समाज

बालविवाह न्यूनीकरणका लागि २० किशोरीलाई साइकल

कपिलवस्तु- बालविवाह न्यूनीकरणका लागि नेपाल परिवार नियोजन संघ कपिलवस्तुले २० किशोरीलाई ब्यागसहित साइकल दिएको छ। युएनएफपिएको सहयोगमा बालविवाह न्यूनीकरणका लागि किशोरकिशोरी सशक्तीकरण परियोजन अन्र्तगत उनीहरुलाई साइकल प्रदान गरिएको हो।

११ किशोरी र ९ सहजकर्तालाई साइलक दिइएको कार्यक्रम संयोजक सुषमा आचार्यले बताइन्। जिल्ला समन्वय समितिकी उपप्रमुख तारावती चौधरीले उनीहरुलाई साइकल हस्तान्तरण गर्दै यसले खासगरी दक्षिणी क्षेत्रमा बालविवाह न्यूनीकरणमा मद्दत पुग्ने विश्वास व्यक्त गरिन्। ‘यसले किशोरीहरुमा आत्मविश्वास र सचेतना बढाउछ’ उनले भनिन्। झोलामा डिस्नरी, कापी कलम, क्यालकुलेटरसमेत उपलब्ध गराइएको छ। संघका प्रबन्धक विकास पोखरेलले छात्रबृत्तिको साटो उनीहरुलाई बालविवाह न्यूनीकरण र पाठनपाठनमा सहयोग गर्न साइकलसहितका सामाग्री प्रदान गरिएको बताए।

सुद्धोदन गाउँपालिका– ३ की प्रिया शर्माले साइकलले आफूलाई खुशीयाली दिएको बताए। ‘यसले पठनपाठनमा सहयोग गर्नेछ, गाउँबस्तीमा पुगेर ज्ञान बाड्न पनि सजिलो भएको छ’ उनले भनिन्। यस्तै कपिलवस्तु नगरपालिका– ३ शिवगढकी निशा भन्डारीले साइकल पाएपछि आफ्नो बुवा आमालेसमेत आफूलाई स्याबासी दिने गरेको बताइन्। यस्तै जिल्लाका ३ विद्यालयमा स्थापना गरिएको किशोरकिशोरी मेत्री सूचना केन्द्रलाई ५० हजार रुपैयाँका बिभिन्न सामाग्री प्रदान गरिएको छ।

शिवराज नगरपालिका– ४, कपिलवस्तु नगरपालिका– ६ स्थित तिलौराकोट मावि र सुद्धोदन गाउँपालिका– ५ स्थित चसत कुमारी शेरचना आधारभूत विद्यालयलाई सो सामाग्री उपलब्ध गराइएको हो। केन्द्रलाई क्याबिनेट रेक, थम बोर्ड, काठको बेन्च २, प्लाष्टिक कुर्ची ५, बेट मेशीन एक, अभिलेखसहित सूचनामूकल सामाग्री प्रदान गरिएको हो। संघका अध्यक्ष खग प्रसाद चापागाईको अध्यक्षता र सुषमा आचार्यको सञ्चालनमा भएको कार्यक्रममा युएनएफपीएका जिल्ला प्रतिनिधि चित्र महतो लगातयको सहभागिता थियो।

प्रकाशित: १७ पुस २०७६ ०७:२१ बिहीबार

बालविवाह न्यूनीकरण किशोरी