समाज

खराब मौसमका कारण समिट एयर जहाज जुफाल विमानस्थलमा थन्कियो

डोल्पा- प्रतिकुल मौसमका कारण समिट एयरको जहाज डोल्पाको विमानस्थल जुफालको धावनमार्गमै थन्किएको छ। बिहान ७ बजे जुफाल विमानस्थलमा अवतरण गरेको जहाज मौसममा खराबी आएपछि धावनमार्गमै थन्किएको हो।

नेपालगन्जबाट यात्रु लिएर आएको जहाज नेपालगन्जको लागि उड्नै लाग्दा मौसममा खराबी आएपछि धावनमार्गमै थन्किएको समिट एयर जुफालका स्टेशन इन्चार्ज पूर्णजङ्ग शाहीले नागरिकलाई बताए। नाइनएन एएमपी कलसाइन भएको समिट एयरको जहाज जुफाल विमानस्थलमा थन्किएको हो।

डोल्पामा शुक्रबार बिहानैदेखि अबिरल रुपमा वर्षा भइरहेको छ। उत्तरी सिमानाकासँग जोडिएका उपल्लो डोल्पाका शे फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ गाउँपालिका र जगदुल्ला गाउँपालिकामा भने बाग्लो हिमपात भएको छ। दिनभर वर्षा र हिमपाले गर्दा डोल्पाको जनजीवन कस्टकर बनेको छ।


 

प्रकाशित: २७ मंसिर २०७६ ०७:५८ शुक्रबार

खराब_मौसम समिट_एयर_जहाज विमानस्थल