समाज

प्रेमीको लिंग काट्ने महिलालाई थुनामा

काठमाडौं – काठमाडौं जिल्ला अदालतले प्रेमीको लिंग काटेको आरोपमा ‘अंगभंग मुद्दा’ लागेकी एक महिलालाई पूर्पक्षका लागि थुनामा पठाएको छ। जिल्ला न्यायाधीश दीपककुमार दाहालको इजलासले बिहिबार महिलालाई थुनामा पठाएको हो। महिलालाई थुनामा राखेर मुद्दा अनुसन्धान अघि बढाउन आदेश भएसँगै थुनामा पठाइएको जिल्ला अदालतले जनाएको छ।

गत मंसिर २३ मा बौद्धमा बस्ने प्रेमी प्रेमीकाबीच विवाद हुँदा महिलाले चक्कुले लिंग काटिदिएभन्दै अदालतमा मुद्दा दर्ता भएको थियो। लिंग काटिदिएपछि महिला आफैले एम्बुलेन्स बोलाएर अस्पताल पु-याएकी थिइन्। दुवैबीच सम्बन्ध रहेको तर, प्रेमीले विवाहका लागि इन्कार गरेपछि लिंग काटिदिएको महिलाले बताएकी थिइन्।

यस मुद्दामा अनुसन्धान गर्ने प्रहरी र अभियोजनकर्ता सरकारी वकीलबीच कुन उद्योगमा मुद्दा चलाउने भन्ने अन्यौलता भएको थियो। सुरुमा ती महिलालाई ज्यान मार्ने उद्योगमा अदालतबाट म्याद थप गरिएको थियो। त्यसपछि अंगभंगमा मुद्दा चलाइएको जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले जनाएको छ।

लिंग काटिएका पुरुषको अहिले पनि उपचार भइरहेको छ। तत्काल अस्पताल पु-याएपछि उनको लिंग जोडिएको बताइएको छ।

प्रकाशित: १८ पुस २०७६ ०३:१२ शुक्रबार

अंगभंग_मुद्दा