समाज

एकल महिलाको घरमा दिउँसै चोरी

खोटाङ – खोटाङको केपीलासगढीमा एकल महिलाको घरमा दिउँसै चोरी भएको छ। केपीलासगढी गाउँपालिका–४ बाक्सिला सिमपानीकी ६९ वर्षीय ललिशोभा राईको घरमा शनिबार दिउँसो चोरी भएको हो।

ललिशोभा ढोका लगाएर पर्म गएकोबेला बाकसको ताला फोडेर आठानाको एक थान जन्तर, १२ हजार नगद, पुरानो सिक्का, एक सेट मोबाईल र दुई थान टर्च चोरी भएको गाउँपालिका अध्यक्ष कृष्ण राईले बताए। छोराबुहारी छुट्टिएपछि ललिशोभा एक्लै बस्दैआएकी छन्।

चोरी भएको विषयमा जानकारी आएपछि ईलाका प्रहरी कार्यालय बाक्सिलाबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए।

गत बिहिबार पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा घरको झ्याल फोडेर नगद चोरी भएको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ मंसिर २०७६ १३:०९ शनिबार

केपीलासगढी एकल_महिला चोरी