समाज

प्रहरीमा बढ्दै ड्रप–आउट

काठमाडौं – तीन वर्षअघिसम्म एक सय ३० जना प्रहरी संख्या रहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोमा अहिले ९५ जना मात्रै प्रहरी छन्। सातदोबाटो वृत्तका अनुसार सुरक्षा दिनुपर्ने क्षेत्र र ठाउँ हेर्दा यो संख्या अत्यन्तै न्यून हो। सातदोबाटो वृत्तको क्षेत्राधिकार एकान्तकुना, नक्खु, हरिसिद्धि, इमाडोल, ग्वार्को, लगनखेल, हात्तीवनलगायत ठाउँसम्म फैलिएको छ। ठुलो क्षेत्रफलमा फैलिएको सहरी इलाका र भित्री बस्तीमा सुरक्षा दिनुपर्ने भएकाले यो संख्याले अपुग भइरहेको वृत्त प्रमुख मित्रबन्धु शर्माले बताए। उनले संख्या थोरै भएपछि सबैतिर प्रहरी परिचालन गर्न अहसज हुने गरेको जानकारी दिए। ‘जनशक्ति कम भएपछि अपराध बढ्ने क्षेत्रतिर परिचालन गर्न पाइन्न,’ उनले भने, ‘कतिपय वृत्तले अझ लामो इलाकाभित्र सुरक्षा दिनुपर्छ, त्यस्तो ठाउँमा बाँडेर प्रहरी परिचालन गर्छौं तर जनशक्ति संख्या कम छ।’ उनका अनुसार सातदोबाटो वृत्तमा घरेलु मदिरा, लागुऔषध र बलात्कारका उजुरी धेरै आउने गरेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार वृत्तहरूमा एक सय ३० देखि दुई सय ६० जनासम्मको दरबन्दी हुन्छ। क्षेत्रधिकार र मुद्दाको चाप हेरेर प्रहरी दरबन्दी बढाउने र घटाउने गरिन्छ। तर अहिले उपत्यकाका अधिकतर वृत्तमा दरबन्दीभन्दा निकै कम संख्यामा प्रहरी छन्। जागिर छाडेको ठाउँमा पदपूर्ति गर्न कम्तीमा १८ महिना लाग्छ। बीचमै जागिर छाड्ने प्रवृत्ति र अवकास लिनेको संख्या भने बढ्दो छ।

उजुरीको चाङ लागिरहने महानगरीय प्रहरी वृत्त वानेश्वरमा पनि पुग्दो प्रहरी जनशक्ति छैन। व्यस्त सहरी इलाकाभित्र बढी गस्ती गर्नुपर्ने यस वृत्तमा प्रहरी संख्या थोरै छ। वृत्तले काँडाघारी, कोटेश्वर, सिनामंगल, धोबीखोला, युएन पार्क, शंखमुल, वानेश्वर, तीनकुनेलगायत क्षेत्र हेर्छ। यहाँ एक सय २७ जना प्रहरी कार्यरत छन्। वृत्त प्रमुख उत्तम सुवेदीले एक सय ५० जनाभन्दा बढी प्रहरी जनशक्ति आवश्यक भएको ठाउँमा थोरै संख्याले काम गर्नुपर्ने बाध्यता रहेको बताए। ‘प्रहरी संख्या कम हुनु सदाबहार समस्या नै हो। बीचमै जागिर छाड्ने र अवकास लिनेका कारण संख्या घटेको छ,’ उनले भने, ‘नयाँ वृत्तहरूमा संख्या अलि बढी भए पनि पुरानो वृत्तमा प्रहरी संख्या कम छ।’

पछिल्लो समय बीचमै जागिर छाडेर विदेश पलायन हुने प्रहरी संख्या बढ्दो छ। बीचमै जागिर छाड्दा प्रहरी संख्या घटिरहेको छ।

छरिएको क्षेत्रमा सुरक्षा दिँदै आएको महानगरीय प्रहरी वृत्त थानकोटमा प्रहरी दरबन्दी संख्या दुई सय ६७ जनाको छ तर हाल यहाँ दुई सय जनामात्रै प्रहरी कार्यरत रहेका छन्। थानकोट, सतुंगल, चेकपोस्टलगायत काठमाडौंको फेद मानिने धादिङसम्म यही वृत्तले शान्ति–सुरक्षाको निगरानी राख्ने जिम्मा पाएको छ। सवारीसाधनको चाप भइरहने नाका पनि भएकोले यस वृत्तमा बढी संख्या चाहिने वृत्त प्रमुख घनश्याम श्रेष्ठले बताए। उनका अनुसार बीचमै जागिर छाडेर राजीनामा वा अवकास लिनेको ठाउँमा पदपुर्ति गर्न लामो समय लाग्छ, जसका कारण प्रहरी संगठनमा जनशक्तिको अभाव हुन्छ। ‘कतिपय दरबन्दी नभएको ठाउँमा पनि प्रहरी परिचालन गरिएको छ, दरबन्दीबाट कटाएर प्रहरी परिचालन गरिन्छ र अर्कोतिर बीचमै जागिर छाड्नेको संख्या पनि बढेको छ,’ उनले भने।

काठमाडौंमा १४ वटा प्रहरी वृत्त छन्। सबैजसो वृत्तमा प्रहरी जनशक्तिको अभाव रहेको छ। थानकोट, कालिमाटी, स्वयम्भू, बालाजु, महाराजगन्ज, गौशाला, लैनचौर, बौद्ध, कमलपोखरी, सिंहदरबार, दरबारमार्ग, जनसेवा, कीर्तिपुरलगायत वृत्तमा प्रहरीको अभाव रहेको वृत्तहरूले जनाएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो समय बीचमै जागिर छाडेर विदेश पलायन हुने प्रहरी संख्या बढ्दो छ। बीचमै जागिर छाड्दा प्रहरी संख्या घटिरहेको छ। जागिर छाड्नेको पदपूर्तिका लागि कम्तीमा दुई वर्ष लाग्ने भएकोले पनि संख्या कम भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी सहायक निरीक्षक (असई), प्रहरी निरीक्षक (इन्सपेक्टर), प्रहरी नायब उपरीक्षक (डिएसपी), प्रहरी उपरीक्षक (एसपी) लगायत पदका कर्मचारीले पनि जागिर त्यागेर विदेश पलायन भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाएको छ। उपल्लो श्रेणीका कर्मचारी डिभी परेर र पारिवारिक भिसामा अमेरिका, क्यानडा र अस्टे«लियातिर पलायन भइरहेका छन्।

तीन वर्षको अवधिमा १३ जना डिएसपी, २८ जना इन्सपेक्टरसहित अन्य तल्ला श्रेणीका गरी सात हजार तीन सय ८० जनाभन्दा बढी कर्मचारीले बीचमै जागिर छाडेका छन्। जागिर छाड्ने तल्लो दर्जाका कर्मचारी, मलेसिया, दुबई, कतार, साउदी, कुवेतलगायत मुलुकहरूमा जाने गरेका छन्। महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) का एसएसपी श्याम ज्ञवालीले ‘राष्ट्रले तयार पारेको जनशक्तिले बीचमै काम छाडेर पलायन हुने र कार्यालयमा जनशक्तिको कमी हुने’ विषयमा गम्भीर तरीकाले सोच्नुपर्ने बताए। बीचमै जागिर छाडेर राजीनामा दिने वा भाग्नेलाई रोक्नका लागि कुनै प्रभावकारी योजना बनाउन आवश्यक रहेको उनको भनाइ छ। ‘जागिर बीचमै छाड्नेका तल्लो दर्जाका बढी छन्, मुख्यतः पैसा कम भएकै कारण तल्लो दर्जाका कर्मचारीले जागिर छाडेका हुन्,’ उनले भने, ‘यसरी ड्रप–आउट हुने प्रवृत्ति बढ्नु राम्रो संकेत होइन।’

प्रकाशित: २५ पुस २०७६ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App