समाज

पिल्लरमुनिबाट निकालिए दर्जन रूखका मुढा

उदयपुरको शिवाईस्थित निर्माणाधीन त्रियुगा पुलमुनिबाट निकालिएका रूखका मुढा। तस्बिर : महेश्वर/नागरिक

उदयपुर – दशकयता निर्माणाधीन उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर शिवाईस्थित त्रियुगा नदीको पक्की मोटरेबल पुल यस वर्ष बन्ने भएको छ। २०७० असार २२ भित्र बनाइसक्ने गरी २०६७ असार २३ गते सम्झौता भएको सो पुलको काम गत असारसम्म १३ मध्ये १० स्पानको स्ट्रक्चर मात्र बनेको छ।

सुरु चरणमै पिल्लर गाड्न जमिन खन्दा रूखका मुढा भेटिएपछि बाँकी स्ट्रक्चरको काम रोकिएको थियो। सोमबार जमिनमुनि भेटिएका सानाठूला ८/१० वटा मुढा निकालेपछि अब काम फटाफट हुने चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले बताए। मुढा निकाल्दा प्रतिनिधिसभा सदस्य डा. नारायण खड्का र उपप्रमुख रीताकुमारी चौधरीलगायत जनप्रतिनिधि पनि सँगै थिए। उनीहरूकै सामु मुढा निकालेपछि निर्माण कम्पनीले काम ढिला गर्नुको कारण पत्ता लागेको ठहर गरेको छ। ‘पुलको काम छिटो गर्न आग्रह गर्दा निर्माण कम्पनीले जहिल्यै जमिनमुनि काठ भेटिएको भन्थ्यो,’ मेयर राईले भने, ‘ढाँटेको होला भनेको त होइन रहेछ, आप्mनै सामु मुढा निकालेको देखेपछि काम ढिलो हुनुको कारण थाहा भयो।’

३ वर्षभित्र सकेर सरकारलाई हस्तान्तरण गर्ने सम्झौता भएको पुल ४ पटक म्याद थप्दासमेत निर्माण सम्पन्न नभएपछि नगरपालिका र स्थानीय हैरान दिए। सोमबार पुलको पिल्लर गाड्न खाल्डो खन्दा भेटिएका विभिन्न आकारका झन्डै दर्जन मुढा निकालेपछि पुल यसै वर्ष बनिसक्ने गाईघाट दिक्तेल सडक आयोजना कार्यालय उदयपुरले जनाएको छ। निर्माण कम्पनीले क्रेन र अन्य उपकरणको सहायताले २५ फिटमुनि भेटिएका मुढा निकालेपछि अब बाँकी पिल्लर गाड्न सहज हुने आयोजना प्रमुख (डिई) पशुपति ज्ञवालीले बताए। ‘मुढा भेटिएर काम ढिला भएको रहेछ,’ उनले भने, ‘अब आगामाी २०७७ वैशाखभित्र सक्नेगरी पुलको काम गर्न कडाइका साथ काम गर्नुपर्छ।’

२८४ दशमलव ६ मिटर लम्बाइ तथा ५ मिटर चौडाइको पुल महालक्ष्मी÷लोकप्रिय जेबी कलंकी काठमाडौंले निर्माण जिम्मा पाएको डिई ज्ञवालीले बताए। २०७६ असारमा पछिल्लो म्याद सकिएको पुलको पुनः म्याद थप्नुपर्ने उनको भनाइ छ। उनले सरकारले आवश्यकताअनुसार बजेट दिन नसक्दा पनि काम ढिला हुन गएको बताएका छन्। ११ वर्षअघि ९ करोड ७८ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भए पनि समयमा काम हुन नसकेपछि दुई वर्षअघि भेरिएसन अर्डर (भिओ) गर्दा ११ करोड २५ लाख लागत पुगेको ज्ञवालीले बताए।

सो पुल बनेपछि वर्षायाममा चौदण्डीगढी नगरवासीलाई नगरपालिका केन्द्र आउजाउ गर्न सहज हुनेछ। नगरपालिका केन्द्र बेलटारसँग जोड्ने साविक वैकल्पिक सडक हाल मदन भण्डारी स्मृति लोकमार्गअन्तर्गत चौदण्डीगढी–५, ९ र १० तथा त्रियुगा–१, २ हुँदै सदरमुकाम गाईघाट जोड्ने पुल बनेमा छिमेकी सप्तरी र सुनसरीतर्फ आउजाउ गर्ने सबै नाका सहज हुने स्थानीय शिक्षक भास्कर चौधरीले बताए।

आयोजना कार्यालयका इन्जिनियर प्रवीण चौधरीका अनुसार अहिलेसम्म पुलको काम ८० प्रतिशत हाराहारीमा सकिएको छ। इस्टिमेट गर्दै गलत भएकाले पुलको काममा ढिलाइ हुन पुगेको इन्जिनियर चौधरीले बताए। पुलको जग खन्दा वर्षांैअघि बाढीले पुरेका ठुल्ठुला मुढा भेटिएपछि रि–इस्टिमेट गर्नुपर्दा सम्झौताको २ वर्षसम्म कामै हुन सकेको थिएन। पुल अधुरो हुँदा सुन्दरपुर र आसपासका स्थानीयलाई हरेक वर्षायाममा धेरै कठिनाइ भइरहेको थियो।

प्रकाशित: ९ पुस २०७६ ०२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App