समाज

हिमपात र वर्षाले जनजीवन प्रभावित

गोरखा – शुक्रबार दिनभर गोरखा सदरमुकामलगायत आसपासका क्षेत्रमा वर्षात् भएको छ। पश्चिम वायुको प्रभावका कारण देशभर मौसममा बदली आएसँगै उत्तरी गोरखातिर भने दिनभर हिमपात भएको छ। चुमनुब्री गाउँपालिकाका सामागाउँ, छेकम्परालगायत अधिकांश ठाउँमा हिमपात भएको स्थानीयलाई उद्धृत गर्दै गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताए। उक्त गाउँपालिकाका वडा १, २, ६ र ७ मा हिमपात भएको खबर स्थानीयले गाउँपालिकामा गरेका छन्। ‘अघिल्लो वर्ष पुसमा हिउँ परेको थियो, अहिले मंसिरमै प-यो,’ उनीहरू भन्छन्।

हिमपात हुँदा उत्तरी गोरखास्थित गुम्बामा बसेर पढ्ने विद्यार्थी बेंसी झर्छन् भने स्थानीय पनि राजधानी काठमाडौंतिर लाग्ने गर्छन्। फागुन लागेसँगै उनीहरू फेरि फर्कन्छन्। चिसो अत्यधिक हुने हुँदा पुस र माघमा घर कुर्नेबाहेक मान्छे भेट्नै मुस्किल पर्छ। गोरखामा बिहीबारदेखि नै चिसो अत्यधिक बढेको थियो। शुक्रबार बिहानैदेखि हिमपातका कारण टेलिफोन टावरले काम नगर्दा नियमित फोन सेवासमेत अवरुद्ध भएको छ। सर्वसाधारणको दैनिक जीवनयापन प्रभावित बनेको थियो। घरभित्रै आगो फुकेर बस्ने, गोठ जान, गाईबस्तु चराउन लैजान स्थानीयले सकेका छैनन्।

धार्चे गाउँपालिकाको लाप्राकमा पनि हिउँ परेको छ। चिसो अत्यधिक भएपछि गुप्सीपाखामा एनआरएनले निर्माण गर्दै गरेको नमुना बस्तीको काम र मणिकामदेवी माध्यमिक विद्यालयको पढाइसमेत प्रभावित बनेको वडाध्यक्ष राज गुरुङले बताए। तल्लो भेगमा शुक्रबार दिनभर वर्षात् भएको छ। गोरखा सदरमुकाम, पालुङटार, आरुघाट, भच्चेकलगायत बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल अन्य दिनभन्दा कम्ती देखिएको हाम्रा स्थानीय संवाददाताहरूले बताएका छन्। सवारीसाधन पनि अन्य दिनको तुलनामा कम गुडेका थिए।

बाक्लो लुगा लाउन, न्यानो लुगा लगाएर बस्न, झोलिलो खानेकुरा खान गोरखा अस्पतालका डाक्टर बिनोद दुवाडीले सर्वसाधारणलाई सुझाव दिएका छन्। बालबालिका र वृद्धवृद्धालाई चिसोबाट बचाउन ध्यान दिनुपर्ने बताउँदै उनले भने, ‘यस्तो समयमा रोगको संक्रमण छिटो हुन सक्छ।’

प्रकाशित: २८ मंसिर २०७६ ०२:४५ शनिबार

हिमपात वर्षा