समाज

चिसोले जनजीवन कष्टकर

चिसोलाई लक्षित गरेर जिल्ला वन पैदवार आपुर्ती समितिले दाउरा वितरण गर्दै। तस्बिरःअर्जुन/नागरिक

नेपालगन्ज- चिसो बढेपछि नेपालगन्ज क्षेत्रको जनजीवन कष्टकर बनेको छ। गत मंसिर महिनाभर जाडोको खासै अनुभुती नभएपनि पुस महिना सुरु भए लगत्तै मंगलबारबाट सितलहरसँगै चिसो बढेको हो। चिसो बढेपछि बजारमा सर्बसाधारणको आवत–जावत पातलो भएको छ। विशेषगरी बिहान र बेलुकीको समयमा यहाँका सडक, गल्ली तथा चोकहरु सुनसान देखिन थालेका छन्। सर्वसाधारणको अत्यधिक चाप रहने नेपालगन्जको ब्यस्त मानिने (धम्बोझी, विपी चोक, पुष्पलाल चोक, सदरलाईन, न्यूरोड, त्रिभुवन चोकलगायत) क्षेत्र सुनसान देखिएका हुन्।

चिसो बढेपछि जेष्ठ नागरिक तथा बालबालिका बढी समस्यामा परेका छन्। चिसोका कारण उनीहरु बिरामी पर्न थालेका हुन्। स–साना बालबालिकाहरु एकाबिहानै चिसोमा कठ्यांग्रिदै विद्यालय जान बाध्य भईरहेका छन्।

अधिकांश सर्वसाधारण आगोको साहारामा बस्ने गरेको पाइएको छ। कतिपय सर्वसाधारणले दाउरा नपाउँदा कागज तथा टायर बालेर पनि आगो तापिरहेको देखिन्छ। विगतका वर्षमा नेपालगन्ज उपमहानगरपालिकाले निःशुल्क रुपमा दाउरा वितरण गरेको थियो। तर, यस वर्ष उपमहानगरपालिकाले यसतर्फ चासो नदिएको सर्वसाधारणको गुनासो छ। चिसो बढेपछि जेष्ठ नागरिक तथा बालबालिका बढी समस्यामा परेका छन्।

चिसोका कारण उनीहरु बिरामी पर्न थालेका हुन्। स–साना बालबालिकाहरु एकाबिहानै चिसोमा कठ्यांग्रिदै विद्यालय जान बाध्य भईरहेका छन्। चिसो बढेपनि नेपालगन्जलगायत जिल्लाका सरकारी, संस्थागत तथा मदरसा विद्यालय निर्वाध रुपमा सञ्चालन भईरहेका छन्। कतिपय बालबालिकाहरु कक्षा कोठामै बिरामी पर्न थालेपछि समस्या भईरहेको विद्यालयले जनाएका छन्। यहाँका विद्यालयले जाडो बिदा गर्ने सम्बन्धमा अहिलेसम्म निर्णय गरेका छैनन्।

चिसो बढेपछि जेष्ठ नागरिक तथा बालबालिकालाई श्वासप्रश्वास सम्बन्धी समस्याले च्यापेको छ। यहाँका सरकारी तथा निजी अस्पतालमा श्वासप्रश्वास सम्बन्धी बिरामी क्रमशः आउन थालेका छन्। भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेण्डेन्ट डा. रुपानन्द अधिकारी चिसोका कारण विशेषगरी बालबालिका तथा जेष्ठ नागरिकहरुमा स्वास्थ्य समस्या निम्तिने बताउँछन्।

‘चिसो मौसममा विशेषगरी श्वासप्रश्वास सम्बन्धी समस्या देखा पर्छ,’ उनले भने ‘बालबालिका तथा जेष्ठ नागरिकलाई दम, रुघाखोकी, निमोनिया हुनबाट जोगाउनु पर्ने हुन्छ।’ चिसो मौसममा शरीरलाई न्यायो बनाईराख्नुपर्ने र तातो तथा झोलिलो खाने कुरा खानुपर्ने चिकित्सकको सुझाव छ।

सहुलियतमा दाउरा वितरण
चिसो मौसमलाई लक्षित गरेर डिभिजन वन कार्यालय बाँकेले बुधबारबाट सहुलियत दरमा दाउरा बितरण गर्न सुरु गरेको छ। कार्यालय प्रमुख मोहन श्रेष्ठले सर्वसाधारणलाई राहत स्वरुप सहुलियत दरमा दाउरा वितरण गरिएको बताए। ‘चिसो धेरै बढेपछि हामीले सहुलियत दरमा दाउरा वितरण गरेका छौं, दाउरा लिन सर्वसाधारण सम्पर्कमा आईरहेका छन्,’ श्रेष्ठले भने। जिल्ला वन पैदवार आपुर्ती समितिमार्फत दाउरा वितरण सुरु गरिएको सहायक वन अधिकृत नारायण पार्धेले जानकारी दिए।

उनका अनुसार सर्वसाधारणलाई ७ रुपैयाँ प्रतिकिलोका दरले ‘कु काठ’ जातको दाउरा उपलब्ध गराइएको हो। सहायक वन अधिकृत पार्धेले भने, ‘नागरिकताको फोटो कपी ल्याएर आउने एक जना सर्वसाधारणलाई प्रति किलो ७ रुपैयाँको दरले एक क्वीन्टलसम्म दाउरा दिने गरेका छौं।’ बुधबार दिनभर करिब एक सय क्वीन्टल दाउरा बिक्री भएको सहायक वन अधिकृत पार्धेले बताए। आपुर्ती समितिसँग अझै २० चट्टा दाउरा रहेको उनले जानकारी दिए।


 

प्रकाशित: २ पुस २०७६ १४:१५ बुधबार

चिसो जनजीवन कष्टकर