समाज

प्रहरीलाई घुस दिन खोज्ने एक महिला पक्राउ

बारा- भन्सार छली गरि नेपाल भित्र्याइएको आरोपमा पक्राउ परेको कपडाहरुलाई छुटाउन प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई बारा प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ।

वीरगन्ज  महनगरपालिका २ का अम्विया खातुनले भन्सार छलीको कपडा छुटाउन प्रहरीलाई २८ हजार रुपैयाँ घुस दिन खोजेपछि पक्राउ गर्नु परेको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताएका छन्।

वीरगन्जबाट हेटौँडा जादैँ गरेको यात्रु बाहक बसमा भन्सार छली गरेको २३ थान कुर्ता सुरुवाल, सातवटा कपडाको थान, २५ थान साडी  र दुई थान सल ईलाका प्रहरी कार्यालय जितपुरले अनुसन्धानको लागि नियन्त्रणमा लिएको खनालले बताए।

प्रहरीले नियन्त्रणमा लिएको कपडाहरुको भन्सार तिरेको कागजपत्रहरु माग्दा खातुनले कागजपत्र केही नभएको र २८ हजार रुपैयाँ लिएर छोडी दिन भनेपछि बाध्य भएर खातुनलाई पनि नियन्त्रणमा लिनु परेको खनालले बताए।

घुस दिन लागेको रकमसहित ती महिलालाई थप अनुसन्धानको लागी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय हेटौँडा पठाइएको छ भने बरामद गरिएको कपडाहरु आवश्यक कारबाहीको लागी वीरगन्ज भन्सार कार्यालयमा पठाइएको प्रहरी उपरीक्षक खनालले बताए।

 

प्रकाशित: ११ पुस २०७६ १२:१९ शुक्रबार

घुस महिला प्रहरी