समाज

सुरक्षाका लागि राखिएको सिसि क्यामरा दुई वर्षदेखि बन्द

दैलेख सदरमुकामस्थित मुख्य चौक देवकोटा चौकमा बन्द भएको सिसि क्यामरा। तस्बिरःगोविन्द/नागरिक

दैलेख– जिल्ला प्रहरी कार्यालयमा कन्ट्रोल कक्ष राखेर जोडिएको सिसि क्यामराले २ वर्षदेखि काम गर्न छाडेको छ। ३ वर्षअघि दैलेख बजार, चुप्रा र गुरासेँसहित ९ स्थानमा राखिएको क्यामरा बिग्रीएको हो। दैलेखको सार्वजनिक स्थलमा १० वटा क्यामरा जडान गरिएको थियो।

तत्किालिन जिल्ला प्रहरी प्रमुख (डिएसपी) विरबहादुर ओलीको अग्रसरतामा जिल्लाका सुरक्षा निगरानी राख्नका लागि सरोकारवालाहरुको सहयोगमा सिसि क्यामरा जडान गरिएको थियो।  सदरमुकामका मुख्यमुख्य चौकसहित जिल्ला प्रवेश गर्ने दुई स्थानहरु चुप्रा र गुरासेँमा सिसि क्यामरा जडान गरिएको थियो। जिल्लाको सुरक्षा अवस्था नियगमन गर्न यस प्रविधिले सहयोग गरेको थियो।

सिसि क्यामराबाटै जिल्लामा प्रवेश गर्ने तथा जिल्ला बाहिर जाने गाडीहरु निगरानी गरिँदै आएको थियो। सदरमुकामका ८ मुख्य चौक र चुप्रा र गुरासेँसहित १० स्थानमा सिसि क्यामरा जोडिएको थियो। अहिले एक ठाउँमा मात्र क्यामराले काम गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रहरीले नै कहाँ के भईरहेको छ भनेर सिसि क्यामरा हेरेर कन्ट्रोल रुमबाटै निर्देशन दिने गरेको थियो। प्रहरीका अनुसार सदरमुकामका बसपार्क काँडाचौर, गणेश चौक, त्रिभुवन उमावि अगाडी, डेकेन्द्र चौक, देवकोटा चौक, लोकतान्तिक चौक, पुरानो कारागार र दुई खम्बा गरी सदरमुकाममा ८ स्थानमा क्यामरा जडान गरिएको थियो।

तत्कालिन जिल्ला विकास समिति, नारायण नगरपालिका, गैरसरकारी संस्था महासंघ, निर्माण व्यवसायि संघ, सुनचाँदी व्यवसायि संघ, एभरेष्ट क्लव, वन महासंघ लगायतले क्यामरा खरिदका लागि सहयोग गरेका छन्। १० स्थानका लागि क्यामरा, ब्याकअप, बत्ती लगायतका सामानहरु खरिदका लागि १४ लाख खर्चेका थिए।

नारायण नगरपालिकाले मर्मत गर्ने आश्वासन दिएपनि अहिलेसम्म कुनै पहल हुन सकेको छैन। नगरपालिकाले मर्मतमा आश्वासन दिएपनि काम नगर्दा दैलेख बजारमा जडान गरिएको सिसि क्यामरा बनाउँन नसकिएको हो। प्रहरी कार्यालयमा कन्ट्रोल राखेर सिसि क्यामराबाट सुरक्षास्थिति निगरानी गरिएकोमा अहिले बन्द भएपछि निगरानी हुन छाडेको हो। सबै पक्षसँग समन्वय गरि बन्द भएका सिसि क्यामरा मर्मतका लागि लागिरहेको उद्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर विकले बताए।

सदरमुकामभित्र हुने चोरीका घटनाहरु, लुटपाट, सवारी दुर्घटना, महिला हिंसा, बालअधिकार हनन् लगायतका बिभिन्न घटनाहरु निहाल्न र न्यूनिकरण गर्न क्यामराले महत्वपूर्ण सहयोग गरेको थियो। स्थानीय सरकारसँग पुरानो सिसि क्यामरा मर्मत र नयाँ ठाउँमा जोड्नका लागि समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख (डिएसपी) हरिबहादुर वलीले बताए। दुल्लु नगरपालिकाले दुल्लु बजार क्षेत्र, पादुकाको मन्दिर र तल्लो डुगेश्वरमा क्यामरा राख्ने तयारी गरेको छ।

गुरासँ गाउँपालिकाले गुरासेँ बजार र तल्लो डुगेश्वर बजारमा राख्ने छ भने, डुगेश्वर गाउँपालिकाले चुप्रा र माथिल्ला डुगेश्वरमा राख्ने छ। त्यस्तै चामुण्डा विन्द्रासैनी नगरपालिका, आठविस नगरपालिकाले पनि कर्णाली राजमार्ग र नगरपालिकाभित्रका बजारमा राख्ने तयारी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ‘नगर तथा गाउँपालिका प्रमुखहरुसँग सिसि क्यामरा जोड्नेबारे कुरा भईरहेको छ।’ डिएसपी वलीले भने, प्राविधिक टोलीको सिफारिस अनुसारका स्थानमा क्यामरा जडान हुने छ।’  

 

प्रकाशित: ४ पुस २०७६ ०७:४१ शुक्रबार

सिसि क्यामरा जिल्ला_प्रहरी_कार्यालय