समाज

१० वर्षमा १४ किशोरीको मृत्यु : एक हजार पाँच सय छाउगोठ भत्काइए

अछामका ग्रामीण भेगमा रहेका छाउपडी गोठ भत्काउँदै अछाम प्रहरी। तस्बिर : खम्म खत्री/नागरिक

दिलबहादुर छत्याल/खम्म खत्री,

धनगढी/अछाम – गत मंसिर तेस्रो साता महिनावारी हुँदा छाउगोठमा बसेकै बेला अछाम, साँफेबगर नगरपालिका–३ सिद्धेश्वर डिक्रेनीकी २१ वर्षीया पार्वती बुढा रावतको मृत्यु भयो। मेल्लेख गाउँपालिका–७ नन्देगडा, लेकगाउँ आइतबार साँझ खाना खाएर एक्लै छाउगोठमा सुतेकी उनी बिहान मृत अवस्थामा फेला परिन्। बिहान सात बजेसम्म नउठेपछि जेठानीले पार्वतीको नाम लिएर धेरै पटक बोलाइन्। तर गोठबाट कुनै प्रतिक्रिया आएन। शंका लागी जेठाजु छत्र रावतले गोठको ढोका फोरेर हेर्दा उनी घोप्टो परेर सुतेको अवस्थामा मृत फेला परेकी थिइन्। घरभन्दा सय मिटर टाढा रहेको छाउगोठमा उनको मृत्यु हुनुको यकिन कारण पत्ता नलागे पनि रातको समयमा आगो बालेर सुतेकाले निसासिएर मृत्यु भएको अनुमान गरिएको छ।

महिनावारी हुँदा घरभन्दा टाढा एकान्तमा बनाइएको छाउगोठमा एक्लै बस्नुपर्दा अकालमै मृत्यु हुने पार्वती मात्र होइनन्, उनीभन्दा पहिले पनि अछाममा कयौं किशोरी र महिलाले छाउगोठमा मृत्युवरण गर्नुपरेका कहालीलाग्दा कथा छन्। अरूतिर महिनावारी हुँदा घरभित्रै अलग बस्ने चलन भए पनि सुदूरपश्चिमका अछामलगायत दुर्गम बस्तीका महिलाहरू एकान्तमा बनाइएको छाउगोठमा बस्ने कुप्रथा छ। यी छाउगोठ महिनावारी भएका बेला वास बस्ने महिनाका लागि ज्यानमारा धरापसरह थिए। विषालु सर्प हुने, फोहोरले विभिन्न रोगको संक्रमण भएर र न्यानो ओढ्ने लुगा नहुँदा जाडोले र आगोको धुवाले निसासिएर कयौं महिलाको अकालमै मृत्यु भएको स्थानीय बताउँछन्।

जिल्ला प्रहरी कार्यालय तथा महिला विकास शाखा अछामका अनुसार अछाममा १० वर्षयता छाउगोठमा किशोरी तथा महिला गरी १४ जनाको मृत्यु भइसकेको छ। छोरी, बुहारी, दिदी–बहिनीको महिनावारी भएको बेला गोठमै मृत्यु हुँदासमेत अधिकतर महिलाहरू गोठमै सुत्ने गरेका थिए। परिवारको सदस्य गोठमै गुमाउनुपरेको पीडा बोक्दै किशोरी तथा महिलाहरू आफ्नोसमेत ज्यान जोखिममा राखेर गोठमै बसिरहेका हुन्।

छाउपडी प्रथा मान्ने गलत संस्कारको कारणले गाज्राकी १५ वर्षीया छोरी रोशनीलाई गोठमै गुमाएको तीन वर्ष पुगेको छ। आफूसमेत सुतेको बेला निसासिएर झन्डै ज्यान गएको रोशनीकी आमा दिलु तिरुवाले बताइन्। ‘महिनावारी भएका बेला बस्ने छाउगोठ हाम्रालागि कालको घरजस्तै हुन्,’ उनले भनिन्, ‘घर–परिवारले नमान्दा छाउगोठमा त्यहाँ सुत्नुपर्ने बाध्यता छ।’ त्यही छाउपडी गोठमा २०७३ पुस ३ गते छोरीको मृत्यु भएपछि गोठ भत्काएर केही समय घरमा सुतेको उनले बताइन्।

‘छोरीको गोठमै ज्यान गएपछि दुई–तीन पालो महिनावारी हुँदा घरकै एउटा कोठामा बसेकी हुँ तर पछि सासुले नमान्दा पुनः गोठमा बस्नुप¥यो,’ उनले भनिन्, ‘सासुले घरमा बस्न कुनै पनि हालतमा नदिएपछि उहाँको चित्त दुखाएर बस्न सकिएन।’

अहिले प्रहरीले छाउगोठ भत्काउन थालेपछि भने ज्यानमारा छाउगोठमुक्त हुने कुराले स्थानीय महिला खुसी छन्। ‘अहिले सबैतिर छाउगोठ हठाउँदै छन्, अब हामीलाई सहज हुने भयो,’ उनले भनिन्।

कमलबजार नगरपालिका–६ बिरपथका भगवती ढकालले पतिले महिनावारी हुँदा घरमै बस्न भने पनि गाउँ–समाजको डरले गोठमै सुत्न परेकोमा छाउगोठ भत्काउँदा खुसी लागेको बताइन्।

भगवतीकी सासु डिक्रादेवी ढकालको २०६७ माघमा गोठमा सुतिरहेको बेला मृत्यु भएको थियो। ‘सासुको गोठमै ज्यान गएकाले छाउगोठमा एक्लै सुत्नुपर्दा डर लाग्थ्यो,’ उनले भनिन्, ‘छाउगोठ हटाएपछि खुसी लागेको छ।’ आमाको छाउगोठमै अकालमा मृत्यु भएको र छाउगोठ हटाउने अभियान राम्रो भएको डिक्राका छोरा झनक ढकालले बताए।

सरकारको निर्देशनपछि २०६२ सालमा कुरीति घोषणा गर्दै छाउपडी प्रथा उन्मुलनसम्बन्धी निर्देसिका २०६४ समेत जारी गरिएको थियो। सरकारले कुरीति घोषणा गरेको ११ वर्ष भइसक्दासम्म पनि छाउपडी प्रथा पूरै हट्न सकेको थिएन। राष्ट्रसंघको मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणा–पत्रमा, नेपालको संविधान २०७२ को धारा ३८ को उपधारा ३ महिला अधिकारमा धार्मिक, सामाजिक, प्रचलन वा अन्य कुनै कारणले महिलामाथि हिंसा तथा भेदवाव गर्न नपाइने व्यवस्था गरिएको छ। शारीरिक, मानसिक तथा सुरक्षाका हिसाबले पनि महिनावारी भएको समयमा महिलालाई झनै सुरक्षित स्थानमा बस्न दिनुको सट्टा धार्मिक कारण देखाउँदै असुरक्षित रूपमा गोठमा राख्ने गलत परम्पराले जरा गाडेकाले महिलाहरू हिंसाको सिकार बनिरहेका छन्।

मुलुकी अपराधसंहिता विधेयक २०७४ ले महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडी वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गरे वा गराएमा अपराध मानेको छ। यस्तो कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।

यतिबेला अछामलगायत सुदूरपश्चिमका सबैतिर छाउपडी गोठ भत्काउने अभियान चलिरहेको छ। सबैभन्दा बढी अछाममा छाउगोठ रहेका छन्। अहिलेसम्म अछाममा एक हजार तीन सय ५५ वटा छाउगोठ भत्काइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक देवबहादुर बोगटीले बताएका छन्। प्रहरी र जनप्रतिनिधिहरूको रोहवरमा गोठ भत्काउने क्रम जारी छ। प्रहरीले छाउपडी गोठ भए–नभएको अवस्थाबारे समेत अनुगमन गरिरहेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पुस महिनाको १६ दिनको अवधिमा करिब एक हजार तीन सयभन्दा बढी गोठ भत्काइएको र भत्काउने क्रम जारी रहेको अछाम जिल्लाका प्रहरी प्रमुख डिएसपी दिपक भारतीले बताए। ‘प्रहरी टोली अहिले आफैं छाउपडी गोठ कहाँ छ भनेर खोज्दै हिँडेको छ, स्थानीय, जनप्रतिनिधि, प्रहरीको उपस्थितिसँगै जनचेतना फैलाउने कामसहित गोठ भत्काउने काम भइरहेको छ,’ उनले भने, ‘प्रहरीले अहिले गोप्य सूचना लिने र त्यसको आधारमा जुनसुकै बेला पनि अनुगमन गर्ने गरेको छ, यसमा स्थानीयको साथ पाएका छौं।’

गोठ भत्काउने मात्र होइन, छाउपडी कुप्रथासम्बन्धी बनेको कानुन र हुने कारबाहीका विषयमा पनि जानकारी दिनु जरुरी रहेको उनले बताए। छाउपडी गोठ भत्काउने अभियानलाई सफल पार्न स्थानीय निकायसँगको समन्वयमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको डिएसपी भारतीले बताए।

इलाका प्रहरी कार्यालय साँफेबगरले छाउपडी गोठ भत्काइएपछिको अवस्थाका बारेमा अनुगमन गरिरहेको प्रहरी निरीक्षक नरपति भट्टले बताए। ‘गोठ भत्काएको ठाउँमा त्रिपाल हालेर बसे–नबसेको बारेमा पनि अनुगमन गरेका छौं,’ उनले भने, ‘ अनुगमनसँगै जनचेतना जगाउन प्रहरी, जनप्रतिनिधि, राजनीतिक दल र पत्रकारहरूसमेतको भूमिका आवश्यक छ।’

अछामलाई फागुन महिनाभित्र छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने गरी छाउपडी गोठ भत्काउने अभियानलाई तीव्र पारिएको छ।

जिल्ला प्रशासन कार्यालय अछामको आयोजनामा हालै सम्पन्न छाउपडी प्रथा उन्मुलन संयन्त्रको बैठकमा सहभागी जिल्लाका जनप्रतिनिधिले अछामलाई फागुन मसान्तसम्म प्रभावकारी रूपमा छाउपडी गोठमुक्त घोषणा गर्ने प्रतिबद्धता जनाएका हुन्। फागुन मसान्तभित्र जिल्लालाई छाउगोठमुक्त घोषणा गर्ने निर्णय भएको प्रमुख जिल्लाअधिकारी भोजराज श्रेष्ठले बताए। ‘माघ मसान्तभित्र स्थानीय तहका ९१ वडाका छाउगोठ भत्काउने र फागुन १५ गतेभित्र छाउगोठमुक्त घोषणा गर्ने तय भएको छ,’ उनले भने।

यस्तै छाउपडीप्रथा उन्मुलनका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नको लागि सञ्चारमाध्यम प्रभावकारी हुने भएकाले स्थानीय सञ्चारमाध्यममार्फत प्रचार–प्रसार गर्ने, सबै सञ्चारमाध्यमहरूले खोजमुलक समाचार प्रचारप्रसार गर्ने, छाउगोठ भत्काउने क्रममा भेटिएका अति गरिब परिवारलाई जनता आवास कार्यक्रममा सहभागी गराउन सम्बन्धित निकायमा सिफारिस गर्ने र छाउपडी प्रथाविरुद्ध अभियान सञ्चालन तथा छाउपडी गोठ नष्ट गर्ने अभियानमा समन्वय गर्ने, अभिलेख राख्ने र त्यसको विवरण सम्बन्धित निकायमा पठाउन सबै स्थानीय तहहरूबाट तीन दिनभित्र सम्पर्क व्यक्तिहरूको नाम तोक्नेलगायत निणर्यहरू गरिएका छन्।

छाउपडी गोठ भत्काउने विषयलाई बेवास्ता गरे स्थानीय तहबाट दिइने सम्पूर्ण सेवासुविधाबाट वञ्चित गरिने कानुनअनुसार कारबाही गरिने साँफेबगर नगरपालिका मेयर कुलबहादुर कुवँरले बताए। ‘छाउपडी कुप्रथाले समग्र जिल्लाको शिर निहुरिने गरेको छ, हालसम्म नगरका चार सयभन्दा बढी गोठ भत्काएका छौं, कतिपय वडा छाउगोठमुक्त भइसकेका छन् भने केही हुने क्रममा छन्, सबैभन्दा पहिला छाउपडी गोठमा नबस्न आग्रह गर्छौं, यदि मानेनन् भने सजायको भागिदार बन्नेछन्।’ उनले भने, ‘प्रहरीसँगको साझेदारीमा गोठ भत्काउने अभियान सञ्चालन गरेका छौं।’

गाउँपालिकाका प्रत्येक वडामा अहिले छाउपडी कुप्रथासम्बन्धी जनचेतना जगाउने काम भइरहेको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र खड्काले बताए। ‘प्रत्येक टोल, गाउँमा प्रहरीसँगको सहकार्यमा जनचेतनामुलक कार्यक्रम गरिरहेका छौं। स्वयं महिला, देवताका धामीले गोठ भत्काउने वातावरण सिर्जना गर्नेछौं, यदि भएन भने हामी आफैं छाउपडी गोठ भत्काउनेछौं,’ उनले भने, ‘यसभन्दा पहिला पनि एनजिओ–आइएनजिओले जबरजस्ती गोठ भत्काउँदा प्रभावकारी भएन, अब वडा स्तरदेखि नै जनप्रतिनिधि लागेका छौं, प्रभावकारी हुने गरी काम गर्छौं।’

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक बोगटीका अनुसार अछाममा एक हजार तीन सय ५५, कैलालीमा एक सय ३५, कञ्चनपुरमा चार, बाजुरामा पाँच र बझाङामा ३६ गरी एक हजार पाँच सय ३५ छाउगोठ भत्काइसकिएका छन्। प्रहरी परिचालन गरेर सबैतिर छाउगोठ खोज्दै भत्काउने कार्य जारी रहेको उनले बताए। बैतडी, दार्चुला, डडेल्धृुरा र डोटीमा अहिलेसम्म छाउगोठ फेला नपरेको र खोजी भइरहेको उनको भनाइ छ।

प्रकाशित: २७ पुस २०७६ ००:५८ आइतबार

छाउपडी किशोरी