समाज

गाउँपालिकाले छान्यो १० शिक्षक

शिक्षक छनौटका लागि आयोजित प्रयोगात्मक परिक्षा अवलोकन गर्दै । तस्बिरः दमन/नागरिक

खोटाङ– खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले १० शिक्षक छनौट गरेको छ। गाउँपालिकाले उपलव्ध गराएको अनुदान कोटाको पदपुर्तीका लागि आइतबार मावि तहका एक जना, आधारभुत तहका पाँच जना र प्रावि तहका चार जना शिक्षक चयन गरिएको हो।

गोलाप्रथाबाट छानिएका रोष्टर शिक्षकमार्फत मावि जनसंख्याका लागि रिता राई, आधारभुत विद्यालयतर्फ विज्ञान विषयको शिक्षकका रुपमा पारस दनुवार, राजकुमार यादव, मिराम राई र प्रदिप मेहेता छनौट भएका छन्।

यस्तै, प्रावितर्फ सितादेवी भट्टराई, तृष्णा राई, कमला थापा तथा जिल्ला शिक्षा समन्वय इकाईबाट प्राप्त प्रावि अनुदान अन्तरगत जनचेतना प्रावि छितापोखरीका लागि शम्भु तामाङ उत्तिर्ण भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख मणीकुमार गिरीले बताए।

गाउँपालिकाले विभिन्न विद्यालयमा शिक्षक नियुक्तीका लागि १५ वटा कोटा उपलव्ध गराएको थियो। अझै मावि अंग्रेजीका तीन जना, मावि गणितका १ जना र निमावि अंग्रेजीका २ जना शिक्षक छनौट गर्न बाँकी रहेको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए।

गाउँपालिकामा बालकले तानेको गोला प्रथाबाट छानिएका रोष्टर शिक्षकमार्फत दुई दिन लिखित, मौखिक र प्रयोगात्मक परिक्षा सञ्चालन गरेर शिक्षक नियुक्ती गरिएको हो। शिक्षक छनौट परिक्षालाई विश्वसनीय बनाउन गाउँपालिकाले रोष्टर शिक्षक चयनमा कडाई गर्ने विधि कार्यान्वयनमा ल्याएको जनाएको छ। क्षमता र योग्यताभन्दा पनि पहुँच लगाउने वा ‘आफ्नो मान्छे छान्ने प्रवृत्तिको अन्त्यको लागि गाउँपालिकाले रोष्टर शिक्षक चयन गर्नेदेखि परिक्षा सञ्चालन र नतिजा प्रकाशनसम्मका प्रकृयालाई विश्वसनीय बनाउन रोष्टर शिक्षक चयनमा कडाई गर्ने विधि कार्यन्वयनमा ल्याएको हो।

शिक्षक छनौट प्रकृयालाई विश्वसनीय बनाएर योग्य उम्मेद्वार छान्नका लागि रोष्टर शिक्षकमाथि सबैभन्दा बढि निगरानी गर्ने विधि अपनाएको गाउँपालिका अध्यक्ष राईले बताए। परिक्षाका लागि प्रश्न–पत्र तयार पार्ने, उत्तर पुस्तिका जाँच गर्ने, अंक दिने, अन्तरवार्ता लिने, प्रयोगात्मक परिक्षाको मूल्यांकन गर्ने र नतिजा प्रकाशनका लागि छानिने रोष्टर शिक्षकलाई जिम्मेवारी पूरा नहुञ्जेलसम्म मोबाईल चलाउन र झोला साथमा राख्न दिइन्न र त्यस अवधि अरुसँगको सम्पर्कबाट विच्छेद गरेर राख्ने गरिएको गाउँपालिका अध्यक्ष राईले बताए।

सबै परिक्षार्थी, वडाध्यक्ष, गाउँपालिकाका प्रतिनिधि, प्रअ र व्यवस्थापन समितिका अध्यक्षको उपस्थितिमा रोष्टर शिक्षकको नाम कागज गोलो पारेर पारदर्शी बट्टामा राखेर सानो बच्चालाई टिप्न लगाएर परिक्षाका लागि रोष्टर शिक्षक चयन गर्ने गरिएको गाउँपालिकाले जनाएको छ।

प्रकाशित: १ मंसिर २०७६ १५:४० आइतबार

गाउँपालिका शिक्षक