समाज

जुम्लामा अत्याधिक चिसो, आगो बालेर गाडी स्टार्ट

चिसोले गाडी स्टार्ट नभएपछि आगो बालेर स्टार्ट गर्दै । तस्बिर : नागरिक

जुम्ला- जुम्लामा अत्याधिक चिसो बढेको छ। गत मंसिर अन्तिम साता परेको भारी हिमपातका अत्याधिक चिसो बढेको हो। चिसोका कारण जनजीवन कष्टकर बन्दै गएको छ। नदीबाहेक सानातिना खोलामा पानी बग्न छाडेको छ। खोलामा बरफ जमेको छ। खोलाको पानी प्रयोग गर्न नमिल्ने गरि बरफ जमेको स्थानीय बताउँछन्।

तापक्रम घटेर राति माइनस १३ डिग्री सेल्सीयससम्म पुग्छ। बिहान माइसन ७.२ डिग्री सेल्सियससम्म पुगेको हावापानी तथा फिल्ड कार्यालय जुम्लाले जनाएको छ। आजको न्यूनतम तापक्रम माइनस ५.५ डिग्री सेल्सियस छ। भने दिउँसो माइनस छ डिग्री सेल्सियस मापन भएको जनाएको छ। अघिल्ला वर्षहरुमा पुस लागिसकेपछि मात्र तापक्रम माइनसमा जान्थ्यो, यो वर्ष मंसिरको अन्तिमबाट नै तापक्रम माइनसमा झरेको हावापानी फिल्ड कार्यालयकी कर्मचारी गंगा हमाल बताउँछिन्।

चिसोले बिहानका गाडी सेवा पनि प्रभावित बनेका छन्। हरेक दिन बिहान छुट्ने गाडीको इन्जिन चिसोले नचल्ने भएको सुर्खेत बुलबुलेका जीप यातायात व्यावसायी समिति जुम्ला काउन्टरका स्टाफ जितेन्द्र रावलले बताउँछन्। चिसो बढेकोले बिहान गाडी स्टार्ट नै हुँदैनन्। सात आठ जनाले गाडी धकेलेर स्टार्ट गर्छौं, यति गर्दा पनि स्टार्ट नभएमा आगो बालेर इन्जिन तताउछौँ, उनले भने,‘ बाटोमा धेरै ठाउँमा बरफ जमेको छ। गाडी चिप्लिएर हैरान छन्। दुर्घटना हुन सक्ने खतरा बढेको छ।’

'चिसोले बिहान यहाँका धारोमा पानी आउँदैन। साँझ पानी भरेर बिहानलाई पनि पुग्ने गरि राखिएन भने समस्या हुन्छ,’ स्थानीय निरा बुढाले भनिन्,‘ यो वर्षको चिसो साह्रै कष्टदायी भयो। चिसोले यहाँको जनजीवन निकै प्रभावित बन्यो।’

बिहान चिसोले गर्दा पाइपभरि बरफ जमेको हुन्छ भने बरफले गर्दा ठाउँठाउँमा पाइपलाइन फुट्ने समस्या भइरहेको छ। गत मंसिर महिनामा परेको हिउँ अझै पग्लीएको छैन।

 

प्रकाशित: १३ पुस २०७६ १३:५० आइतबार

जुम्ला चिसो आगो