ढल्केबर (धनुषा) – घरेलु तथा साना उद्योग कार्यालय धनुषामा दर्ता भएका नौवटा क्रसर उद्योगमध्ये आठवटा कानुनी हैसियतबेगर सञ्चालनमा छन्। कानुनी हैसियतबिनै सञ्चालनमा रहेका क्रसर उद्योगलाई कारबाही गर्ने अधिकार राख्ने जिल्ला प्रशासनदेखि घरेलु तथा साना उद्योग कार्यालयसम्म मौन छन्।
पहिला पुरानो मापदण्डअनुसार दर्ता भएका क्रसर उद्योगले नयाँ मापदण्ड पालना नगरेकाले उनीहरूको नवीकरण रोकिएको घरेलु तथा साना उद्योग कार्यालय धनुषाका निमित प्रमुख नागेन्द्र साहले बताए। ‘क्रसर उद्योगले नयाँ मापदण्ड पूरा गरेका छैनन्,’ निमित्त प्रमुख साहले भने, ‘आठवटै क्रसर उद्योग मापदण्डविपरीत (कानुनी हैसियबेगर) सञ्चालन भइरहेका छन्। नयाँ मापदण्डअनुसार दर्ता नभएका ती क्रसर स्वतः गैरकानुनी ठहरिन्छन्।’ मापदण्डविपरीत सबै क्रसर उद्योगलाई उद्योगसम्बन्धी कुनै कार्य नगर्न तथा जडान भएका क्रसरसम्बन्धी मेसिन हटाउन पत्राचार गर्दा पनि सञ्चालनमा रहेको साहले बताए।
घरेलु तथा सना उद्योग कार्यालय धनुषाले २०७५ पुस १५ गते मापदण्डविपरीत सञ्चालित जिल्लाका क्रसर उद्योगमाथि कारबाही गर्न उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, जिल्ला समन्वय समिति धनुषा, जिल्ला प्रशासन कार्यालय धनुषा, आन्तरिक राजस्व कार्यालय जनकपुरधाम र नेपाल विद्युत् प्राधिकरण जनकपुरधामलाई विवरणसहित पत्राचार गरेको थियो। कारबाहीका लागि पत्राचार गरेको महिनौं भइसक्दा पनि कानुनी हैसियतबेगरका क्रसर उद्योग बन्द नभएको उनले बताए। दर्ता, नवीकरण तथा मापदण्ड पूरा गर्ने सम्बन्धमा र क्रसर उद्योग सञ्चालन अविलम्ब रोक्न घरेलु कार्यालयले सबै क्रसर उद्योगलाई समेत पत्राचार गरेको थियो। तर कार्यालयको पत्राचारलाई बेवास्ता गर्दै व्यवसायीले मापदण्डविपरीत क्रसर उद्योग सञ्चालन गरेका छन्।
क्रसर उद्योगले खोलाबाट अवैध रूपमा बालुवा तथा गिटी उत्खनन गर्दै आए पनि कारबाही गर्ने मामिलामा सरकारी निकाय निरीह देखिन्छन्। दर्ता नगरीकन क्रसर सञ्चालनमा राजनीतिक दलका नेता–कार्यकर्तादेखि ठेकेदारसम्म संलग्न छन्। गैरकानुनी रूपमा सञ्चालित क्रसर उद्योगले तीनै तहका सरकारलाई गिज्याइरहेको देखिन्छ। प्रदेश २ मा गैरकानुनी रूपमा सञ्चालित करिब ४० वटा क्रसर उद्योगमध्ये आठवटा जनकपुरधाममै छन्। स्थानीय तह, स्थानीय प्रशासन र घरेलु तथा साना उद्योग कार्यालयको संरक्षणमा रहेका क्रसर डनहरू पछिल्लो समय आपराधिक कामतर्फ पनि उन्मुख हुन थालेका छन्।
धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलाबाट गिटी र बालुवा बोकेर करिब दुई सय मिटर दक्षिणमा रहेको चुरियामाई प्रशोधन केन्द्रमा जाँदै गरेको टिपरले किचेर शुक्रबार सोही गाउँका ओमप्रकाश (दिलीप) महतोको मृत्यु भयो। प्रहरीका अनुसार बिहान ‘मर्निङ वाक’मा निस्केका महतोलाई करिब ४ बजे ना७ख ६४१३ नम्बरको टिपरले किचेर मारेको हो। महतोले घर नजिकैको औरही खोलाबाट अवैध रूपमा ढुंगा, गिटी र बालुवा उत्खननको विरोध गर्दै आएका थिए। महतोको परिवारका सदस्यका अनुसार क्रसर उद्योगीले आफूहरूको काममा विरोध नगर्न ओमप्रकाशलाई सम्झाइदिन उनका बुबालाई पटक–पटक दबाब दिइरहेका थिए।
धनुषाको मिथिला नगरपालिकाले चालु आर्थिक वर्षमा ढुंगा, गिटीलगायत खोलाजन्य पदार्थ बिक्री गर्न चार करोड ५१ लाख ५१ हजार रूपैयाँमा ठेक्का लगाएको छ। नगरपालिकाले जय बजरंग उद्योगलाई औरही खोलाको तोकेको क्षेत्रबाट मात्र १४ लाख ९४ हजार आठ सय ८४ क्युबिक फिट ढुंगा, बालुवा, गिटी उत्खनन गर्ने अनुमति दिएको छ। नगरपालिकाले औरहीबाहेक जलाठ, रातु, जगधर, बसही र बडहरी खोलाबाट पनि बालुवा, गिटी र ढुंगा झिक्न जय बजरंगलाई ठेक्का दिएको छ। नगरपालिकाले जय बजरंग बालुवा प्रशोधन उद्योग धनुषासँग २०७६ कात्तिक ८ गते उक्त ठेक्का सम्झौता गरेको जनाएको छ। नगरपालिकाले खोलाजन्य पदार्थ उत्खनन ठेक्काबाट उठेको ४० प्रतिशत रकम आफूले राखेर बाँकी ६० प्रतिशत प्रदेश सरकारलाई बुझाउँदै आएको छ। जय बजरंग बालुवा प्रशोधन उद्योग मिथिला नगरपालिका–९ को बडरी र लालगढको बीच भागमा सञ्चालित छ। जय बजरंग बालुवा प्रशोधन उद्योगका सञ्चालक बेचन शर्मा हुन्। औरही खोलाबाट अवैध रूपमा उत्खनन गरिएको गिटी, बालुवा, ढुंगा चुरियामाई गिटी बालुवा प्रशोधन केन्द्र, जय बजरंग बालुवा प्रशोधन उद्योगलगायत यस क्षेत्रका क्रसर उद्योगमा लगिन्छ
मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोका अनुसार जय बजरंगलाई ठेक्का दिने निर्णय भए पनि जिल्ला समन्वय समितिबाट स्वीकृत नभएकाले खोलाजन्य पदार्थ संकलन, उत्खनन गर्न अनुमति दिइएको छैन। रातको समयमा कसले, कसरी उत्खनन गर्छ त्यसमा आफ्नो सरोकार नरहेको मेयर महतोले बताए।
गैरकानुनी क्रसरको रजगज
जनकपुरधाम उपमहानगरपालिकास्थित बेंगाशिवपुरमा विनोद साहले सञ्चालन गरेको सुभास क्रसर उद्योग वर्षौंदेखि नवीकरण भएको छैन। नवीकरणबेगर यो क्रसर चलिरहेको छ। धनुषाको पूर्वी क्षेत्र चुरेको फेदमा रहेको गणेशमान चारनाथ नगरपालिकाको तल्लो गोदारमा सञ्चालित कमला स्टोन क्रसर उद्योग पनि गैरकानुनी रूपमा सञ्चालनमा छ। कानुनी हैसियतबेगर सञ्चालनमा रहेका यी क्रसरलाई कारबाही गर्न नियामक निकाय मौन छन्। कमला स्टोन क्रसर उद्योगका सञ्चालक महादेव महतो सुडी हुन्। यस उद्योगले वन, निकुञ्ज, खोला, बस्तीबाट हुनुपर्ने दूरीको मापदण्ड पूरा गरेको छैन। यो क्रसर २०७३ असार मसान्तयता नवीकरण नभएको घरेलु तथा साना उद्योग कार्यालय धनुषाको रेकर्डबाट देखिन्छ।
धनुषाकै दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको नगराइन नगरपालिका–४ मा सञ्चालित कुमारी माँ गिटी उद्योग पनि मापदण्डविपरीत सञ्चालनमा छ। जोगमाया देवी झाले सञ्चालन गरेको उक्त क्रसर उद्योगले नदीभन्दा पाँच सय मिटर दूरीमा हुनुपर्ने मापदण्ड पनि पालना गरेको छैन। यो क्रसर २०६९ भदौ ११ गतेयता नवीकरण नभएको घरेलुको रेकर्डमा छ। सोही नगरपालिकाको घोडघासमा अरूणकुमार साहले सञ्चालन गरेको जय मातादी स्टोन क्रसर उद्योग पनि गैरकानुनी छ। यो क्रसर उद्योग २०७३ मंसिर ११ गतेयता नवीकरण भएको छैन।
यस्तै धनुषाको लबटोलीमा सञ्जय शर्माले सञ्चालन गरेको कमलामाई क्रसर उद्योग पनि गैरकानुनी छ। २०७३ पुस २८ गतेसम्म मात्र उद्योग नवीकरण भएको घरेलु कार्यालयको रेकर्डमा छ। धनुषाकै मिथिला नगरपालिकाको चुरे फेदमा रहेको क्षिरेश्वरनाथ महादेव क्रसर उद्योग पनि गैरकानुनी रूपमा सञ्चालित छ।
घरेलु तथा साना उद्योग कार्यालय जनकपुरधामले ती क्रसर उद्योगले मापदण्ड पूरा नगरेका कारण दर्ता नवीकरण नभएको जनाएको छ। राजनीतिक र प्रशासनिक संरक्षणका कारण कानुनी हैसियत नपाए पनि क्रसर उद्योग सञ्चालन भइरहेको श्रीपुरका सन्तोष महतोले बताए। प्रशासन र राजनीतिक दलका नेतासँगको मिलेमतोमा क्रसर व्यवसायीले अवैध रूपमा खोलाबाट ढुंगा, बालुवा र गिटी दोहन गर्दै आएको सर्वसाधारण बताउँछन्। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल भन्छन्, ‘कानुनी हैसियत गुमाइसकेका क्रसरबारे घरेलु कार्यालयले हामीलाई जानकारी गराएको छैन। अवैध रूपमा सञ्चालित क्रसर उद्योगको दर्ता तथा खारेजी गर्ने निकाय प्रमुख म होइन। हामीसँग सुरक्षा तथा प्रशासनिक सहयोग मागे उपलब्ध गराउँछौं।’ जिल्ला समन्वय समितिका सभापति रामदेव यादवका अनुसार अवैध क्रसर उद्योगका कारण प्राकृतिकसँगै सामाजिक असुरक्षा बढ्दो छ। ‘मैले अवैध क्रसर उद्योग बन्द गराउन पत्राचार गरेको हुँ,’ उनले भने, ‘तर उद्योगीले टेरेका छैनन्।’
हतियारको भरमा क्रसर धन्दा
गत जेठ दोस्रो साता धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरबाट रामचन्द्र महतो र उनका छोरा मनोजकुमारलाई एक थान अटोमेटिक चाइनिज पेस्तोल र एक थान नलकटुवा बन्दुकसहित प्रहरीले पक्राउ ग¥यो। उनीहरूले खोलामा अवैध उत्खनन गर्दै आएका थिए। त्यसको विरोध गर्दा उनीहरूले पेस्तोल ताकेपछि स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। रामचन्द्र रितिक क्रसर उद्योगका सञ्चालक रहेको बताइएको छ। हतियारको बलमा उनले क्रसर धन्दा चलाउँदै आएका थिए। उनीहरू अहिले पुर्पक्ष थुनामा रहेको प्रजिअ कँडेलले बताए।
हत्या आरोपी सार्वजनिक
धनुषाको औरही खोलामा अवैध उत्खनन रोक्न गएका ओमप्रकाश महतोलाई (दिलीप) टिपरले किचेर हत्या गरेको खुलेको छ। शनिबार राति जिल्ला प्रहरी कार्यालय धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक रमेश बस्नेतले क्रसर सञ्चालक विपीन महतोसहित चारजनाले ओमप्रकाशको दाहिने कोखामा ‘लिभर’ले घोची घाइते बनाएपछि खोलामा लडाएर टिपरले किचेको बताए।
बालुवागिटी चोरी रोक्न खोलामा गएका महतोलाई शुक्रबार बिहान ना७प ६४१३ नम्बरको टिपरले किचेर हत्या गरेको बस्नेतले बताए। हत्या आरोपित चारैजनालाई सार्वजनिक गरिएको छ। पक्राउ पर्नेमा चुरियामाई बालुवा प्रशोधन केन्द्र (क्रसर) का सञ्चालक मिथिला नगरपालिका–५ का २७ वर्षीय विपीन महतो, सोही ठाउँका २४ वर्षीय रोशनकुमार यादव, महोत्तरी बर्दिबास नगरपालिका–९ का ३७ वर्षीय टिपर चालक मुनीन्द्र महतो र सोही नगरपालिका–२ का लोडर चालक २४ वर्षीय जितेन्द्रकुमार महतो रहेको प्रहरी उपरीक्षक बस्नेतले बताए।
धनुषाको औरही खोलामा शुक्रबार बिहान उपकरण प्रयोग गरेर खोलाजन्य पदार्थ झिकिरहेको थाहा पाएपछि साथीसहित पुगेका मिथिला नगरपालिका–५ ओमप्रकाशलाई टिपरले किचेर मारिएको थियो। पीडित महतो परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा घटनाबारे किटानी जाहेरी दर्ता गराएको छ।
प्रकाशित: २७ पुस २०७६ ०२:०३ आइतबार