखरा – विश्वकै होचा मानिसका रूपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाएका खगेन्द्र थापामगरको निधन भएको छ। बागलुङ, धुल्लुबासकोट घर भएका खगेन्द्रको शुक्रबार पोखराको मनिपाल शिक्षण अस्पतालमा निधन भएको हो।

निमोनियाबाट ग्रसित खगेन्द्रको २७ वर्ष ३ महिना १५ दिनको उमेरमा निधन भएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मिनबहादुर रानाले जानकारी दिए। ‘निमोनियाले ग्रसित भएपछि उनलाई बिहीबार मनिपालमा भर्ना गरिएको थियो,’ उनले भने, ‘तर, शुक्रबार अपराह्न चिकित्सकले उनलाई मृत घोषणा गरे।’

खगेन्द्रलाई यसअघि श्वासप्रश्वाससम्बन्धी समस्या थियो। यस्तै, उनलाई हेमोग्लोबिनको कमी तथा सेतो रक्तकोष बढी देखिएपछि उपचार गरी फर्काइएको थियो।

खगेन्द्रको शव मनिपालमै रहेकाले त्यहीबाट शवयात्रासहित रामघाटमा ल्याएर अन्त्येष्टि गरिने प्रतिष्ठानका अध्यक्ष रानाले जानकारी दिए।

खगेन्द्रको उचाई ५७.०८ सेन्टिमिटर (२२.४ इन्च) र तौल ६ केजी थियो। उनले २०६७ असोज २८ गते विश्वकै होचा व्यक्तिको रूपमा गिनिज बुक्स अफ वल्र्ड रेकर्ड कायम गरेका थिए। त्यसको केही समयमै उनको उपाधि खोसिएको थियो। पछिल्लो समय उनी विश्वकै दोस्रो होचा व्यक्ति बनेका थिए।

हाल फिलिपिन्सका जुनेरो बलाविङ विश्वका सबैभन्दा होचा व्यक्ति हुन्। खगेन्द्रको उपाधि खोस्दै विश्वकै सबैभन्दा होचा व्यक्ति बनेका बलाविङको ताज नेपालकै चन्द्रबहादुरले खोसेका थिए। तर, डाँगीको दुई वर्षअघि निधन भएपछि बलाविङ पुनः विश्वकै होचा व्यक्ति भएका हुन्।

खगेन्द्र पोखरा शिवालय चोकमा रहेको सरस्वती बोर्डिङ स्कुलमा अध्ययन गर्थे। तर, पछिल्लो समयमा स्वास्थ्यका कारण उनले अध्ययन छाडेका थिए। कहिले मेला महोत्सव त कहिले विदेश भ्रमणमा जाँदा खगेन्द्रले पढाइ बिगारेका थिए। जसका कारण उनले लगातार चार वर्षसम्म एलकेजीमा अध्ययन गरेका थिए।

खगेन्द्रको पोखरास्थित फेवासिटी हस्पिटलका चिकित्सक हुमप्रसाद न्यौपानेले निःशुल्करूपमा नियमित स्वास्थ्य परीक्षण गर्ने गरेका थिए।

पछिल्लो समय उनी बुबाआमासँगै पोखरा, सिर्जनाचोकमा भाडामा बस्दै आएका थिए। बुबा रूपबहादुरको कमाईबाट उनको गुजारा चलेको थियो।

खगेन्द्रले हङकङ, मलेसिया, सिंगापुर, जापानलगायत गरी ४० भन्दा बढी देशको भ्रमण गरिसकेका छन्।

प्रकाशित: ४ माघ २०७६ ०२:०८ शनिबार

खगेन्द्र_थापामगर निधन