समाज

फेरिनै नसकेको गुम्देलबासीको विकास माग

रामेछाप- तीन तहको निर्वाचन पश्चात गाउँगाउँमा सिंहदरबारको नारा दिएता पनि जिल्लाको उमाकुण्ड गाउँपालिका १ गुम्देलका स्थानीयको विकास माग भने अझै फेरिन सकेको छैन। गुम्देलबासीले सरकारसँग यतिबेला नयाँ योजना केही मागिरहेका छैनन। उनीहरुले पुस्तौदेखि माग्दै आएको विकासलाई आज पनि निरन्तर पच्छ्याउदै विकास मागिरहेका छन्।

सरकार धेरै बने तर गुम्देलको दुःखको अवस्था कहिल्यै फेरिन सकेन स्थानीय विरेन्द्र बस्नेतले बताए। उनले स्थायी सरकार बन्नु अनि स्थानीय सरकार आउनु र नआउनुमा गुम्देलबासीका लागि कुनै फरक नरहेको बताए। बस्नेतले थप्दै भने गुम्देलको विकासका लागि राजनैतिक दलहरुले स्पष्ट खाका बनाउन जरुरी छ। जिल्लाका अन्य ठाउँहरुमा विकासले फड्को मारिसक्दा पनि गुम्देलबासीहरु भने विकासका आधारभूत कुराहरु माग्न आज पनि विवश बनेका छन्। सडक, विद्युत, स्वास्थ्य, शिक्षा र सुरक्षाको प्रबन्ध गुम्देलबासीले गाउँमा पुग्ने नेता तथा सरकारी निकायका व्यक्तिहरुसँग गर्ने पुस्तौदेखि गुनासो हो।

जुन आवाज पुस्तौदेखि उठ्दै आएको र आज पनि निरन्तर रहेको गुम्देलका युवा भिमसेन बस्नेतले बताए। जिल्लाको समग्र विकासको स्थिति हेर्ने हो भने त गुम्देल त जिल्लाको मात्र नभइ मुलुककै दुर्गम नै हो कि भन्ने भान गुम्देलका स्थानीयको समस्याले दर्साउने बस्नेतले बताए।

गाउँमा सामान्य विरामी हुँदा त ट्याब्लेट (चक्की औषधी) पाउन मुस्किल छ ठूलो उपचारको कुरा त यहाँका लागि सपना भएको अमृत बहादुर कार्कीले बताए। विकट वडामा एकजना एचएसम्मको दरबन्दी नहुनु दुःखद रहेको कार्कीले बताए। उनले भने यहाँबाट कसैलाई उपचारका लागि बाहिर लानु हेलिकप्टर चार्टर गरेर लानु पर्ने अवस्था छ, जसका लागि स्थानीय सबैको हैसियत छैन।

सडकको कुरा गर्ने हो भने गाडी कुद्नै सक्ने अवस्थामा छैनन् कार्कीले गुनासो गर्दै भने एक पटक हेलिकप्टर चार्टर गरेर विरामी लानु पर्दा १ लाख ६० हजार रुपैयाँसम्म खर्च लाग्ने गरेको उनले गाउँको पिडा सुनाए। उनले थप्दै भने २ जना शिक्षकले ५ वटा कक्षा हेर्नु पर्दा यहाँको शिक्षा क्षेत्रको विकास कसरी हुन्छ? उनले केही दिनअघि वडामा पुगेका प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेसँग गुनासै गुनासा राखे। गुम्देलबासीका यो समस्याको गुनासो गाउँमा पुग्ने नेतादेखि सरकारी निकायका व्यक्तिहरुसँग सदाबहार राखिने गुनासा हुन्। समस्या कति राख्दा पनि कहिल्यै पुरा नहुदा निराशा मात्र लाग्ने गरेको अमृत कार्की बताउँछन्।

गुम्देल पुगेर स्थानीयको गुनासा सुन्ने र त्यहाँको समस्यालाई नजिकैबाट नियाल्ने हो भने सरकारको नजरमा गुम्देल साच्चै टाढा नै रहेछ भन्ने आभाश हुने गरेको गुम्देलका नवराज बस्नेतले बताए। गाउँको अवस्था हेर्दा सबै क्षेत्र उस्तै छ, चित्त बुझाउने नाउमा प्राकृतिक सौन्दयर्ता बाहेक केही नरहेको बस्नेतको भनाइ छ। सडक, स्वास्थ्य, शिक्षा र विद्युतको अवस्था हिजोकै जस्तो दयनिय रहदा पनि सरकार र सम्बन्धित निकायको ध्यान जान नसकेको उनको भनाइ छ।

वडामा प्राकृतिक सौन्दर्यका पाटोमा पनि केही काम गर्न सक्ने त्यसले गुम्देलको मात्र नभइ जिल्लाकै पहिचानलाई माथि उठाउन सक्ने सम्भावना बोकेको भए पनि त्यस क्षेत्रमा काम हुन नसकेको कार्कीको भनाइ छ। मुस्किलले गाउँमा सडकको ट्रयाक पुगेता पनि सडक नियमित संचालनमा कठिनाइ छ। कठिनाइका बाबजुद २/३ महिना सडक संचालन भएता पनि अधिकांश समय अवरुद्ध नै हुने गरेको स्थायी शिक्षिका सचि कार्की बस्नेतले बताइन्, उनले भनिन् विकासकै पहिलो पूर्वाधार मानिने सडककै अवस्था खराब भएपछि अरु विकासका आशाहरु बेकार हुने बताइन्।
गुणस्तरीय सडक निर्माणका लागि पालिकाले पर्याप्त बजेट दिन नसकेको स्थानीयहरुको गुनासो रहेको छ। लेकक्षेत्र भएकाले प्रायजसो भइरहने वर्षाले त्यस क्षेत्रका अधिकांश सडकहरु अवरुद्ध हुँदा स्थानीयले सधै सास्ती झेल्नु पर्ने शिक्षिका बताउँछिन्। गुम्देलका स्थानीयले सारो गरो पर्दासमेत सहज सुरक्षाको प्रत्याभुति गर्न सकेका छैनन्। सो क्षेत्रमा प्रहरी चौकीसमेत छैन।

केही परेमा करिब ६ घण्टाको पैदल दुरीमा रहेको बाम्ती भण्डारबाट प्रही जानु पर्छ। स्थानीयको गुनासो सुनेपछि गाउँमा पुगेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराइले अस्थायी प्रहरी क्याम्प राख्न प्रयास गर्ने आश्वासन दिए।

वडाको चिन्ताले प्रजिअ सामु रोए वडाध्यक्ष
उमाकुण्ड गाउँपालिका १ नं वडाको गुम्देल पहिले देखिनै विकासमा पछि परेको वडा हो तर अहिलेसम्म पनि स्थिति जस्ताको तस्तै रहँदा आफै दुःखि बनेको छु वडाध्यक्ष नोर्बु शेर्पाले भने। म वडाको निर्वाचित जन प्रतिनिधी म नै निराश भएको अवस्थामा वडाका स्थानीय समस्यामा झेलिएकै कारण निराश हुनु स्वभाविक रहेको शेर्पाको भनाइ छ। उनले विगत सम्झदै भने म जनताकै सेवा गर्छु भनेर स्थानीय निकायको चुनावमा वडाध्यक्ष लडे र चुनाव जिते। तर जनताको अपेच्छा अनुसार काम गर्ने वातावरण नहुँदा आफैमा लज्जाबोध भएको छ।

'वडाध्यक्ष निर्वाचित भएपछि जनताकै काममा लागि रहे, वडाका सबैले आफूलाई सरकार मान्ने र गुनासा राख्ने गर्छन् तर मैले उनीहरुको भावना अनुसार काम गर्ने वातावरण नै बनेन' यति के भनेका थिए वडाध्यक्ष शेर्पा एक्कासी भक्कानिए। विकास, सरकारी कामको वडास्तरमा भएको प्रभावकारीता र स्थानीयको समस्या र गुनासा सुन्न जिल्लाको दुर्गम गाउँ गुम्देल पुगेकी प्रमुख जिल्ल अधिकारी लिला कुमारी पाण्डेसँग वडाका गुनासा राख्दै गर्दा भक्कानिएका ७४ वर्षिया वडाध्यक्षले गह भरी आसू बनाएर बोलिनै रोकिने गरी भक्कानिएर आसुका ढिका खसाल्दै रोए। उनले रुदै बोलिरहँदा सबैको ध्यान वडाध्यक्ष तर्फ केन्द्रीत बन्यो।  

पाको उमेरको वडाध्यक्ष रुदै बोल्न थालेपछि त्यहाँको कार्यक्रमको माहोल नै अर्कै बन्यो, कार्यक्रमका सहभागी सबै निशब्द बने। उनले प्रमुख जिल्ला अधिकारी सामु गुनासो राख्दै भने वडाध्यक्षको हैसियतमा वडाको माग लिएर पालिकामा पुग्दा वडाध्यक्षको व्यवहार नगरी विपक्षीको व्यवहार गर्ने गरेको उनको भनाइ छ।

वडाको विकासका लागि योजना बनाएर पालिकामा गयो भने कांगे्रसबाट निर्वाचित भएकोले कांग्रेसकै नाममा योजना लिएर आएको झै पालिकाले गर्ने गरेको गुनासो प्रजिअलाई वडाध्यक्ष शेर्पाले सुनाए। पालिका अध्यक्ष भने नेकपाका हुन्। पालिका बहुमतसमेत नेकपाकै रहेको छ।

वडास्तरीय अन्तरक्रियामा सहभागी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले विकासमा कसैले राजनीति गर्न खोजे दुर्भाग्य हुने बताइन्। विकासको बाधक राजनिति भएमा त्यसले सबैलाई घाटा हुने प्रजिअको भनाइ थियो। उनले वडाध्यक्षले आश्वासन दिँदै भनिन् 'यति पाको उमेरको वडाध्यक्ष गुनासो राख्दा भाबुक भएर रोएको प्रति मेरो ध्यानाकर्षण भएको छ गुम्देलको विकासका विषयमा पालिकासँग समन्व्यकारी भूमिका निर्वाह गर्छु।' 
    

 

प्रकाशित: १ पुस २०७६ ११:४७ मंगलबार

दुर्गमगाउँ ओझेल विकास_यात्रा