समाज

वरिष्ठ पत्रकार कसजुको निधन

काठमाडौं – वरिष्ठ पत्रकार एंव राष्ट्रिय सूचना आयोगका संस्थापक प्रमुख आयुक्त विनय कसजुको ६९ वर्षको उमेरमा निधन भएको छ। २००४ सालमा पाल्पाको तानसेनमा जन्मीएका कसजुको ललितपुरको मेडिसिटी अस्पतालमा मंगलबार दिउँसो निधन भएको हो।

निमोनियाले गम्भीर बिरामी भएपछि कसजु कात्तिक १९ गते उपचारका लागि अस्पताल भर्ना भएका थिए। नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले शोक विज्ञप्ति जारी गर्दै पत्रकारिता, सूचनाको हकको अभियन्ता र प्रसिद्ध बालसाहित्यकार कसजुको महŒवपूर्ण योगदार रहेको स्मरण गरेको छ। ‘उहाँको निधनले मुलुकले पत्रकारिता क्षेत्रको एक धरोहर, सूचनाको हकको अभियन्ता र नेपाली वाङ्मयका एक मुर्धन्य स्रष्टा गुमाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अनुभवी र परिपक्व पत्रकार कसजुको निधनले नेपाली पत्रकारिता र प्राज्ञिक क्षेत्रलाई अपुरणीय क्षति पुगेको छ।’

यसैबीच, वरिष्ठ पत्रकार विनय गुरुवाचार्यको निधन भएको छ। लामो समयदेखि पार्किन्सन समस्याबाट पीडित गुरुवाचार्यको शुक्रबार निधन भएको हो। ८२ वर्षीय गुरुवाचार्यको निधनले मुलकले एक कुशल अनुभवी तथा सिद्धहस्त पत्रकार गुमाएको नेपाल पत्रकार महासंघले जनाएको छ। महासंघका महासचिव रमेश विष्टले शोक विज्ञप्ति जारी गर्दै दुख व्यक्त गरेका छन्। गुरुवाचार्यले अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी)मा काठमाडौं प्रतिनिधिका रूपमा ३८ वर्ष, जापानको पत्रिका ‘माइनिची सिन्बोनु मा समेत नेपाल प्रतिनिधिका रूपमा काम काम गरेका थिए।

प्रकाशित: ११ मंसिर २०७६ ०१:२४ बुधबार

वरिष्ठ_पत्रकार निधन