समाज

रसुवाको माथिल्लो क्षेत्रमा हिमपात

रसुवा- रसुवाको माथिल्लो क्षेत्रमा हिमपात सुरु भएको छ। जिल्लाको गोसाइँकुण्ड तथा आमाछोदिङ्मो गाउँपालिकाको विभिन्न क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन्। यो वर्ष पहिलो पटक हिमपात भएको हो।

जिल्लाको लाङटाङ, थुमन, बृद्धिम, क्यान्जिन, धुन्चेको लेक, चोलाङपाटी लगायतको स्थानमा वर्षासँगै हिमपात भएको छ। चिसोको कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ। चिसोका कारण टहरामा बसिरहेका भूकम्प पीडित समस्यामा परेका छन्।

साढे चार वर्षअघि गएको भूकम्पले घर भत्किएर अहिलेसम्म घर निर्माण नथालेका, निर्माण सम्पन्न नभएका र गाउँबाट बिस्तापित भएर जिल्लाको विभिन्न बसिरहेकाहरू चिसोको मारमा परेका छन्।

चिसोका कारण स्थानीय बाहिर निस्कन सकेका छैनन्। चिसोबाट बच्नका लागि दाउरा तथा हिटरको प्रयोग गरिरहेका छन्। अघिल्लो वर्षहरुमा पुषको पहिलो साताबाट हिउँ पर्न सुरु हुने भएपनि यसपटक मंसिरमै हिउँ परेको छ।

 

प्रकाशित: २७ मंसिर २०७६ १२:०२ शुक्रबार

रसुवा क्षेत्र हिमपात