समाज

व्यवस्थापन समितिलाई अस्पताल प्रवेशमा निषेध

भक्तपुर- भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरुले नेपाल अर्वुद निवारण संस्थाबाट गठित भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारीहरुलाई अस्पतालमा प्रवेश निषेधको घोषणा गरेका छन्।

भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी समितिका अध्यक्ष शिवराम धुख्वाले बुधबार प्रेस विज्ञप्ती प्रकाशित गरी अस्पतालको विषयमा नेपाल सरकार र स्थानीय सरकारबाट सत्यतथ्य छानबिन गरी जानकारी बाहिर नआएसम्म समितिका पदाधिकारीहरुलाई अस्पताल प्रवेश निषेध गरेको उल्लेख छ।

सञ्चालनको लामो अवधिसम्म पनि अस्पताल दर्ता नभएको, नियमित कर नबुझाएको र अस्पताल वेवारिसे अवस्थामा राखिएको बिभिन्न मिडियाहरुमार्फत सुन्नमा आएकोले त्यसको सत्यतथ्य छानबिन नेपाल सरकार र स्थानीय सरकारबाट गरेर बाहिर नल्याएसम्म प्रवेश निषेध गर्ने विज्ञप्तीमा उल्लेख छ।

अस्पतालमा हाल दुई वटा व्यवस्थापन समितिहरु छन्। एउटा नेपाल अर्वुद्ध निवारण संस्थाको र अर्काे भक्तपुर नगरपालिकाको। अस्पतालमा भ्रष्टाचार भएको आरोप लगाउँंदै स्थानीय सरकारको हैसियतले भक्तपुर नगरपालिकाले नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा पुरानो व्यवस्थापन समितिलाई हटाई नयाँं व्यवस्थापन समिति गठन गरेको थियो।


 

 

 

 

 

 

 

 

प्रकाशित: २३ पुस २०७६ ११:१५ बुधबार

भक्तपुर क्यान्सर_अस्पताल व्यवस्थापन_समिति