समाज

दाङमा माघीको उपहार १११ साइकल

दाङ – पार्वती चौधरी तरकारी उत्पादक किसान हुन्। गढवा गाउँपालिका वडा नं ७ मानपुर निवासी पार्वतीले राप्ती नदीको बगरमा तरकारी फलाउँदै आएकी छन्। तर, मेहनत गरेर फलाएको तरकारी बिक्री गर्न उनलाई बजारसम्म पुर्‍याउन समस्या पर्थ्यो।

छिटुवा टाउकोमा राखेर बजार पुग्दा उज्यालो भैसकेको हुन्थ्यो। बजार ढिलो पुग्दा तरकारी बिक्री नहुने समस्या। तर, अब पार्वती साईकलमा तरकारी बोकेर बजार पुग्ने योजनामा छिन्। साइकल किन्ने पैसा नहुँदा समस्या भोगेकी पार्वतीले नयाँ साइकल उपहारमा पाइन्। ‘तरकारी बोकेर बजार पुर्‍याउन अब समस्या रहेन’ उनले भनिन् ‘साइकल चढ्ने सपना थियो। तर, पैसा नहुँदा अधुरै थियो। साइकल उपहारमा पाउँदा निकै खुशी छु।’

माघी पर्वको अवसरमा पार्वतीसहितका किसान र विद्यार्थीलाई साइकल प्रदान गरिएको छ। मुक्त कमलरी बालिका र तिनको परिवारमा केन्द्रित भएर कार्यक्रम सञ्चालन गरिरहेको क्रियटिङ्ग पोसिविलिटिज नेपाल र गढवा गाउँपालिकाले संयुक्त रुपमा साइकल उपहार प्रदान गरेका हुन्। जसले गर्दा पार्वती जस्ता एक सय ११ जनामा खुशी छाएको छ।

क्रियटिङ पोसीबिलिटिज नेपालले ८९ जना र गढवा गाउँपालिकाले २२ जनालाई माघीको अवसरमा साइकल उपहार दिएको हो। जस मध्य आमा समुहलाई ४६ र विद्यार्थीलाई ६५ वटा गरी एक सय ११ वटा साइकल उपहार प्रदान गरिएको छ। साइकल उपहारमा पाउँदा गढवा गाउँपालिका वडा नं। ५ लोखरपुर निवासी १५ वर्षे शरण चौधरी खुशी छन्।

बुद्धज्योती माध्यमिक विद्यालय गढवा कक्षा चारमा पढ्ने उनी पैदल हिँडेर विद्यालय पुग्दा धेरै समय लाग्थ्यो। तर, अब साइकलमा १५ मिनेटमै विद्यालय पुग्न सक्छन्। माघी विशेष कार्यक्रम गरेर उपहार स्वरुप साइकल प्रदान गरिएको हो। रासस

प्रकाशित: २८ पुस २०७६ ०६:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App