समाज

हुम्लामा ट्रिपर दुर्घटना चारको मृत्यु, ११ घाइते

दुर्घटनामा परेको ट्रिपर । सौजन्यः रविन भण्डारी

सुर्खेत- हुम्लाको नाम्खा गाउँपालिकाको सल्ली खोलाबाट सदरमुकाम सिमकोट आउँदै गरेको ट्रिपर बुधबार डाँडालाग्नामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा ११ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकाहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पताल ल्याउने तयारी भइरहेको छ।

१४ जना यात्रुसहित खाद्य संस्थानको चामल बोकेर सल्ली खोलाबाट आएको लु.४.ख. ३२६ नम्वरको ट्रिपर सिमकोट–७ को डाँडालाग्नामा बुधबार दिउँसो दुर्घटनामा परेको थियो। दुर्घटनामा नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीय छिरिङकार्मा लामा, ३५ वर्षीय नरी लामा, खार्पुनाथ गाउँपालिका–१ प्युसका बबरजंग शाही र जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय सहयोगीसमेत रहेका सिमकोट–६ का वक्त रोकायाको मृत्यु भएको छ।

सर्केगाड–३ उनापानीका अंग फडेरा, सिमकोट–६ का खगेन्द्र रावत, रामकुमार सुनार, नरवीर सुनार, अकिल रोकाया, कमल भण्डारी, सिमकोट–७ डाडाँफायाका सन्तोष सुनार, नाम्खा गाउँपालिका–१ हेप्काका नुटुप लामा, नाम्गेल तामाङ, सिउधर तामाङ, खार्पुनाथ–५ का धनसिंह सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नयाव उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए। ट्रिपर सडकबाट १५ मिटर तल खसेको थियो।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा योसहित अहिलेसम्म तीनवटा दुर्घटना भएका छन्। यसअघि असार ३ गते बोलेरो जीप कर्णाली नदीमा खस्दा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्षसहित ११ जनाको मृत्यु भएको थियो भने कात्तिक २३ मा सिमकोट गाउँपालिका–५ को सार्कीबाडामा दोस्रो दुर्घटना भएको थियो।

 

 

 

प्रकाशित: १२ मंसिर २०७६ ०५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App